२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दुक रुइतले कसरी पाए १३ कराेडकाे अवार्ड ?

२०७९, ८ माघ आईतवार ०९:३०

माघ ८, काठमाडौँ | चीनको तिब्बतलाई छुने ताप्लेजुङको विकट ओलाङ्चुङगोला विश्वविख्यात वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको जन्मथलो हो । ओलाङ्चुङगोला तमोर नदी शिरको हिमाली गाउँ हो । यही गाउँमा रुइतको सात वर्षसम्मको बाल्यकाल बित्यो । त्यसबेलै उनले गाउँमाथिको सानो गुम्बामा मूर्तिको भगवान् देखेका थिए ।

तर, अहिले भने लाखौँ लाखले सम्झिने र पुजिने साक्षात् भगवान् भएका छन् उनी स्वयम् । कारण– अन्धोपन हटाएर लाखौँ मानिसलाई उज्यालो दिएका छन् । डा. रुइत यो अवस्थामा आइपुग्नुमा केही योग र केही वियोगका घटना जोडिएका छन् । 


डा. रुइतका बुबा सोनाम ओलाङ्चुङगोलाका स्थानीय व्यापारी थिए । गुम्बामा सामान्य लेखपढ गरेका थिए । तर, उनको शिक्षाप्रति राम्रो सुझबुझ थियो । त्यही भएर उनलाई भारतको दार्जिलिङमा पढाए । पछि सन् १९६२ मा चीन–भारत युद्ध भयो । दार्जिलिङमा पढ्दै गरेका रुइतलाई पछि बुबा सोनामले काठमाडौंमा ल्याए । उनका साथमा बहिनीलाई पनि राखे, बुबाले । दाजुबहिनी सँगै बसेर पढे । त्रि–चन्द्रमा आईएस्सी पढ्दापढ्दै बहिनीलाई क्षयरोग भयो । उनी बहिनीलाई अति माया गर्थे । बहिनीको उपचार गराए । तर, बहिनीलाई बचाउन सकेनन् । निधन भयो । बहिनी वियोगमा परे सन्दुक । 

उनलाई त्यसबेला लाग्यो, उपचार गराउँदागराउँदै बहिनीको मृत्यु भयो, विकट गाउँमा त झन् उपचार गर्नै नपाएर कतिले मृत्युवरण गर्छन् होला ? 'त्यही भएर मृत्युका मुखमा पुगेकी मेरी बहिनीजस्ता बिरामीलाई बचाउन भनेर चिकित्सक हुने सोच बनाएँ’, उनले एक अन्तर्वार्तामा भनेका छन् ।

नभन्दै उनी चिकित्सा विज्ञान अध्ययन गर्न भारतको लखनउ गए । सर्जन डाक्टर भएर नेपाल फर्किए । वीर अस्पतालमा जागिर खाए । अस्पतालमा काम गर्दै जाँदा विभिन्न ठाउँमा शिविरहरूमा जाने मौका उनलाई मिल्यो । पछि उनी वीर अस्पतालको आँखा विभागमा तानिए । त्यसबेला आँखा विभागमा काम गर्ने क्रममा उनको भेट डा. रामप्रसाद पोखरेल, डा. मदनप्रसाद उपाध्याय, डा. नवीनचन्द्र राईजस्ता आँखाविज्ञसँग भेट भयो । 

एक दिन उनी डाक्टर नवीनचन्द्रको सहायक भएर बर्दियाको आँखा शिविरमा गए । त्यहाँ एउटै परिवारका पाँच जनाले आँखा नदेखेको पाए । भेडाबाख्राजसरी घरको कुनामा बसिरहेका मान्छे देख्दा उनको मन कटक्क भयो । र, उनले त्यहीँ मोतियाविन्दुको शल्यक्रिया गरेर ज्योति गुमाएका मानिसहरूलाई नयाँ जीवन दिने अठोट गरे । त्यसपछि नै उनी बने, आँखाको डाक्टर । सोही क्रममा मोतियाविन्दुको उपचारका लागि ‘रुइतेक्टोमी’ पद्धतिको विकास गरे । पछि उनी छुट्टै आँखा अस्पताल स्थापना गर्नतिर लागे । जुन अभियानमा उनलाई साथ दिइन् डा. रिता गुरुङले । उनीहरूले नै स्थापना गरेको तिलगंगा आँखा अस्पताल विश्वचर्चित बनिसकेको छ । 

डा. रुइतका अनुसार सन् १९९० को दशकतिर लेन्सलाई २ हजारदेखि ५ हजारसम्म पर्थ्याे । यति महँगाे लेन्स सबै बिरामीको पहुँचभित्रको कुरा थिएन । जसका कारण हामी लेन्स उत्पादन गर्ने निर्णयसम्म पुग्यौँ र सुरु गर्‍यौँ । अहिले तिलगंगा अस्पतालले दुई रुपैयाँभन्दा कममा लेन्स उपलब्ध गराउँछ । सस्तो र सुलभ दरमा लेन्स पाउने भएपछि मोतियाविन्दु हुनेहरूको उपचारमा सरल र सहज हुँदै आएको छ ।

परिणामतः आँखाको ज्योति गुमाएका धेरैको ज्योति पनि फर्किएको छ । हाल अस्पतालले हरेक वर्ष करिब ३ लाखवटा लेन्स उत्पादन गर्दै आएको छ । डा. रुइतले सरकारले आर्थिक सहायता गरेको अवस्थामा १५ लाखसम्म लेन्स उत्पादन गर्ने र विश्वभर निर्यात गर्ने योजना बनाएका छन् । 

अस्पतालले आँखाको उपचार, लेन्स उत्पादनदेखि विशेषज्ञ नेत्र चिकित्सक उत्पादन गर्दै आएको छ । डा. रुइत अस्पताललाई ‘इन्टरनेसनल अप्थाल्मिक (आँखाको उपचार) इन्स्टिच्युसनल हब’ बनाउन पनि चाहन्छन् । उनै डा. रुइतले नेपालका दूरदराजका नेपालीको आँखा शिविर सञ्चालन गरेर मोतियाविन्दुको उपचार गराएर आँखाको ज्योति फर्काइदिएका छन् । भारत, बंगलादेश, भुटान, बर्मा, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, उत्तर कोरिया, चीन, अफ्रिकालगायत देशका आँखाका बिरामीको उपचार गरेका छन् । 

यिनै आँखा रोगको उपचार पद्धतिमा गरेका कर्मका कारण उनी मंगलबार इसा अवार्डको विजेता घोषित भएका हुन् ।

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित यो अवार्ड सन् २०१३ देखि मानव कल्याणको क्षेत्रमा काम गरेका व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिन्छ । अवार्ड १० लाख डलर अर्थात् नेपाली मुद्रा १३ करोड रुपैयाँभन्दा बढीको हो ।

अन्धोपन निवारणमार्फत गरेको मानव कल्याणका लागि रुइत यो अवार्डको हकदार भए । उनी साढे तीन दशकदेखि नेत्र चिकित्सा क्षेत्रमा छन् । यसअघि उनले म्यागासेसे अवार्डसँगै भुटानका राजपरिवारले विदेशीलाई दिने सर्वोच्च सम्मान र थाइल्यान्डको राजपरिवार प्रिन्स महिडोल अवार्ड, अस्ट्रेलियामा विदेशीलाई दिने सर्वोच्च अवार्ड, एसियन गेम चेन्जर २०१६ अमेरिका, एसियन अफ द इयर २००७ लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनी विदेशी चिकित्सकलाई नेपालमै रहेर तालिम र अध्यापन गराउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल