2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

साउनदेखि टोलटोलमा पठनपाठन हुने

असार २५, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । 

शिक्षण सिकाइलाई नियमित बनाउन शहरी क्षेत्रमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी नदेखिएकाले आफ्नो क्षेत्रमा टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “पहाडी भूगोल रहेको हाम्रो क्षेत्रमा इन्टरनेटको पहुँच छैन”, उहाँले भन्नुभयो, “लामो समयको बन्दाबन्दीले विद्यार्थीमा पढ्ने बानी हट्दै गएकाले सामाजिक दूरी कायम गर्दै साउन ७ गतेबाट टोलटोलमा पठनपाठन शुरु गर्ने निर्णय गरिएको हो ।”

साउन ७ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय गरिएसँगै बन्दाबन्दीको कारण आ–आफ्नो घरमा रोकिएर रहेका शिक्षकलाई साउन ३ गतेभित्र अनिवार्यरूपमा गाउँपालिकामा उपस्थित हुन पत्राचारसमेत गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “बाहिरी जिल्लाका शिक्षकलाई गाउँपालिकामा झिकाएर अनिवार्यरूपमा आरडिटी गरिनेछ”, उहाँले भन्नुभयो, “आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएका शिक्षकलाई मात्र टोलटोलमा परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय गरिएको छ ।”

गाउँपालिकाभित्रै रहेका शिक्षकको भने आरडिटीसमेत परीक्षण नगरिने गाउँपालिकाले जनाएको छ । साउन ४ गते सबै शिक्षक आफू कार्यरत विद्यालयमा उपस्थित भई आ–आफ्नो विषयको कार्यतालिका बनाउनुका साथै साउन ७ गतेबाट टोलटोलमा पुगेर पठनपाठन शुरु गर्ने जनाइएको छ । 

टोलटोलमा पुगेका शिक्षकले विद्यार्थीलाई गृहकार्य गर्न लगाउने, नजानेका कुरामा सहजीकरण गर्ने, आन्तरिक मूल्याङ्कन अद्यावधिकलगायतका क्रियाकलाप गर्ने गाउँ शिक्षा समितिका सदस्य एवं महेन्द्रोद्धय माविका प्रधानाध्यापक केशवकुमार खड्काले बताउनुभयो । “विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर पुगेको छ”, उहाँले भन्नुभयो, “शिक्षक र विद्यार्थीको सम्पर्कका माध्यमबाट विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै नियमित पठनपाठन सञ्चालन गर्न टोलटोलमा जाने निर्णय गरिएको हो ।”

गाउँपालिकाभित्र सञ्चालित ४८ वटै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टोलटोलमा भेला गरेर शिक्षक सिकाइका साथै विभिन्न क्रियाकलापमा सहभागी गराएर पढ्ने बानीको विकास गरिने जनाइएको छ । सात वटा वडामात्रै रहेको उक्त गाउँपालिकाका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यसअघि नै निःशुल्करुपमा पाठ्यपुस्तक उपलब्ध गराइएको थियो । 

टोलटोलमा परिचालन हुने शिक्षकले अनिवार्यरूपमा मास्क, ग्लोब्स र स्यानिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । विद्यार्थीको गाउँटोलमै सञ्चालन हुने शैक्षिक क्रियाकलापका लागि २५० जना शिक्षक परिचालन गरिने गाउँपालिकाले जनाएको छ । 

बन्दाबन्दीको समयमा सञ्चालन गरिने रेडियो र टेलिभिजनको पढाइभन्दा शिक्षक आफैँ टोलटोलमा पुगेर गरिने पठनपाठन उपयुक्त हुने गाउँपालिकाको ठहर छ । गाउँपालिकाले शुरु गरेको अभियानमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

टोलटोलमा सञ्चालन गरिने पढाइको आन्तरिक मूल्याङ्कनमा विद्यार्थीले प्राप्त गर्ने नतिजाको आधारमा उनीहरुलाई अपग्रेट (माथिल्लो कक्षा चढाउने) कामसमेत गरिने गाउँपालिका प्रमुख राईले बताउनुभयो । लामो समयदेखिको बन्दाबन्दीका कारण विद्यार्थीको बिगिँ्रदै गएको पढ्ने बानीलाई नियमित गराउँदै उपलब्धिसहितको शिक्षण गराएर अपग्रेड गरिने जनाइएको छ । जिल्लाका अन्य स्थानीय तहमा भने अहिलेसम्म कुन उपाय अपनाएर पठनपाठन सञ्चालन गर्ने भन्नेमा कुनै टुङ्गो लागेको छैन । दश स्थानीय तह रहेको जिल्लामा ४९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई