नन्द बहादुर रोकाया/मङ्सिर १८, मुगु । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ ।
कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ ।
काठमाण्डौंबाट पहिलो चोटी रारा ताल घुम्न आएका बिशाल हमालले पनि यस्तै अनुभव गर्नु भयो । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु बढेका छन् अचेल ।
२०६९ साल पौष १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा यसको एकवर्ष पछि नियमित रुपमा गाडी चल्न थाल्यो । त्यसयता रारा आउनेलाई सजिलो भयो । रारा पुग्नेहरु सदरमुकाम गमगढी पनि झर्छन् ।
रारामा पर्यटक बढे, स्थानीय व्यवसायीको आम्दानी पनि बढ्यो भन्नुहुन्छ बुद्ध गेष्ट हाउस गमगढीका सञ्चालक मनमान बुढा । मुगु सदरमुकाम गमगढीबजारको तल्लो बजारमा कोशेली घर छ । कोशेली घरमा मुगुमा उत्पादन भएका स्थानीय बाली ,चिनो कागनो फापर सिमी मार्से लगायत स्थानीय स्तरका लत्ता कपडा पाईन्छन । छायाँनाथ रारा नगरपालीका वडा नं १ बासी चेतना शाहीले २०७१ सालमा राराबाट फर्किने पर्यटकहरुका लागि भनेर यो कोशेली घर खोल्नु भएको हो ।
चेतनाले कोशलीघरमा स्थानीय स्तरमा गई स्थानीय स्तरमा उत्पादन भएका सामान खरिद गरि बजारिकरण गदै आउनुभएको छ । चेतना भन्नुहुन्छ, कोशेली घरले स्थानी किसानको खर्च धानेको छन । पर्यटकलाई राराको सुन्दरताले लोभ्याएर मुगुसम्म पु¥याउँछ ।
मुगुका उत्पादनहरु चिनो ठानेर किनेर लैजान्छन् । तर रारा पुग्नेहरुका लागि पर्यटकीय व्यवस्थापन अपुग भएको पर्यटक हरुकोे गुनासो छ । अचेल मुगुको रारामा वर्षको सरदर ६० हजार भन्दा बढी देश भित्र र बाहिरका पर्यटक घुम्न जान्छन् ।
पर्यटक बढे यता मुगुको आम्दानी बार्षिक ४० प्रतिशतले बढेको छ । पहिले पहिले मुगुको गरिबीको मात्र प्रचार गरिन्थ्यो । अचेल पर्यटक प्रर्वद्धन गरेर मुगुको विकास गर्न सकिन्छ भन्ने बहस उँचो भएको छ ।