2026-06-27 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ताप्लेजुङमा अलैँची गोदाममै थन्किएपछि सरकारसँग कृषकको गुहार

2017-09-19

सन्तोष पुर्कुटी ।असोज ३, ताप्लेजुङ। “गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु”, आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसार्इंले टेलिफोनमा भने । 

नर्सरीबाटै सिन्धुपाल्चोकसम्म मनग्य बिरुवा बेच्न सफल भएका प्रसाईंले हौसिएर यसपटक नर्सरीमा थप लगानी पनि बढाए । तर हुर्किएका बिरुवा सोचेजस्तो बिक्री नभएपछि उनलाई हैरानी भएको छ । 

यता, लामो समयदेखि व्यावसायिकरुपमा नर्सरी गर्दै आएका स्थानीयवासी अर्का कृषक भिङ्मारे लिम्बूले पनि आफूले हुर्काएका बिरुवा बिक्री नभएको सुनाउँछन् । उनले भने, “नर्सरीमै फुल्न थालिसक्यो । उखेलेर फाल्नु पनि कसरी ? लगानी खेर जाने भयो ।” उता सिरिजंघा–७ खेवाङका नेत्र आचार्यको पनि समस्या उस्तै छ । यी त उदाहरणका पात्र मात्रै हुन् । जिल्लाका दर्जनौँ कृषकले दानाबाट नर्सरी गरेर उमारेको बिरुवा बारीमै थन्किएका छन् । 

अलैँचीखेती विस्तारमा कमी आएसँगै अपेक्षाकृतरुपमा बिरुवा बिक्री नभएको हो । मूल्य आकाशिएपछि खेतबारी नै मासेर अलैँचीको खेती विस्तार गर्न थालेका किसानले मूल्यमा आएको कमी र विभिन्न रोग कीरा लाग्न थालेपछि अहिले खेती विस्तार गर्ने क्रम घटेको हो । 

अलैँचीको बजार र मूल्य घटेपछि अलैँची किसान निकै चिन्तित बनेका छन् । बजारभाउ अहिलेकै अवस्थामा कायम रहे अलैँची हटाएर पुरानै खेती गर्ने सोच कतिपय किसानको छ । सिदिंवा गाउँपालिकाका कृषक भूपाल मङ्रातीले बजार र मूल्यको अवस्था यस्तै रह्यो भने पुरानै खेती गर्ने सोच बनाएका छन् । अलैँची व्यवसायकै सन्दर्भमा सञ्चालित एक गोष्ठीमा सहभागी हुन सदरमुकाम आएका मङ्रातीले भने, “वर्षभरि खान पुग्ने खेतबारी मासेर अलैँची रोपियो । त्यसमाथि सिँचाइलगायतका काममा ठूलो खर्च गरियो तर यही अवस्था रहिरह्यो भने कुनै फाइदा छैन । उल्टै ऋण लाग्ने भयो ।” 

भिरालो जंगल क्षेत्रमा खेती गर्न सकिने भए पनि खेतबारी नै मासेर भने खेती गर्न नसकिने मङ्राती बताउँछन् । वर्षभरिमा एउटै जमिनबाट उत्पादन हुने अन्नपात, तरकारी, फलफूल, घाँसपात आदिको हिसाब गर्दा हालको बजारभाउमा बेचिने त्यही उत्पादित अलैँचीको मूल्यको तुलनामा निकै बढी हुने कृषक बताउँछन् । 

विगतका वर्षहरुमा ताप्लेजुङमा बिरुवा पाउन निकै हम्मेहम्मे पथ्र्यो । यहाँ उत्पादित बिरुवाले नपुगेर बाहिरी जिल्लाबाट झिकाउनुपथ्र्यो । प्रतिबिरुवा रु आठदेखि रु १५ सम्ममा बिक्री हुने गरेको थियो । तर यो वर्ष भने रु पाँचका दरले पनि बिक्री गर्न नसकिएको कृषकको भनाइ छ । बेर्नाबाट भन्दा बीजबाट उत्पादित बिरुवा निरोगी र लामो समयसम्म उत्पादन दिने हुन्छ । तर सबैलाई यसबारे जानकारी नहुनु पनि थप समस्या रहेको बिरुवा उत्पादकहरु बताउँछन् । यता जिल्ला कृषि विकास कार्यालयमा पनि यो वर्ष कृषकबाट भनेजस्तो माग नआएको कार्यालयले जनाएको छ । 

अलैँची पनि गोदाममै थन्कियो 

गत वर्षको यही समयमा अलैँची व्यापारीका गोदाममा नयाँ अलैँचीका बोराले प्रवेश पाउँथे । तर अहिले पुरानै अलैँचीले गोदाम छाडेको छैन । क्रमशः घट्दै गएको भाउ बढ्छ कि भन्ने आशामा बिक्री नगरी राखिएको अलैँचीको कारोबार अहिले पूरै सुस्ताएको छ । 

प्रतिमन (४० किलो) को रु ८० हजारभन्दा बढी मूल्यमा खरिद गरेर राखिएको अलैँचीको भाउ क्रमशः घट्दै गएपछि कारोबार नै नभएको हो । अलैँची व्यवसायी बुद्ध दाहालले गत वर्ष ८० हजारदेखि एक लाख रुपैयाँसम्ममा किनेर राखिएको अलैँची अहिले पनि गोदाममै थन्किएको बताएका छन् । उनले भने, “बेचौँ ठूलो घाटा हुन्छ, राखौँ त गोदाममै ढुसी पलाएर कुहिने भयो ।” अलैँचीको मूल्य घटेपछि किसानमात्रै नभई कारोबारमा संलग्न व्यवसायीसमेत डुबेका छन् । 

एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ओलाङ्चुङ्गोलाबाहेक सबै क्षेत्रको कूल चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिन्छ । प्रतिमन रु एक लाखको हाराहारीमा भाउ चल्दा यो जिल्लाबाट रु पाँच अर्बभन्दा बढीको अलैँची निर्यात भएको थियो । 

नेपाली अलैँचीको ट्रेडमार्क हुनुपर्यो 

खोल्सीको कालो सुन उपनामले चिनिने पहाडी क्षेत्रको मुख्य नगदे बाली अलैँचीको गुणस्तर वृद्धि गर्न र अन्तर्राष्ट्रियरुपमा बजारीकरण गर्न सरकारले प्रभावकारी कदम नउठाउँदा यस्तो समस्या आएको अगुवा कृषक तथा अलैँची व्यवसायी बताउँछन् । 

एकजना अगुवा कृषक उद्योगनाथ अधिकारीले सरकारी उदासीनताका कारण अलैँचीले बजार र मूल्य पाउन नसकेको बताए । यता अलैँची व्यवसायी संघका जिल्ला अध्यक्ष बालमणि बरालले भने, “सरकारले अलैँचीको गुणस्तर वृद्धि गर्न र अन्तर्राष्ट्रिय बजारीकरणका लागि नीतिगतरुपमा काम गर्न सके राम्रो हुने थियो ।” उनले थपे, “नेपालको अलैँची राम्रो भए पनि विभिन्न मुलुक हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउँदा नक्कली वस्तुको मिसावट हुने गरेकाले यहाँको विश्वसनीयता घट्दै जाँदा समस्या भयो । यसका लागि नेपाली ट्रेडमार्कको आवश्यकता छ । यसमा राज्यले ध्यान दिनुपर्छ ।” 

नेपालबाट छिमेकी मुलुक भारत साथै पाकिस्तान हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने अलैँचीमा नक्कली अलैँचीको मिसावट हुने गरेकाले नेपालको अलैँचीले बजार र मूल्य नपाएको यहाँका व्यवसायीको भनाइ रहेको छ । 

व्यवसायी आचारसंहिता निर्माण गर्दै 

अलैँचीको उत्पादन र गुणस्तर वृद्धि गर्न पूर्वका अलैँची कृषक, व्यवसायी र सरोकारवाला संघसंस्थाबीच गम्भीर छलफल भएको छ । अलैँचीको बजार र मूल्य खस्कँदै गएपछि यसको गुणस्तर वृद्धि गर्न र बजारीकरणलाई सहज बनाउन आचारसंहिता बनाउने विषयमा उनीहरु बीच छलफल भएको हो । 

हालै सदरमुकाम फुङ्लिङमा अलैँची व्यवसायीले आचारसंहिता तयारी तथा कार्यान्वयन गोष्ठीको आयोजना गरी आचारसंहिताको नमूनासमेत तयार पारेका छन् । सो गोष्ठीमा सहभागी कृषक, व्यवसायी एवं सरकारी तथा गैरसरकारी संघसंस्थाबीच गम्भीर छलफल हुनाका साथै आचारसंहिताका लागि ५१ बुँदे आचारसंहिताको नमूनासमेत तयार गरिएको छ । कृषक, अलैँची व्यवसायी र सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले आफूहरुले पालना गर्नुपर्ने नियम आफैँ तयार गरेका छन् । यो आचारसंहिताले अन्तिम रुप पाएको खण्डमा कृषकले अलैँचीखेती लगाउनुपूर्व माटोको परीक्षण, जमिनको उचाइ, मोहडा आदिको पहिचान गर्नुपर्ने भएको छ भने तयारी अलैँची वर्गीकरण गरी छुट्टाछुट्टै पोका बनाई बजार पुर्याउनु पर्ने छ । यसैगरी खेतीमा रासायनिक मलको प्रयोग गर्न नपाइनेलगायतका विषयलाई समेत यसमा समेटिएको छ । 

यता सरकारी निकायले भने अलैँचीको अन्तर्राष्ट्रिय बजारको खोजी र व्यवस्थापन गर्नुपर्ने छ भने अलैँचीसम्बन्धी नीति निर्माण गरी कार्यान्वयन गर्नु पर्ने छ । यस्तै, व्यवसायीले उचित मूल्य निर्धारणमा बाह्य र आन्तरिक बजारको व्यवस्थापन गर्नुपर्ने, गुणस्तर खस्कन नदिन अलैँचीलाई सुख्खा ठाउँमा भण्डारण गर्नुपर्ने, डिजिटल तौल मापकसँगै ढक राख्नु पर्नेलगायतका नियम पालना गर्नुपर्ने छ । 

उक्त गोष्ठी अलैँची व्यवसायी संघ ताप्लेजुङले आयोजना गरेको हो । कृषि विकास मन्त्रालय, अन्तर्राष्ट्रिय श्रम संगठन र उन्नति परियोजनाको सहयोगमा अलैँचीको क्षेत्रमा यो संस्थाले काम गर्दै आएको छ । पछिल्लो समय अलैँचीको गुणस्तर एवं बजार र मूल्य खस्कँदै गएपछि यसलाई थप वृद्धि र विस्तारका लागि यस्तो आचारसंहिता बनाउन लागिएको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले बताउनुभएको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी