विजया पन्त । सामाजिक संजालमा सबैले पोष्ट गरेको देखेपछि को र के रहेछ यो जोया भन्ने उत्सुकताले सतायो । फेसबुकको वालमा खोजेर लिङ्कमा क्लिक गरेर पढ्न थालेँ । चिच्याइ चिच्याइ पढ्दै थिएँ । पढ्दै जाँदा गला अबरुद्ध भो फेरी आफूलाई समालेर पढ्न थालेँ ।
फिलिपिन्स महिला नेपाली केटासँग विवाह गरेर आएको र दुई सन्तान भएको तर श्रीमानले सधैँ रक्सी खाएर कुट्ने गरेको श्रीमानले दिएको यातना सहन नसकेर .हारगुहार गर्दा सरकारबाट सहयोग गरेर माइती देश फर्काइएको ………….. फोटो पनि एउटा बच्चा काखमा र अर्को हातले समाएको । यो हृदय विदारक कहानी र दृश्यले कुनै पनि नारीको मन थाम्न सक्दैन । पढ्दै गर्दा लाग्यो नेपालकी बुहारी हुन् उनी अनि ती अबोध बालकहरूमा नेपाली रगत छ ।
हुन त जोया जस्ता नेपाली महिला यहाँ सयौँ छन् । पन्ध्र सोह्र वर्षमा भागी विवाह गर्ने बीस बाइस वर्षमा दुई सन्तानको आमा बन्ने र श्रीमानले पिट्ने, दुःख दिने गरेपछि घर बनाउने, अरुको घरमा भाडाँ माझ्ने, लुगा घुने गरेर बालबच्चा हुर्काउने गर्छन् । यसरी कष्टपूर्वक जीवन बिताएर बस्ने महिला कसैको नजरमा परेका छैनन् तर किन जोया हरेक नेपालीको मन मस्तिष्कमा रहिन पति भक्ति त मर्दैन पापी पति भए पनि ?
मलाई पनि लाग्यो उनको विवाह दर्ता हुनु पथ्र्यो, नागरिकता पाउनु पथ्र्यो, छोराहरूको जन्मदर्ता गरेर नेपाली बालबच्चाले पाउनु पर्ने अधिकार पाउनु पथ्र्यो । जोयाको अवस्था र उनको रोदनले उनी नेपालकी बुहारी हुन् र नेपालमा बस्न पाउनु पर्छ भन्ने लाग्यो । यसैमा सम्झेँ भवानी भिच्छुको हारजित कथा । सुनवा नाउँकी केटीको गोज्याँग्रो केटासँग विवाह हुन्छ । सुनवा गोज्याँग्रो लोग्नेको सधैँको पिटाइ सहन नसकेर गाउँको मनोहर महतोको घरमा मज्दुरी गर्न जान्छे ।
सुनवा गाउँको बुहारी र इज्जत भएको हुँदा उसलाई घर फर्काउन घुरहु महतोले आफ्नी विवाह गरेर दिएकी छोरी रतियालाई यो अर्काको घरकी बुहारी हो । केही समय माइत बस्न आएकी छे । मनोहर महतोले पनि विवाहमा छोरी जस्तै जल खाएका थिए । त्यसैले यसलाई लगेर काम गर्नु भन्दै सुनवाको सट्टामा रतियालाई पठाउँछन् र सुनवालाई आफ्नो घर पर्काउँछन् । त्यस्तै जोया पनि यस देशकी बुहारी र इज्जत हुन् । आजसम्म हाम्रो समाज बुहारीले धानेको छ । बैधानिक वा अबैधानिक जसरी विवाह गरेको भएपनि जोयालाई अन्तिम अवस्थामा भएपनि कानुनी मान्यता दिनु पथ्र्यो यसमा कसैको दुई मत हुँदैन ।
दिमागले धेरै दिन मन्थन गर्यो के विवाह दर्ताले उसलाई खान दिन्छ ? के नागरिकताले उसको नाङ्गो शरीर छोप्छ ? के बालकहरूको जन्मदर्ताले शिक्षा दिन्छ । यहाँ त धनी र गरिबको शिक्षा छ । हो बच्चाहरूलाई सरकारले शिक्षा देला तर त्यो शिक्षा प्राप्त गर्नेहरू जाने भनेको खाडी मुलुक हो । यहाँ बसेको भए उनीहरूको गन्तव्य स्थल पनि खाडी मुलुक हुन्थ्यो । नेपाली नागरिकता नपाएर माइती देश फर्कन पर्यो । यस विषयले सबैको मन बिझउँछ ।
विवाह गरेर आएर पनि किन अधिकार दिइएन ? यो दुःखको कुरा हो तर नेपालमा बस्नेहरूले आफूलाई भाग्यमानी ठानेको कतै पाइएको छैन । आफूलाई राष्ट्रवादी र अतिनै ठूला हुँ भन्नेहरू पनि अमेरिकाको डि वि पर्दा आफूलाई सबैभन्दा भाग्यमानी ठान्छन् र नेपाली नागरिकता त्याग्न तयार हुन्छन् । उनको देश कस्तो छ ? थाहा छैन ? तर जोयालाई लैजान जुन रकम तिरेको छ सरकारले त्यो देख्दा नेपालभन्दा धेरै अगाडि छ भन्ने बुझिन्छ । उनी जस्ता हाम्रा नेपाली चेलीबेटी विदेशको भूमिमा कति जीवन र मरणको दोसाधमा परेका छन् ? सरकाले उद्द्धार गर्न सकेको छैन । त्यसैले पनि भन्छु उनले ती दुई सन्तानलाई पक्कै पनि शिक्षा दिएर योग्य बनाउने छिन् ।
कानुनी रुपमा नेपालको बुहारी बन्न सकिनछिन् जोया । कानुनी रुपमा बुहारी बनेको भए विवाह दर्ता हुने थियो । विवाह दर्ता नगरेको कारण नै उनी आज साच्चै नेपालकी बुहारी बनिन् । विवाह दर्ता गरेको भए । NGO ले सम्बन्ध विचछेद गराउँथ्यो र पाइती देश पठाउँथ्यो । नेपालसँगको कुनै सम्बन्ध नै रहने थिएन । उनले प्लेन चढ्दै गर्दा दुष्टै भएपनि एकपटक आफ्नो श्रीमानलाई सम्झेर झरेका आँसुले सबैको मन पगाल्यो । सम्बन्ध विच्छेद गरेको भए रुने होइन सम्झने पनि अधिकार हुने थिएन ।
सम्बन्ध विच्छेद गरेर गएकोसँग नेपालीको कुनै सम्बन्ध पनि रहने थिएन । यहाँ कानुन र रगतको नातभन्दा भावनात्मक नाताले बढी नेपालीको मन छोएको छ । भोलि उनले विवाह गर्लिन वा छोरा पालेर बस्लिन् समयले बताउला । कानुनी मान्यता नपाइकन बनेको नेपाली बुहारीले नै सबैको मन जित्न सकेको हो । त्यसैले भन्न मन लाग्यो पति भक्त त मर्दैन पापी पति भए पनि ।