जेठ ११, काठमाडौँ | सबैको चासो बनेको काठमाडौं महानगरपालिकाको मतगणना अन्तिमतिर पुग्न लाग्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार १ सय ६९ मतले अग्रता लिएका छन् । काठमाडौंको ३३ मध्ये २८ वडाको अन्तिम परिणाम आइसकेको छ भने पाँच वडाको गणना जारी छ । मतगणना भइरहेका पाँचै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा प्रत्यासीभन्दा दोब्बर मतले अगाडि छन् ।
आयोगका अनुसार हालसम्म भएको मतगणना अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय ३९ मत प्राप्त गर्दै सुरुदेखिको अग्रता कायम राखेका छन् ।
काठमाडौं महानगरपालिकामा दोस्रो ठूलो मत नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले पाएकी छन् । उनले हालसम्म ३४ हजार ५ सय ७० मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९ सय २१ मत प्राप्त गरेका छन् ।
यहाँ अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।