अनिल अधिकारी । असोज १०, काठमाडौँ । हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदै गर्दा दशैंका बिदामा समेत वैदेशिक रोजगारको अन्तर्वार्ता भन्दै बिज्ञापनहरु प्रकाशन भएको र वैदेशिक रोजगार बिभागले स्वीकृति दिएको पाइएको छ । यो नयाँ विषय भने होइन । वैदेशिक रोजगार बिभाग आफैले म्यानपावरहरुले बिज्ञापन औपचारिकताको लागि मात्र छाप्छन् भन्ने कुराको हेक्का नराखी जुन मितिमा पायो त्यहि मितिमा स्वीकृति दिने गरेको पुष्टि भएको छ । वैदेशिक रोजगार नीति अनुसार बिभागले तोकेको समयमा म्यानपावरले अन्तर्वार्ता गरे/नगरिको नियमित अनुगमन गर्नुपर्छ तर बिभागले गर्ने अनुगमन त परको कुरा अन्तर्वार्ता गर्ने मितिको समेत हेक्का नराखेर बिध्यमान बेथितिमा बिभागको भूमिकाप्रतिनै प्रश्न चिन्ह खडा गराएको छ ।
दशैंको दिन अन्तर्वार्ता हुने भनि बिज्ञापन दिएका केहि प्रमुख डिमाण्डहरु:
त्यसो त पछिल्लो समय वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले औपचारिकताको लागि मात्र राष्ट्रिय दैनिकमा बिज्ञापनहरु दिने गरेको भन्ने गुनाशो बढ्दै गर्दा दशैँको महा अष्टमी (असोज १७ गते), दशैंको महानवमी (असोज १८ गते), दशैंको टिकाको दिन (असोज १९ गते) को दिन समेत अन्तर्वार्ताको मिति राख्दै बिज्ञापनहरु छापेका छन् । त्यसो त यो त्रुटी म्यानपावरको मात्र नभएको व्यवसायीकै भनाई छ । बिभागको आधिकारिक वेबसाइटमा गएर हेर्ने हो भने यो बेथितिको स्पष्ट रुप देखिन्छ । बिभागकै वेबसाइटमा आजको मितिले ७ दिनपछि, ८ दिन पछि र ९ दिन पछि अन्तर्वार्ता उल्लेख भएको देखिन्छ ।
माथिको स्क्रिनसट: मिति २०७९ असोज १० गते https://foreignjob.dofe.gov.np/ बाट लिईएको हो । बिभागको वेबसाइटमा ७ दिन/८ दिन र ९ दिन भनि उल्लेख भएकाजति सवै अष्टमि, नवमी र बिजयादशमीको दिन पर्छ ।
दशैं सुरु भएपछि फूलपातीको दिनदेखि कम्तिमा ५ दिन सबै म्यानपावर बन्दनै हुन्छन् । तर बिभागले त्यस कुराको हेक्कानै नराखी बिगतमा झैं यो पटक पनि दशैंभर अन्तर्वार्ता हुने सुचित गरेको छ । वास्तवमै तोकिएको समयमा अन्तर्वार्ता गर्ने म्यानपावरले कम्तिमा मितिको हेक्का गर्छन् । त्यसो त यस्तो सामान्य बिषयको हेक्का बिभागलाई नहुनु आस्चर्यको विषय हो ।
पछिल्लो समय अधिकांश म्यानपावरहरुले डिमाण्डको पुर्व स्वीकृति अगावै एजेन्ट मार्फत कामदार छनौट गरेर प्रक्रियाको लागि मात्र राष्ट्रिय दैनिक पत्रिकामा अन्तर्वार्ताको मिति तोकेर बिज्ञापन दिने गरेको विषय साझा सबाल मिडियाले निरन्तर उठाउँदै आएको विषय हो । वैदेशिक रोजगार नीतिले प्रकृया अनुसार मात्र कामदारको छनौट गर्नु भन्ने निर्देशन दिन्छ, त्यसै अनुसार भए/नभएको बिभागले अनुगमन गर्नुपर्छ । तर बिभागको आँखामा कालोपट्टी यति हदसम्म लाग्ने गरेको छ कि अन्तर्वार्ता तोकिएको दिन कुन दिन हो ? उक्त दिन अन्तर्वार्ता हुनै नसक्ने अवस्थाको समेत हेक्का हुँदैन ।
त्यसो त अन्य सामान्य दिनमा समेत म्यानपावरहरुले छाप्ने डिमाण्ड अनुसार अन्तर्वार्ता तोकिएको मितिमा अन्तर्वार्ता नहुने वैदेशिक रोजगारमा जान चाहनेहरुको गुनाशो छ । अधिकांश म्यानपावरले विज्ञापन अनुसारको मितीमा अन्तर्वाता गर्दैनन् । पत्रिकामा यो दिन अन्तर्वार्ता भनेर उक्त दिन अन्तर्वार्ता नहुनु वा कामदार पहिलेनै अनाधिकृत तरिकाले छनोट गरि औपचारिकताको लागि मात्र बिज्ञापन दिने चलन छ । त्यस्ता बिज्ञापनले भ्रम छरेको, अनावश्यक रुपमा लक्षित बर्गले दु:ख पाएको गुनाशो आईरहेका छन् । यो गुनाशो बिभागदेखि मन्त्रालयको कल सेन्टरमार्फत समेत सम्बन्धित निकायका अधिकारीको कानसम्म पुग्दा पनि सम्बन्धित निकाय गैरजिम्मेवार बनिरहेको छ ।
सार्वजनिक बिदाका दिन पनि निजि क्षेत्र खुल्छन् । आफ्नो व्यवसाय संचालन गर्छन् भन्ने बिषयलाई बुझ्ने हो भने आम जनता निर्वाचनमा होमिदै गर्दा निर्वाचन आयोगको आचार संहिताबिपरित कोहि कसैले केहि गतिबिधि गर्न नपाउने दिन समेत म्यानपावरहरुको अन्तर्वार्ताको मिति तोकिएको थियो । म्यानपावरहरुले दिएको बिज्ञापन अनुसार र बिभागले स्वीकृति दिएको मिति अनुसार गत वैशाख ३० गते दर्जनौं म्यानपावरहरुमा अन्तर्वार्ताको मिति तोकिएको थियो । आयोगले सबै काम छोडी मत हाल्न जाऔं भन्दै फोनको कलरब्याक टोनमा संदेश दिईराख्दा दर्जनौं म्यानपावर कम्पनीले भने वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तर्वार्ता लिने मिति तोकेका थिए । उक्त दिन समेत बिभागले कुन दिन परेको छ हेक्का नराखी अन्तर्वार्ताको लागि स्वीकृति दिएको समाचार प्रकाशन भएको थियो ।
रोजगारमा समान पहुँच संबिधानले दिएको अधिकारको विषय हो । स्वदेशमा होस् वा विदेशमा रोजगारमा लगाउनको लागि कानुनी रुपमै अनुमति पाएकाहरुले युवाहरुलाई रोजगार दिँदा संविधानको मर्मविपरित व्यवहार गर्नुहुँदैन । तर वैदेशिक रोजगारको क्षेत्रमा भने यस सम्बन्धि कयौं बेथिति छन् । रोजगार पाउने कुरा प्रतिष्पर्धी र समान अधिकार क्षेत्र भित्रको कुरा हो भन्ने कुरालाई चटक्कै विर्सेर भ्रम छर्ने, सरकारको सूचना प्रणाली र राष्ट्रिय दैनिक पत्रिकाहरुलाई समेत प्रश्न गर्ने बाटो बनाइदिने क्रियाकलापहरु केहि समय यता निरन्तर भईरहेका छन् । कुनै पनि इजाजत प्राप्त म्यानपावर कम्पनीले कुनैपनि पुर्व-स्वीकृति प्राप्त रोजगारको माग अनुसारको जानकारी आम जनता माझ पुर्याउन राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन छाप्न अनिवार्य छ । यो अनिवार्य नीति बिभागले चाहेर मात्र ल्याएको भने होइन, यसरी रोजगारको माग सार्वजनिक गर्नपर्नु नेपालको संबिधानकै कार्यान्वयनको महत्वपूर्ण पाटो हो । जसको मुख्य अर्थ रोजगार चाहने जनतालाई रोजगारको अवसरमा समान सूचना र समान पहुँच होस् भन्ने हुन्छ । तर वैदेशिक रोजगार क्षेत्रमा कतिपय वैदेशिक रोजगार व्यवसायीहरुले विज्ञापन गर्नपर्नु बाध्यताको रुपमा मात्र हेरिएको छ । जसको कारण कुनै व्यक्तिले वैदेशिक रोजगारको खोजीमा दैनिक पत्रिका हेरेर वा सरकारकै सूचना व्यवस्थापन प्रणालीको आधारमा कतिपय म्यानपावरसँग सम्पर्क गर्दा डिमाण्ड छैन, कामदार पहिलेनै छानिएको छ, औपचारिकताको लागि मात्र बिज्ञापन दिएको हो भन्ने जस्ता प्रतिक्रिया दिने गरेका छन् । मर्म बिपरित भ्रम छर्ने, कतिपयले बिज्ञापननै नछाप्ने, छापेपनि सेटिङ गरेर उक्त दिनको उक्त पत्रिकाको पृष्ठनै बजारमा नपठाउने जस्ता बिकृतिहरु छन् । केहि समय अघि बिभागसँग पुर्व स्वीकृति लिएर बिज्ञापन नछापेको भन्दै २ दिनकै अन्तरमा १४८ म्यानपावर बिभागको कारवाहीमा परेको थियो ।
यसरी भ्रम छर्नु वैदेशिक रोजगारको नीति बिपरित हुने कुरा धेरैलाई हेक्का छैन । यस्तो व्यवहारप्रति बिभागले सक्रिय भएर अनुगमन गर्ने हो भने धेरै म्यानपावर कारवाहीको दायरामा आउने देखिन्छ । त्यसो त विज्ञापन आचारसंहिता पनि यस खाले जनता झुक्याउने विज्ञापनदातालाई कारवाही सम्बन्धमा आकर्षित हुन्छन् । विज्ञापन दिने, अन्तर्वार्ताको मिति तोक्ने अनि त्यसै आधारमा सम्पर्क गर्दा डिमाण्डनै छैन भन्ने, एजेन्टबाट मात्र युवाहरु भर्ति गर्ने जस्ता क्रियाकलाप भईरहेका छन् । तोकिएको दिन अन्तर्वार्तानै नगर्ने तर बिभागमा अन्तर्वार्ता दिनेहरुको पुर्व निर्धारित सूची पठाउने प्रवृति बढ्दै गएको छ । जसको कारण प्रक्रियागत वैदेशिक रोजगारको सिस्टमनै प्रभावित र भ्रमपूर्ण बन्दै गएको छ । बिभागको कार्यकौशलता माथिनै प्रश्न उठ्ने गरेको छ ।
दशैंको दिनहरुमा पनि म्यानपावरहरुले अन्तर्वार्ताको मिति राखेर बिज्ञापन दिएको बिषयमा वैदेशिक रोजगार बिभागमा निर्देशक तथा सूचना अधिकारी कृष्ण प्रसाद भुसालले बिभागबाट दशैंको दिन पनि अनुगमन गर्ने प्रतिक्रिया दिएका छन् । दशैंको मुख्य दिनहरुमा समेत म्यानपावरहरुले अन्तर्वार्ताको मिति तोकेर बिज्ञापन गरेको तथा बिभागकै आधिकारिक वेबसाइटमा त्यसै अनुसार जानकारी अपडेट भएको बिषयमा आफू गम्भीर भएको भुसालले बताए । उनले बिभागका काठमाडौँमा उपलब्ध कर्मचारीहरु खटिएर तोकिएको मितिमा अन्तर्वार्ता भएनभएको अनुगमन गर्ने बताए ।
'फेयर रिक्रुटमेन्ट' को मर्म जनतालाई जस्ताको तस्तै रोजगारबारे सूचना दिएर तोकिएकै दिन, तोकिएकै स्थानमा बोलाई, इच्छुक व्यक्तिहरुलाई छनोट प्रक्रिया समेत पारदर्शी गराई वैदेशिक रोजगारको लागि छनोट गर्नुपर्ने भन्ने हुन्छ । यसरी कामदार छनोट गर्नुपर्ने नीति सहित श्रम तथा रोजगार सम्बन्धि नीति नै बनेको छ । यस विषयको नियमन गर्ने जिम्मेवारी समेत वैदेशिक रोजगार बिभागलाई तोकेको छ । तर अधिकांश म्यानपावर कम्पनीहरुले खुलमखुला त्यसको बर्खिलापमा काम गर्दै आएका छन् । सरकारले एजेन्ट खारेज गरिसकेको अवस्थामा अझै पनि कयौं म्यानपावरका कार्यालयहरुमा सयौं एजेन्टहरुले सिफारिस गरेको पासपोर्ट भेटिने गरेका छन् । त्यसो त म्यानपावरहरुले एजेन्टहरुलाईनै प्राथमिकता दिएर काम गर्दै आएका छन् । जसको कारण म्यानपावरहरु सिस्टममा आउँदा सम्मानित हुने खालको पेशा गरेका छन् तर नतिजा बदनामी कमाईरहेका छन् ।
एजेन्ट मार्फत छानिएका कामदारले जति भन्यो त्यति लागत बुझाउने तर आम रुपमा छानिएकाहरुले लागत सम्बन्धमा किचकिच गर्ने, बिभागमा उजुरी गरिदिने व्यवसायीहरुको बुझाईको कारण सकेसम्म आम सर्वसाधारणलाई डिमाण्डबारे जानकारी दिनै नपरोस् भन्ने म्यानपावरहरुका सोच हुने गरेका छन् । केहि विदेशका ठूला कम्पनीहरुको डिमाण्डको विज्ञापन विदेशी कम्पनीहरुको करकापमा मात्र आम मानिसको पहुँचमा पुग्ने गरेका छन् तर अधिकांश बिज्ञापनहरुमा वैदेशिक रोजगारमा जान चाहने युवाहरुको पहुँचमा छैनन् । कतिपय धेरै माग भएका डिमाण्डहरु त यस्ता दैनिक पत्रिकामा छापिन्छ, जुन पत्रिका बजारमै भेटिन्नन् । अधिकांश पत्रिकाहरु डिजिटल संस्करणमा अनलाइनबाटै इपेपरमा समेत प्रकाशन हुने गरेका छन् । तर कतिपय म्यानपावरले विज्ञापन छपाउँदा त्यस्तै बजारमा कम पुग्ने र अनलाइन ‘इपेपेर’मा समेत नभेटिने पत्रिका छानी-छानी प्रकाशन गर्ने गरेका छन् ।
यसरी लुकाउँन खोज्दा-खोज्दै पनि कुनै वैदेशिक रोजगारको बिज्ञापनमा कसैको आँखा पुगिहाल्यो भने सकेसम्म फोन नआओस् भन्ने सोचले मोबाइल नम्बरहरु नराख्ने, ल्याण्डलाइन मात्र राख्ने फोन नउठाउने, कार्यालयमै पुगेपनि डिमाण्ड प्याक भईसकेको भन्दै फर्काउने वा बिभिन्न बहानाबाजी गरेर टार्ने गरेको गुनाशो आईरहेका छन् ।
एजेन्टकै भरमा कामदार भर्ति गर्न वा गरिसकेको कारण त्यसलाई प्रक्रियामा लैजानको लागि मात्र विज्ञापन छाप्ने औपचारिकता भएको छ । अब यसरी विज्ञापन गर्ने म्यानपावर आम युवाहरुको पहुँचमा हुने कुरै भएन । उनीहरुलाई कुन दिन अन्तर्वार्ता राखिएको छ, हेक्का हुने कुरै भएन । कतिपयले त आफ्नो कार्यालयको २ बर्ष अघि परिवर्तन भएको फोन नम्बर समेत दिएर बिज्ञापन गरिरहेका हुन्छन् । जसलाई प्रत्यक्ष युवाहरुसँग जोडिएर काम नै गर्नुछैन उनीहरुको लागि बिज्ञापन झन्झटिलो बनेको छ ।
वैदेशिक रोजगारको बेथिति सुधार्ने उदेश्यले ठूलो महत्वाकांक्षा सहित राज्यको लगानीमा बनेको FEMIS प्रणाली, त्यसमा पनि सरकारी सूचना प्रणालीबाट समेत भ्रमपूर्ण सूचना प्रवाह भईरहेको विषय सामान्य मान्न सकिन्न । यो बेथिति अन्त्य गर्न श्रम मन्त्रालय समेत गैर जिम्मेवार देखिएको छ ।