११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्धमा खटाउन रुसमा नयाँ सैनिकका लागि भर्ती खुलाइयो

१३ भाद्र २०७९, सोमबार ०६:२४

भदौ १३, काठमाडौं | सेन्ट पिटसवर्ग नजिकैको सहर भोलोसोभोमा चहलपहल बढेको छ। आर्थिक चहलपहल होइन बरु यो लाउडस्पीकरहरूको चहलपहल हो। रुसका धेरै सहरहरूजस्तै यहाँ पनि मुख्य सडकमा पोलहरूमा लहरै लाउडस्पीकर राखिएका छन्।

परम्परागत रूपमा यस्ता स्पीकरहरूमा राष्ट्रिय बिदाहरूमा देशभक्ति गीतहरू बजाइन्छन्। तर अहिले यिनीहरूको प्रयोग भिन्न छ।

Ukraine war: Russian recruitment drive unlikely to have impact – UK – BBC  News

"दुई वटा स्वयंसेवक सैनिक बटालियनहरू गठन भइरहेका छन्। हामी १८ देखि ६० वर्षसम्मका पुरुषहरूलाई यसमा सहभागी हुन आमन्त्रण गर्दछौँ," यसको आवाजले भनिरहेको छ।

देशमा यो सन्देश बारम्बार दोहोर्‍याइने गरिएको छ। सामाजिक सञ्जाल, टेलिभिजन र विज्ञापनका बोर्डहरूमा पनि मानिसहरूलाई युक्रेनी सेनाविरुद्ध लड्नका लागि छोटो अवधिको लागि सहभागी हुन आग्रह गरिएको छ।

द्वन्द्वमा महत्त्वपूर्ण क्षति बेहोरेको अवस्थामा रुसी अधिकारीहरूले सेनामा भर्तीको योजना अघि सारेका हुन्।

भर्तीबारे रुसी नागरिकको धारणा

मैले भोलोसोभोमा एक जना मानिसलाई रोकेर स्वयंसेवकहरूका लागि भर्ती आह्वान गरिएको कुरामा उनको समर्थन रहे वा नरहेकोबारे सोधेँ।

"म युवा भएको भए म पक्कै पनि जाने थिएँ। तर अब म यसका लागि धेरै बूढो भइसकेँ," मुठ्ठी कस्दै उनले भने। "तिनीहरूलाई बमले उडाउनुपर्छ।"

तर यो सहरका अधिकांश मानिसहरू कम उत्साहित देखिन्छन्।

"युद्धको कुरा गर्नु पनि निकै पीडादायी हो," एक जना महिला गुनासो गर्छिन्।

"आफ्नै दाजुभाइको हत्या गर्नु गलत हो।"

मैले उनका आफन्त नै सहभागी हुन चाहे उनी के गर्छिन् भनेर सोधेँ।

"किन जाने? उनीहरूको लास मात्रै फर्किन्छ।" र धेरै शवहरू आइरहेकै पनि छन्।

रुसले विवरण नदिएपनि पश्चिमा अधिकारीहरूले छ महिनाअघि युद्ध सुरु भएयता ७०,००० देखि ८०,००० रुसी सैनिकहरू घाइते भएको वा मारिएको दाबी गरेका छन्।

आकर्षक तलब

नयाँ भर्तीमा मानिसहरूलाई आकर्षित गर्न अधिकारीहरूले स्वयंसेवकहरूलाई राम्रो तलब, जमिन र रुसी विद्यालयहरूमा उनीहरूका बालबच्चाहरूको भर्नाका लागि आरक्षण दिने प्रस्ताव गरेका छन्।

रुसका जेलमा पुगेर समेत उनीहरूले बन्दीहरूलाई जेलमुक्त हुने र पैसा समेत कमाउने सकिने प्रस्ताव गरिरहेका छन्।

खोज पत्रकार रोमन दोब्रोहोतोभ भर्ती अभियान अधिकारीहरूको हताश अवस्थाको सङ्केत भएको बताउँछन्।

"जितिने युद्धका लागि चाहिने सिपाहीहरू यस्ता हुँदैनन्। तर क्रेमलिन अझै पनि क्षमताभन्दा सङ्ख्याले जित्न सकिन्छ भन्ने ठान्छ। उनीहरूले यसरी ऋणमा डुबेका सयौँ हजार मानिसहरू भेट्टाउन सक्छन् र उनीहरूलाई युद्धग्रस्त क्षेत्रमा होमिदिन्छन्," उनले भने।

भर्तीमा जान चाहनेका लागि मनै लोभ्याउने तलबको प्रस्ताव गरिएको र उनीहरूले मासिक ५,७०० अमेरिकी डलर अर्थात् सात लाख २८ हजार नेपाली रुपैयाँसम्म कमाउन सक्ने भनिए पनि वास्तविकता भिन्न रहेको रोमन बताउँछन्।

"वास्तवमा उनीहरूले यो पैसा देख्न पनि पाउँदैनन्। उनीहरू (युक्रेनबाट) फर्किइरहेका छन् र आफूहरूलाई कसरी धोका दिइयो भन्नेबारे हामी पत्रकारहरूसँग सुनाएका छन्।"

"यसले हाम्रो सरकारमाथि अविश्वास बढाएको छ र मलाई यो रणनीति पनि सफल होला भन्ने लाग्दैन," उनले भने।

तर स्वयंसेवक सैनिक बन्न कतिपय भने खुसी देखिन्छन्।

अनुभव नभएकालाई बन्दुक

निना चुबारिनाका छोरा येभगेनी उत्तरी करेलपया क्षेत्रको आफ्नो घर छोडेर स्वयंसेवी सैनिकहरूको बटालियनमा सहभागी भए।

निनाका अनुसार कुनै सैन्य अनुभव नभएका उनका छोरालाई बन्दुक दिएर सिधै युक्रेन पठाइएको थियो। जसको अर्को दिन २४ वर्षका उनी मारिए।

निनाले एउटा पाउरोटी कारखनामा केही घण्टा काम पाएकी छिन्। त्यहाँ नजिकैको उद्यानमा मसँग भेट्न उनी सहमत भइन्।

रोटीहरू प्याक गर्ने एकनासको कामले छोरा गुमाएको पीडाबाट आफूलाई केही समय भए पनि मुक्ति मिल्ने उनले बताइन्।

उनले युक्रेन नजान आफ्ना छोरालाई गरेको अनुनय सम्झिइन्।

"मैले उसलाई त्यो कुरै नगर्न भनेँ। रोएँ र भने; 'त्यहाँ युद्ध भइरहेको छ। तिमी मारिन सक्छौ' तर उनले 'आमा, सबै ठिक हुन्छ' भने।"

युक्रेनमा लड्नका लागि स्वयंसेवकहरू भर्ती गर्ने अधिकारीहरूको तरिकाको निना आलोचना गर्छिन्।

"उनीहरूलाई केही थाहा नभएका कुखुराका चल्ला जसरी भित्र पठाइन्छ। उनीहरूले त्यसअघि बन्दुक नै नसमातेका पनि हुन सक्छन्। त्यहाँ उनीहरूलाई मर्न पठाइन्छ। सैनिक अधिकारीहरू स्वयंसेवकहरू पाइयो भनेर खुसी हुन्छन्," उनको गुनासो छ।

तर येभगेनी जसरी नै सेनामा जान सबै तयार हुँदैनन्।

युद्धमा जान अनिच्छुक

रुसका विभिन्न स्थानमा पुग्दा क्रेमलिनले भन्दै आएको "विशेष सैन्य कारबाही" को पक्षमा सबै मानिसहरू भएको भ्रम तोडिन्छ।

रुसका सडकहरूमा युद्धमा समर्थन जनाउँदै अङ्ग्रेजी अक्षर जेडको सङ्केत राख्नेहरूको सङ्ख्या पनि तुलनात्मक रूपमा कम छ।

विज्ञहरूले युद्धमा रूपमा सहभागी हुने स्वयंसेवकको सङ्ख्या पनि कम रहेको बताएका छन्।

सैन्य विश्लेषक पवेल लुजिन राष्ट्रपतिको लागि आफ्नै ज्यानको आहुति दिन मानिसहरू तयार नभएको बताउँछन्।

"क्रेमलिनको समस्या के हो भने मानिसहरू 'बृहत् साम्राज्य' पुनर्स्थापनाका नाममा पुटिनका लागि ज्यानको आहुति दिन तयार छैनन्। युद्धबारे मानिसहरूको एकमत नरहेको वर्तमान परिस्थितिमा भर्ती सम्भव छैन," उनले भने।

"युक्रेनसँगै तुलना गरेर हेर्नूस्। युक्रेनीहरू लड्नका लागि तयार देखिन्छन्।" बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी