आयोजनाले सामाजिक उत्तरदायित्वको संझौता कार्यन्वयन नगरेपछि...

Posted on: 25 Mar, 2022

हेमनाथ खतिवडा | चैत ११, रसुवा । रसुवा, आमाछोदिङमो गाउँपालिका वडा नं ५ मा निर्माणाधिन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व वापतको कार्यक्रम नगरेपछि स्थानीय आक्रोसित भएर शुक्रबारदेखि काम रोकेका छन् । 

सालासुङगी वाटर प्रालि र स्थानीय वडा नं ५ वडा कार्यालयसँग ०७८ असार २० गते भएको संझौतामा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा वातावरण संरक्षणमा समेत काम नगरेको स्थानीयको गुनासो छ । आयोजना स्थल मार्ग निर्माणका क्रममा धेरै जंगल विनास भएको र १० वटा खर्कहरुमा क्षति पुगेकोले त्यहाँ गाइ, चौरी तथा भेडा, बाख्रा पालक किसानलाई चरिचरनका लागि खर्क समस्या भएको छ । सडक निर्माणका कारण ठूला ढुङ्गाले पशु हिड्ने बाटो नभएको र घाँस पाउने खर्कमा ठूलो क्षति भएकोले यहाँका २७ जना चौरी तथा भेडा पालक किसान ठूलो समस्यामा परेका छन् । जलविद्युत आयोजनाले सडक निर्माणका कारण खर्क मासियो पशुपालन गर्ने किसानहरु धेरै मर्कामा परेका छन् तर आयोजनाले कुनै सम्बोधन गरेन स्थानीय चौरीपालक किसान सोनामनुर्पु तामाङ बताए । आयोजनाका प्रोजेक्ट इन्जिनियर राजु श्रेष्ठका अनुसार स्थानीयको माग पुरा गरेर आयोजना सुचारु गर्न तयार रहेको बताए । बिभिन्न दलले बिबाद गरेकोले आयोजना बन्द हुने गरेको छ । ‘३ महिना जति गाउँपालिकाले काम रोक्न भनेपछि रोकियो पछि कोरोना भाइरसका कारण पनि प्रभाव प¥यो अब स्थानीयले राखेको माग उपर छलफल गरेर आयोजना सुचारु गर्न हामी छलफलमा छौं’ श्रेष्ठले भने । 


हिउँ पर्ने मौसममा चौरीगोठ तल सार्ने तथा गर्मी सुरु भएपछि लेकतिर सार्ने चलन थियो अहिले त खर्क मासियो जंगलमा चरन खोज्न जाने बाने बाटो समेत छैन । आयोजनले वातावरण विनास गरेको छ पहिले त कृृषक समूहलाइ समेटेर कार्यक्रम गर्ने भनेको आयोजनाले बास्ता नगरेको कृषक छेवाङ तामाङले बताए । 

कम्प्युटर अप्रेटर तथा २ जना शिक्षक नियुक्ती भएपनि ९ महिना बित्दापनि तलव नदिएको , माथिल्लो रोङ्गामा ड्याम साइड निर्माणका क्रममा खोलामा ब्यापक रुपमा माटो थुपारेकोले वर्षातमा जोखिम देखिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत धेरै योजनाहरु संझौता अनुसार काम अगाडी बढाउन वडा कार्यालयले पत्रचार गरेपनि प्रत्युत्तर बाहेक केही नपाएको र सर्वदलिय बैठक बस्ने बाहना बनाउने गरेको आमाछोदिङमो गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष टासी छेवाङ तामाङ (बाबु) ले बताए । स्थानीयको माग सम्बोधन नगरेपछि काममा अबरोध भएको सूचना पाएको छु । सामाजिक उत्तरदायित्व अन्तर्गतका भएको संझौता अनुसार हुनुपर्ने विषयमा आफुले पनि पटक पटक सहजिकरण गर्ने प्रयास गरेको उनले बताए । समयमा आयोजनाले जनताको माग पुरा गरेको भए आयोजना चाँढै र निर्विवाद रुपमा सम्पन्न हुने स्थानीय बताउँछन् । आयोजनाको काम लपरबाही तवरले गरेको वातावरण संरक्षणमा ध्यान नदिएको, पैदलमार्ग, पुलपुलेसा, जलस्रोतको संरक्षणमा समेत ध्यान नदिएको स्थानीयको गुनासो छ ।  


निर्माणाधिन माथिल्लो साङजेन आयोजना भन्दा ५ सय मिटर माथि यस आयोजनाको विद्युतगृह निर्माण हुन लागेको छ । नेपाली साँझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिसत लगानी रहेको छ । आयोजना टनेल ४ किमी र पेनसटक समेत ७ किमी रहेको छ भने तातोपानीदेखि ड्याम साइडसम्म पुग्न ३२ किमी सडक निर्माणलगायतका काम भइसकेको छ ।

स्थानीय तहले समयमै जानकारी गराउदापनि सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजनाले गर्नुपर्ने काम प्रति बेवास्ता गरेपछि आयोजनाको काम रोक्नु स्थानीयको बाध्यता भएको सुरेश तामाङले बताए । माग पूरा भए आयोजनालाइ सहयोग गर्ने तर वास्ता नगरे काम अवरुद्ध हुन उनले बताए । संझौतामा सामाजिक उत्तरदायित्व अन्तर्गतको काम ०७८ साउनदेखि कार्यान्वयन हुनुपर्ने उल्लेख भएपनि हालसम्म कुनै काम भएको छैन । संझौतामा भौतिक विकस, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विकास गर्ने जनाइएको छ । 

केही ब्यक्तिले निहीत स्वार्थ पूरा गर्नका लागि आयोजना बन्द गरिएको हो सालासुङ्गी पावर प्रालिका नेपाली लगानीकर्ता विष्णुराज अधिकारीले बताए । स्थानीयको नाममा यसअघि पनि पटकपटक अबरोध आएको छ बिना अवरोध काम अघि बढे आयोजना २ वर्षमा सकिने उनको दावी छ । अबरोधको समयमा कन्ट्याक्टर कम्पनी सिनो हाइड्रोले दैनिक क्षतिपुर्ती दावी गर्छ । केही ब्यक्तिले उक्साएर आयोजनामा अवरोध गरेको उनलेको आरोप छ । चिनियाँ कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्न तयार छ तर स्थानीयले अवरोध होइन समन्वय गर्नुपर्ने उनको भनाइ छ । चाँढै सर्वपक्षको भेलाबाट समस्याको समाधान निकाल्ने र आयोजना अघि बढ्ने अधिकारीले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!