बारीमै कुहियो बन्दागोभी

Posted on: 08 Aug, 2017


प्रकाश धौलाकोटी/साउन २४, तेह्रथुम । किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ । 

गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेको हो । बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दागोभी समेत बाटोमै कुहिएपछि व्यापारीले किसानबाट खरिद गर्न छाडेका छन् । बन्दागोभी बारीमै कुहिन थालेपछि किसान चिन्तामा परेका छन् । 

सिधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङका अनुसार एक सातायता करिब रु १५ करोड बराबरको बन्दागोभी कुहिएको छ । “बन्दागोभीमा रोगको संक्रमण छ, टिपेर बेच्न लैजाँदा पनि गाडीमै कुहिन थालेको छ,” उहाँले भन्नुभयोे । तीन वर्षअघि समेत यस क्षेत्रमा बन्दागोभीमा गाँठे रोगको प्रकोप देखिएको थियो । त्यतिबेला नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानको बारीमै आएर रोगबारे अनुसन्धान गरेको थियो । 

दुई वर्षपछि सो रोग पुनः देखा परेको छथर गाउँपालिका–१, आङ्दिमका कृषक टीका लिम्बू बताउनुहुन्छ । शुरुमा बन्दागोभीमा मात्रै देखिएको सो रोग अहिले अन्य बालीमा समेत फैलिएको छ । काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगमलगायतमा गाँठे रोग फैलिएको छ । 

“बजार पठाउने बेलामा रोगले आक्रमण गरेपछि तरकारी बारीमै कुहिन थालेको छ,” उहाँले भन्नुभयो । बारीमै बन्दागोभी कुहिएपछि रु पाँच लाख बराबरको घाटा भएको लिम्बुको भनाइ छ । छथर गाउँपालिका र लालीगुराँस नगरपालिकाका विभिन्न ठाउँमा सो रोग देखापरेको छ । बन्दागोभीकै आम्दानीबाट यहाँका किसानको घरखर्च जुटाउँछन् । अरु अन्नबालीको खेती छाडेर उनीहरुले बन्दागोभीको व्यावसायिक खेती गर्दैआएका छन् । 

लालीगुराँस नगरपालिका चित्रेका किसान जगत काफ्ले विगतमा प्रतिकिलो रु १० देखि रु ३५ सम्ममा कारोबार भएको बन्दागोभी यस वर्ष रु तीनमा बिक्री भइरहेको बताउनुहुन्छ । उचित मूल्य नपाउँदा किसानले करोडौँ रुपैयाँको घाटा बेहोरेका छन् । बन्दागोभी मात्रै लगाएका किसानलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । बारीमा बन्दागोभी रोप्दा बीउ, प्लास्टिक, मल, विषादी, बारीको खनजोत र कामदारलगायत गर्दा रु दुई लाख ५० हजारभन्दा बढी खर्च भएको काफ्लेको भनाइ छ । 

काफ्लेले ३० रोपनी जग्गामा लगाएको रु १५ लाख बराबरको बन्दागोभी बारीमै कुहिएको छ । उहाँले गत वर्ष रु १४ लाखको बन्दागोभी बिक्री गर्नुभएको थियो । “बिक्री गर्ने बेलामा रोग लाग्दा नोक्सानी बेहोर्नु प¥यो,” उहाँले भन्नुभयो । यहाँका किसानले उत्पादन गरेको बन्दागोभी धनकुटाको सिधुवा हुँदै धरानको कृषिउपज बजारसम्म पुग्छ । 

किसानबाट खरिद गरेको बन्दागोभी दुई दिनमै कुहिएर नष्ट हुन थालेपछि व्यापार ठप्प भएको धरानका व्यापारी शिवचन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष तेह्रथुम र धनकुटाबाट खरिद गरेको बन्दागोभी धरान नपु¥याउँदै कुहिएको छ । “कुहिएकाले भारत निर्यात गर्न सकेका छैनाँै,” उहाँले भन्नुभयो । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले रोग प्रभावित क्षेत्रका किसानलाई फरक प्रकृतिको खेती गर्न सुझाव दिएको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!