कात्तिक २०, काठमाडौं । ललितपुरको मंगलबजारमा सनिबार ग्याँस विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । लक्ष्मीकृष्ण ताम्रकारको घरमा म्ह: पूजा गरिरहेको अवस्थामा सिलिन्डर विस्फोट भएको थियो ।
साँझ साढे ६ बजे म्ह: पूजा गरिरहेको घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए । एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै कराएका थिए । त्यसको केहि समयमै ठूलो आवाजमा विस्फोट भयो । उक्त विस्फोटमा श्रीमान् लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको चौथो तलामै मृत्यु भयो । प्रहरीका अनुसार मृतक लक्ष्मीकृष्ण ताम्राकारका छोरा र छोरी आगो बल्दै गर्दा घरबाट हाम फालेर बाच्न सफल भए तर उनीहरु पनि घाइते भएका छन् ।
घाइतेले दिएको बयान र घटनास्थलको वस्तुस्थितिको आधारमा आगलागी तेस्रो तलाको दियोबाट सुरु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । दियोसँगै रहेको पर्दाबाट आगो सल्किएर माथि रहेको भान्छासम्म पुगेको हुनसक्ने बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।