२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन’

२०७४, ७ मंसिर बिहीबार ०३:२२

मङ्सिर ७, काठमाडौँ । बाँकेको महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । 

निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ बढ्दो छ । निर्वाचनको माहोलमा बिदेसिनुपर्दा दुःख लागेको उनीहरू बताउँछन् । मतदानमा सहभागी हुने इच्छा हुँदाहुँदै पनि बाध्यताले बिदेसिनुपरेको दैलेख रानीवनका छविलाल शाहीले बताए । ‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन,’ उनले भने, ‘नेताहरूले देशमै रोजगारी सिर्जना गर्न सक्ने हो भने यसरी कोही पनि बिदेसिनुपर्दैन । अाजको नयाँ पत्रिकामा खबर छ-तर, चुनावमा आश्वासन दिन खप्पिस नेताहरूको व्यवहार अर्कै हुन्छ ।’ परिवारको पेट पाल्ने दायित्व आफ्नै काँधमा रहेको छविलालले बताए ।

५२ वर्षीय शेरबहादुर पनि स्वदेशमा काम गर्ने अवसर नपाएकै कारण भारततर्फ लागेका हुन् । उनी मजदुरीका लागि भारत जाने र बर्षमा केही समयका लागि नेपाल फर्कने गर्छन् । यसरी नै जिन्दगी चलेको लामो समय भयो । यसबीच धेरैपटक निर्वाचन भए । उनले पनि भोट खसाले । तर गरिब जनताको पक्षमा काम गर्ने नेता कोही नदेखेको उनको गुनासो छ । ‘गरिवलाई के को चुनाव लाग्ने हो, चुनाव त धनी र नेताका लागि पो आएको हो,’ शेरबहारले भने, ‘चुनावले भोको पेट भरिने होइन, नेताको के आशा गर्नु ?’

कामका लागि भारत जाने मौसम यही भएकाले आफुहरू भारत हिडेंको शेरबहादुरले बताए । भोको पेट भर्ने चिन्ताको निकास राजनीतिले निकाल्न नसक्ने उनको ठम्याई छ । ‘चुनावभन्दा भोको पेट भर्ने चिन्ता बढी छ । हाम्रोबारेमा सोच्ने कोही भए पो । नेताहरूले आश देखाउन थालेको धेरै भयो । तर, भारत गएर नोकरी गर्नुबाहेक हामीसामु अर्को विकल्प रहेन ।’

भोट हाल्ने दिन कुर्दासम्म छाक काटिने भएका कारण अहिल्यै विदेशिएको बताउँछिन् कोहलपुर नगरपालिका–१२, खड्गवारकी लक्ष्मी परियार । उनका श्रीमान् पनि भारतमै रोजगारी गर्छन् । ३० वर्षकी परियार छोरालाई लिएर श्रीमान् भेट्न गएकी हुन् । भारतको लद्दाखमा रहेका आफ्ना श्रीमान्ले काम मिलाईदिने आशा उनलाई छ । ‘कामको खोजीमा हिडेँकी हुँ ,’ परियारले भनिन्, ‘नेपालमा काम गर्ने अवस्था भएको भए किन परिवारै भारत छिर्नुपर्ने थियो ?’

नेताहरूको आश्वासनबाट वाक्क भनेको प्रतिक्रिया उनले दिइन् । विगतमा आफुले खसालेको विश्वासको भोटलाई नेताहरूले दुरुपयोग गरेको उनको गुनासो छ । ‘देशको विकास भए पो भोट हालेको उपलब्धि हुन्छ । भोट दिएपछि नेताहरू मुख देखाउँदैनन् । यसरी भोटको दुरुपयोग गर्नुभन्दा भारत जानु नै उपयुक्त लाग्यो, ’ उनले भनिन् ।

निर्वाचनको मिति नजिकिदै गर्दा भारतबाट नेपाल आउने भन्दा कामको खोजीमा भारत जानेको संख्या धेरै भएको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ । निर्वाचनको मुखमा जुम्ला, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, कालिकोटका सर्वसाधारण कामको खोजीमा भारत जाने गरेको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुधीर खड्काले जानकारी दिए ।

उनले दैनिक सरदर ३ सय नेपाली कामको खोजीमा भारत जाने गरेको बताए । भोट हाल्नका लागि भारतबाट दैनिक सरदर ५०–६० जना नेपाली घर फर्किने गरेको उनले बताए । ‘चुनाव आउँदै गर्दा भारत जानेको संख्या बढेको छ, दैनिक २ सयदेखि ३ सय नेपाली भारत गएको तथ्यांक छ,’ खड्काले भने ।

सिजा क्षेत्रका ४०∞ युवा जिल्लाबाहिर

जुम्लाका युवा रोजगारीका लागि जिल्ला छाड्ने क्रम बढेको छ । यहाँ १० मंसिरमा निर्वाचन हुँदै छ । प्रतिनिधिसभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रदेश सभा ‘ख’ स्थित सिजा क्षेत्रमा कुल २७ हजार ३४४ मतदाता छन् ।

यहाँ पुरुष मतदाताको संख्या १४ हजार ३७९ तथा महिला मतदाताको संख्या १२ हजार ९६५ छ । अनुमानित ४०% पुरुष मतदाता व्यापार–व्यवसाय र मजदुरीका क्रममा जिल्लाबाहिर छन् । कात्तिक र मंसिरमा जिल्ला छाड्नेको संख्या अत्यधिक हुने गरेको छ ।

भारतबाट आउनेमाथि प्रहरीको निगरानी

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रहरीले बाँकेको सीमानाका जमुनाहमा कडाइ गरेको छ । भारतबाट आउनेलाई नाकामा कडा जाँचपछि मात्र नेपाल प्रवेश गर्न दिइएको प्रहरी नायब निरीक्षक सुधीर खड्काले बताए ।

‘सीमा क्षेत्रबाट भित्रन सक्ने साना हतियार निर्वाचनका लागि खतरा हुन सक्छन् । त्यसैले हामीले कडा खानतलासी गर्ने गरेका छौँ । शंकास्पद व्यक्तिलाई केरकार पार्ने र ठेगाना मागेर मात्रै पठाउने गरेका छौँ,’ खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै