२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘एक वडा, एक महिला कृषि सहकारी’

२०७७, ६ असार शनिबार ०३:४६

असर ६, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकामा ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था स्थापनाको काम शुरु गरिएको छ । आफूखुशी एक्लाएक्लै व्यवसाय गर्दै आएका महिलालाई एकताबद्ध गराएर उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाकै नीति तथा कार्यक्रमअन्तर्गत हरेक वडामा महिला कृषि सहकारी संस्था स्थापनाको काम शुरु गरिएको हो । 

फलफूल तथा तरकारी खेती, सिन्के धुप उत्पादन, व्यापार व्यवसायलगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यमसम्बन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन हरेक वडामा एउटा महिला कृषि सहकारी स्थापनाको काम शुरु गरिएको नगर उपप्रमुख विमला राईले बताउनुभयो । “महिलालाई सङ्गठिन गर्दै व्यापार व्यवसायमा संलग्न गराउने र त्यसबाट आउने आम्दानीलाई बचत गर्दै उत्पादनमूलक ठाउँमा खर्च गर्ने बानीको विकास गराउने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो, “नगरपालिकाको नीति तथा कार्यक्रमअनुसार चालु आर्थिक वर्षबाटै सबै वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइने छ ।”

यसअघिदेखि नै कृषि सहकारी संस्था स्थापना गरेका वडा नम्बर–७ महादेवस्थानस्थित हलेसी कृषि महिला सहकारी संस्थामा आबद्ध महिलालाई नगरपालिकाले सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धिसम्बन्धी अभिमुखीकरण चार दिने तालीमसमेत दिएको छ । कृषि सहकारी दर्ता गरिसकेपछि सहकारी सञ्चालन तथा व्यवस्थापन, संस्थागत तथा व्यक्तिगत क्षमता विकास, आयआर्जन, बचत तथा लेखा व्यवस्थापनसम्बन्धी महिलाको क्षमता अभिवृद्धि गराउन अभिमुखीकरण तालीमको आयोजना गरिएको हो । 

चार महिनाअघि नगरपालिकामै दर्ता गरेर सञ्चालनमा ल्याइएको महिला कृषि सहकारी संस्थाले रु नौ लाख बचत गरेको सो सहकारी संस्थाले रु छ लाख लगानी गरिसकेको जनाइएको छ । महादेवीस्थानमा सञ्चालित महिला कृषि सहकारीमा हलेसी बजार आसपासका १६५ महिला आबद्ध रहेका छन् । 

त्रिधार्मिकस्थल हलेसी बजार आसपासका महिलाको पहलमा स्थापना गरिएको हलेसी कृषि महिला सहकारी संस्थाले भवन निर्माणका लागि जग्गासमेत जुटाइसकेको जनाइएको छ । सो कृषि सहकारी संस्थाको भवन निर्माणको काम नगरपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा चालु आर्थिक वर्षबाटै शुरु हुने उपप्रमुख राईले बताउनुभएको छ । 

एघार वडा रहेको सो नगरपालिकाको वडा नम्बर–३ च्यास्मिटार र वडा नम्बर–६ मङ्गलटारमा पनि महिला कृषि सहकारी दर्ता भइसकेको छ । क्रमशः वडा नम्बर–२ डिकुवा, वडा नम्बर–४ बडहरे, वडा नम्बर–९ सल्लेलगायतमा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइसकिएको छ । 

हरेक वडामा स्थापना गरिने सहकारीका लागि नगरपालिकातर्फबाट बीउ पूँजी पनि उपलब्ध गराइने नगरप्रमुख इवन राईले बताउनुभयो । “एक सहकारी एक उत्पादन नीतिअन्तर्गत च्यास्मिटारका महिलालाई व्यापार व्यवसाय, बहडरेका महिलालाई सिन्के धुप उत्पादन, हलेसीका महिलालाई फूल, तरकारी र ढाका बुनाइसम्बन्धी व्यवसायमा संलग्न गराउने नगरपालिकाको तयारी छ”, उहाँले भन्नुभयो, “विभिन्न वडाका महिलाले सहकारी संस्थामार्फत उत्पादन गरेको थोकवस्तु बिक्री वितरणका लागि हलेसीमा कोसेली घर वा सङ्कलन केन्द्र सञ्चालन गरिनेछ ।”

व्यवसाय सञ्चालनका लागि महिलालाई सम्बन्धित व्यवसायका विषयमा सीपमूलक तालीमको व्यवस्था गरिएको छ । नगरपालिकाको नीतिअनुसार नै वडावडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको हो । दश स्थानीय तह रहेको जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले यसअघि ‘एक वडा, एक दलित सहकारी’ संस्था स्थापना गरेको थियो । परम्परागत पेशा सिलाइ/कटाइ तथा आरन व्यवसाय गर्दै आएका सो गाउँपालिकाका दलित समुदाय गाउँपालिकाले आफ्नै नेतृत्व र स्वामित्वमा सहकारी संस्था स्थापना गरिदिने भएपछि हर्षित भएका छन् । 

तीन हजार ७५२ घर स्थानीय बासिन्दाको बसोबास रहेको सो गाउँपालिकामा ३८० घर दलित परिवार रहेका छन् । बालीघरे प्रथाको रुपमा काम गर्दै आएका सो गाउँपालिकाका दलित समुदाय सहकारीमार्फत बचत गर्ने बानीको विकास भएपछि अहिले आयमूलक व्यवसाय गर्नमा हौसिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस