पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

Posted on: 02 Mar, 2022

फागुन १८, काठमाडौँ (रासस) । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ ।

महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।

मङ्गलबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजाआज आज बिहान ५ः१० बजे सकिएको मन्दिरभित्र कार्यरत कोषका वरिष्ठ सहायक वरुण खतिवडाले राससलाई जानकारी दिनुभयो । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा मङ्गलबारदेखि सुरु भएको भक्तजनको भीड आज बिहानसम्म पनि कायम रहेको थियो । आज बिहान ६ बजेपछि भने पशुपति क्षेत्रमा केही मात्रामा भक्तजन घटेको कोषले जनाएको छ ।

राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लाइनमा बसेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उहाँले बताउनुभयो ।


भत्कियो भष्मेश्वर घाट नजिकको वाग्मती पुलको पर्खाल 

पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले राति भत्किएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुई भक्तजन वाग्मती नदीमा खसेका थिए । खसेकामध्ये एक जना काठमाडौँ मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । एक जना घाइते उपचाररत छन् । उनको स्वास्थ्य स्थिति सामान्य छ ।

पशुपतिनाथ मन्दिरमा मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । भक्तजनको मागअनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो । पशुपति क्षेत्रमा मङ्गलबार बिहानदेखि लागेको भीड आज बिहानसम्म पनि उत्तिकै रहेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । महाशिवरात्रिमा विशेषगरी बेलुकीदेखि भोलिपल्ट बिहानसम्म नै भक्तजनको भीड लाग्ने गर्छ । बिजुली बत्तीको झिलीमिलीले पशुपति क्षेत्रलाई आकर्षक बनाएको थियो । रात्रिमा पशुपतिनाथमा विधिपूर्वक चार प्रहरको पूजा गरिने भएकाले भक्तजनको भीड लाग्ने गरेको हो ।

करिब १० लाखले गरे पशुपतिनाथको दर्शन

बिजुली बत्तीको आकर्षण हेर्न बेलुकी भक्तजन ओइरिएका थिए ।  महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक चार प्रहर पूजा गरिएको छ । पशुपतिनाथ मूल मन्दिर प्रवेश गरी करिब १० लाख भक्तजनले दर्शन गरेको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा बिहान र दिउँसोभन्दा राति धेरै भक्तजन आएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । राजलवटले महाशिवरात्रिका अवसरमा बिहानदेखि रातिसम्म गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनेको चिया भक्तजनलाई खुवाउनुभएको थियो । गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलोका पोका पनि भक्तजनलाई निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।

गोकर्णेश्वरमा जम्मा भए हजारौँ भक्तजन

यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि मङ्गलबार रातिसम्म नै भक्तजनको भीड लागेको थियो । गोकर्णेश्वर मन्दिर क्षेत्रलाई पनि बिजुली बत्तीले झिलीमिली बनाइएको थियो । पशुपतिनाथमा श्रीयन्त्रको पूजा आराधना हुने र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ । श्रीयन्त्रको पूजा आराधनामा सहभागी हुनेले फल प्राप्तिका लागि बालयन्त्रको पूजा आाराधनामा पनि सहभागी हुनुपर्ने शास्त्रीय मान्यता भएकाले पनि पशुपतिनाथ आएका केही भक्तजन गोकर्णेश्वर आउने गर्छन् ।

भक्तजनका कारण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएको फोहर आज बिहान सफाइ गरिने भएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ गर्न लागिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । मञ्चले गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको छ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको मञ्चले प्रत्येक हप्ताको शनिबार नियमितरूपमा बिहान दुई घण्टा गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्छ ।

नागेश्वरमा पनि भक्तजनको भीड

नागेश्वर महादेव मन्दिरमा पनि मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । नागेश्वरमा ६ ब्राह्मणद्वारा चारै प्रहर पूजा आराधना एवं रुद्राभिषेक गरिएको थियो । उक्त पूजा प्रत्येक वर्ष महाशिवरात्रिका अवसरमा गरिन्छ । नागेश्वरमा महाशिवरात्रिका अवसरमा रातिसम्म नै भक्तजनको भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले जानकारी दिनुभयो ।

मन्दिरमा बिहानदेखि रातिसमम हजारौँ भक्तजनले पूजा आराधना एवं दर्शन गरेका छन् । महाशिवरात्रिमा नागेश्वरको दर्शन गर्नाले मुद्दा मामिलाबाट छुटकारा पाउनुका साथै श्री प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको अध्यक्ष रायमाझीले बताउनुभयो । यसैगरी राजधानी र देशभरका शिवालयमा पनि रातिसम्म नै भक्तजनको भीड लागेको थियो । मध्यरातमा फागुन कृष्ण चतुर्दशी तिथि परेका दिन प्रत्येक वर्ष महाशिवरात्रि पर्व पर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!