फ्रिजमा लामो समयसम्म खाना राख्दा के हुन्छ ? कति समयसम्म फ्रिजमा राख्दा उपयुक्त !

Posted on: 13 Oct, 2022

असोज २७, काठमाडौं | प्रविधिले हाम्रो दैनिक जीवनयापन निकै सहज बनाइदिएकाे छ । पछिल्लो समय घरमा स-सानादेखि ठूला कामका लागि पनि विद्युतीय उपकरणको प्रयोग बढ्न थालेको छ । लुगा धुनका लागि वासिङ मेसिन, घरका कोठा सफा गर्नका लागि भ्याकुम क्लिनर, खाना पकाउन इन्डक्सन चुलो वा माइक्रोवेभ र खाना सुरक्षित रूपमा भण्डारण गर्नका लागि फ्रिज (रेफ्रिजेरेटर) । विशेषगरी खानालाई सुरक्षित तरिकाले भण्डारण गर्नका लागि फ्रिज बढी प्रयोग गरिन्छ । कतिपय अवस्थामा खानेकुरा (पेय पदार्थ) चिसो बनाउन पनि फ्रिजको प्रयोग भएको हुन्छ ।


सामान्यतः घरमा प्रयोग हुने फ्रिज खानालाई लामो समयसम्म भण्डारण गर्नका लागि प्रयोग गरिन्छ । लामो समयसम्म खाना फ्रिजमा राख्दा पनि त्यो खाना स्वस्थ हुन्छ भन्ने धेरैको बुझाइ हुन्छ । के साँच्चै खाना लामो समयसम्म फ्रिजमा राख्दा त्यो स्वस्थ नै हुन्छ त ? आज हामी यसै विषयमा विशेष जानकारी दिदैँछौ ।

सामान्यतः खानालाई फ्रिजमा साँझ राखेर बिहान खाने वा बिहान राखेर साँझ खाने गरिन्छ । कतिपय त्यस्ता खाना हुन्छन्, जसलाई लामो समयसम्म भण्डारण गर्नुपर्ने हुन्छ । खाना फ्रिजमा राख्दा खाना स्वस्थ हुन्छ भन्ने बुझाइ हुनु स्वभाविक नै हो । तर, कति समसयसम्म राख्दा स्वस्थ वा खानलायक हुन्छ त ? खाना फ्रिजमा कति तापक्रममा राखिएको छ र कति समयसम्म राखिएको छ भन्ने कुराले नै खाना स्वस्थ वा अस्वस्थ छ भन्ने कुरा निर्धारण गरेको हुन्छ ।

खाना कति समयसम्म फ्रिजमा राख्दा खान उपयुक्त हुन्छ त ?

सामान्यतः खानालाई तीनदेखि चार दिनसम्म फ्रिजमा राख्दा खाना योग्य हुन्छ । शारीरिक स्वास्थ्यसँग सम्बन्धित गैरनाफामूलक संस्था मायोक्लिनिकका अनुसार खाना फ्रिजमा राखेको चार दिनपछि पोइजनिङको जोखिम बढ्दै जान्छ । यदि कुनै पनि खाना फ्रिजमा चार दिनभन्दा बढी राख्नुपर्ने अवस्था आयो भने त्यसलाई फ्रिज (न्यून तापक्रममा जमाएर राख्ने) गर्नुपर्ने हुन्छ ।

फ्रिज गरिएको खाना तीनदेखि चार महिनासम्म खानका लागि उपयुक्त हुन्छ । साधारण तरिकाले फ्रिजमा चार दिनभन्दा बढी खाना राख्दा उक्त खानामा भएको ब्याक्टेरियाको सङ्ख्या बढ्दै जान्छ । चिसोमा राख्दा खानाको ब्याक्टेरिया मर्छ भन्ने भ्रम राख्नु पनि गलत हो । कतिपय ब्याक्टेरियाका यस्ता प्रजाति पनि छन्, जो अत्यन्तै न्यून तापक्रममा सक्रिय हुने गर्छन् । त्यस्तै कतिपय यस्ता प्रजातिका ब्याक्टेरिया हुन्छन्, जो अत्यन्तै धेरै तापक्रममा पनि जीवित रहन्छन् । त्यसैले खाना धेरै दिन फ्रिजमा राख्दा चिसोमा सक्रिय हुने हानिकारक ब्याक्टेरिया बढेर खाना अस्वस्थ हुनसक्छ ।

यसरी लामो समयसम्म फ्रिजमा राखेको खाना खाँदा हामीलाई फुड पाेइजनिङ वा भनौँ फुडब्रोन इलनेस हुनसक्छ । खानामा फरक गन्ध आएन भने हामीलाई उक्त खाना स्वस्थ छ वा भनौँ ताजा छ भन्ने लाग्छ । तर, सबै अवस्थामा यो विचार लागू हुँदैन । खानामा कतिपय यस्ता हानिकारक ब्याक्टेरिया पनि हुने गर्छन्, जसले खानाको स्वाद वा गन्धमा कुनै प्रभाव पार्दैनन् । तर, उक्त खाना हामीले खाएको अवस्थामा हामी रोगी हुन सक्छौं ।

त्यसैले लामो समयसम्म फ्रिजमा राखेको खानामा कुनै प्रभाव नपर्दा खाना स्वस्थ छ भन्ने हुँदैन । त्यस्तो खाना तीनदेखि चार दिनसम्म खान सकिएन भने हटाउँदा नै उपयुक्त हुने विज्ञहरू बताउँछन् । ४ डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियसको तापक्रम त्यस्तो तापक्रम हो जहाँ ब्याक्टेरिया तीब्र गतिमा वृद्धि हुने गर्छन् । त्यसैले तातो खाना ६० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम र चिसो खाना ४ डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्नुपर्ने हुन्छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!