जेठ १६, काठमाडौं | काठमाडौं महानगरपालिकामा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ ।
वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले महानगरबासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । मेयर बालेन्द्र साहले यससम्बन्धी प्रस्ताव बैठकमा राखेका थिए । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो ।
त्यस्तै बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।
रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन साहले बैठकमा प्रस्ताव गरेका थिए ।
सार्वजनिक शौचालयहरु पनि बनाउँदै जाने उनले बताए । त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्डहरुसमेत राख्ने जनाइएको छ ।