पढ्न करिब 3 मिनेट लाग्छ

केदार मगर । भदौ १८, खोटाङ (रासस)। अविरल वर्षापछि आएको भलबाढी तथा पहिरोका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्ला भित्रका अधिकांश सडक कच्ची छन् । यसक्रममा दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । “जिल्लाका सबै ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालित छन्”, उहाँले भन्नुभयो, “अवरुद्ध ग्रामीण सडक पुनः मर्मत गरेर सञ्चालनमा ल्याउन अहिलेसम्म कसैको ध्यान गएको छैन ।”

कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड पनि अवरुद्ध छ । सडक अवरुद्ध भएपछि चाडबाडका लागि भनेर शहर जाने तथा घर फर्कने जिल्लावासी घण्टौँ पैदलयात्रा गर्न बाध्य भएका छन् । हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल–काठमाडौँ र दिक्तेल–इटहरी–विराटनगर सडकमा मात्र सवारी साधन सञ्चालन भइरहेको यातायात व्यवसायीले बताएका छन् । सगरमाथा राजमार्गअन्तर्गत तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डसमेत अवरुद्ध भएकाले आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा तीनवटा विमानस्थल रहे पनि अहिले बर्सातका कारण तीनवटै अवरुद्ध छ । लामो समयदेखि अवरुद्ध रहेको दिक्तेल बजारको सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाँडा विमानस्थल पुनः मर्मत गरेर सञ्चालनमा ल्याइए पनि बर्सातका कारण अवरुद्ध बनेको हो ।

लगातारको वर्षाका कारण कालोपत्र गरिएको दिक्तेल–काठमाडौँ सडकसमेत पटकपटक अवरुद्ध हुँदै आएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने उक्त सडकखण्डको विभिन्न ठाउँमा पहिरो झरिरहनाले अवरुद्ध हुने गरेको यातायात व्यवसायीले बताएका छन् ।

यसैबीच ढलानको काम भइरहेको जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा लगातारको वर्षापछि जमेको हिलोको दलदलका कारण आवतजावतमा समस्या भएको छ । साँघुरो तथा कच्ची सडक रहेको बजारमा यातायातका सवारी साधनले निकालेको हिलोका कारण आवतजावत गर्ने पैदलयात्रुलाई सास्ती भएको हो । दिक्तेलस्थित रत्नपार्कको किराँतचोकदेखि सिँचाइगेटसम्म ढालन गरिए पनि बेसक्याम्प क्षेत्रमा काम भइरहेकाले सडक हिलाम्मे हुँदा सबैभन्दा बढी किनमेलका लागि बजार आउने ग्राहकलाई समस्या भएको छ । हिलाम्मे सडकमा जथाभावी पार्किङ तथा ठूला सवारी साधन बजार क्षेत्र प्रवेश गर्नुले कठिनाइ भएको हो ।

ढलानका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु दुई करोड ६८ लाख लागतमा दिक्तेल बजारस्थित सिँचाइगेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलानको काम शुरु गरिएको छ । अहिलेसम्म कच्ची अवस्थामाा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक ढलान गर्न अहिले फराकिलो पार्ने, नाली निर्माण गर्ने, विद्युत् र टेलिफोनको पोल तथा तार हटाउनेलगायतका कामलाई तीव्रता दिइएको छ ।

सडक ढलानको काम गुणस्तरयुक्त र लागत अनुसार भए नभएको नियमित अनुगमन गर्न नगरपालिकाबाट प्राविधिक टोलीसमेत परिचालन गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “ठेकेदार कम्पनीले दोस्रो चरणअन्तर्गत दिक्तेल बजारको ७६४ घनमिटर सडक ढलान र ४५३ घनमिटर सडकमा ग्याभिङ वालको काम गर्नेछ”, उहाँले भन्नुभयो, “सडक ढलानको काम गुणस्तरहीन भएमा तथा तोकिएको समयमा सम्पन्न नगरेमा नगरपालिकाले तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउँछ ।”

मध्यपहाडी लोकमार्गले छोएको दिक्तेल बजार ढिलै भए पनि ढलान हुने भएपछि स्थानीयवासी हर्षित छन् । हप्ताको दुई पटक बुधबार र शनिबार हटिया लाग्ने दिक्तेल बजारको सडकमा अहिले हिउँदको समयमा धुलो र बर्सातको समयमा हिलोका कारण समस्या हुने गरेको छ ।