–प्रभात सुवेदी |
‘भ्रमण’ भन्ने वित्तिकै घुम्ने काम वा घुमाई भन्ने बुझिन्छ । मानिस स्वभावैले एकै स्थानमा बस्न चाहाँदैन । परिवर्तनको अपेक्षा हरबखत गरिरहन्छ । कुनै नयाँ स्थानमा गएर नयाँ नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका सदस्यहरुलाई बाँड्ने उत्कण्ठा हरपल बोकिरहेको हुन्छ मानिसले । कुनै पनि व्यक्तिले जति कुरा एउटै स्थानमा बसेर सिक्दछ त्यो भन्दा पनि बढी कुरा देश विदेशको भ्रमणबाट सिक्दछ । अझ अर्को कुरा के भने भ्रमणबाट सिकेका कुराहरुलाई उसले आफ्नो हैसियत अनुरुप व्यवहारिक रुपमा लागू गर्न सक्षम पनि हुन्छ ।
जीवनलाई अनुभवहरुको संगालो पनि भनिन्छ । त्यसैले अनुभवहरुबाट आफ्ना अनुभूतिहरुलाई निखार्दै अगाडि बढ्नका लागि भ्रमण अत्यन्तै महत्वपूर्ण हुनुपर्दछ । अनुभवका आधारमा नै मानिसले आफ्नो भविष्यको मार्गचित्र पहिल्याउँछ र सोही मार्गचित्रमा रहेर आफ्ना भविष्यका लक्ष्यहरुमा मलजल गर्ने मौका प्राप्त गर्दछ । अझ आफ्नो मन मिल्ने साथीहरु तथा घरपरिवारका सदस्यहरुसँग गरिएको भ्रमणबाट भने धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । त्यसैले पनि जीवनमा भ्रमणले मानिसलाई परिपक्वतातर्फ उन्मुख गर्नका लागि मद्दत पुर्याउँदछ ।
आजभोलि विद्यालयका बालकालिकाहरुको भ्रमणको लहर नै चलेको छ । खासगरी कात्तिक, मंसिर महिना भनेको भ्रमणको लागि उपयुक्त मौसमको महिना पनि मानिन्छ । विद्यालयमा अर्धवार्षिक परीक्षा सकिएपछि वार्षिक रुपमा नै योजना बनाएर आजभोलि भ्रमण लाने प्रचलन बढ्दैै गएको छ । पहिले पहिले यस प्रकारको चलन पनि थिएन तर आजभोलि सूचना, सञ्चार र यातायातको सुविधाका कारणले गर्दा पनि भ्रमणको आवश्यकतालाई महशुस गरिएको छ ।
पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउँदछ । भ्रमणलाई मात्र भ्रमणका रुपमा सिमित नगरि यसलाई उपलब्धीमूलक बनाउन सकेमा मात्रै भ्रमणका लगि गरिएको लगानी अत्यन्तै फलदायी हुन्छ । अझ बालबालिकाहरुका लागि गराईने शैक्षिक भ्रमणहरुमा भने विशेष योजना बनाएर उनीहरुलाई सिक्नका लागि प्रसस्त समय व्यवस्थापन गर्नु जरुरी छ । भ्रमणलाई मनोरञ्जनका रुपमा मात्रै लिइनु हुँदैन । कुनै पनि नयाँ नयाँ स्थानहरुमा पुग्नासाथ आफूलाई रुची लागेको क्षेत्रहरुका बारेमा कुनै पनि ऐतिहासिक वा पुरातात्विक महत्वका क्षेत्रहरुका सन्दर्भमा जानकारी लिने र त्यसका बारेमा टिपोटहरु तयार गर्नका लगि समय दिनु पर्दछ । यसरी तयार गरिएका टिपोटहरुबाट यात्रा संस्मरण वा नियात्रा लेख्न पनि सकिन्छ । नभए यसबाट प्राप्त अनुभवहरुको आधारमा प्रतिवेदन तयार गराउन पनि सकिन्छ ।
विश्वमा हिजो जे थियो त्यो आज छैन, आज भएको कुरा भोलि नहुन सक्दछ र भोलिका कुराहरु पनि विस्तारै पर्सीका कुराहरुले विस्थापित गर्दै जानेछन् । यसको तात्पर्य के हो भने समयसँगै विश्व परिवेश र हामीले प्रयोग गर्ने साधन र स्रोतहरुमा व्यापक परिवर्तन आएको छ । हिजोका दिनमा हामीले फोटो खिच्नका लागि रिल (फिल्म) लोड गरेर विग्रिन्छ कि भनेर डराइडराईकन ‘रेडि एक, दुई, तीन…’ भनी भनीकन फोटो खिच्नु पर्दथ्यो भने अब त्यो समय रहेन । एकै क्षणका तमाम सटहरु लिएर त्यसबाट छानी छानीकन राम्रा तस्वीहहरु राख्न सकिने स्मार्ट प्रविधिको विकास भैसकेको छ । अझ जमाना नै पुरै सेल्फि भैसकेको अवस्था छ । बालक देखि युवा र जेष्ठ नागरिकहरु पनि सेल्फिमा रमाइरहेको अवस्था छ । त्यसैले यस प्रकारका प्रविधिहरुलाई पनि आफ्नो भ्रमणका साधनहरुका रुपमा सदुपयोग गर्न सकिन्छ । कुनै ऐतिहासिक स्मारकहरुका तस्वीरहरु लिएर ती तस्वीरहरुका आधारमा नै भ्रमणका बारेमा जानकारीमूलक आलेख वा स्मरणात्मक अनुभवहरु लेख्न सकिन्छ । तर, विडम्बना भ्रमणमा खिचिएका तस्वीरहरु सामाजिक सञ्जालका भित्ताहरु पोत्नका लगि मात्रै प्रयोग गरिएको जस्तो देखिन्छ । यो भने राम्रो हैन तर त्यसैलाई जानकारीमूलक ढंगबाट पोस्ट गर्नु भने निकै राम्रो मान्न सकिन्छ ।
भ्रमणका लगि विद्यार्थीहरुलाई लगिँदैछ भने विद्यालयले पहिले नै शिक्षक स्टाफहरुसँग बसेर आवश्यक छलफल गरेर एउटा ठोस निर्णयका साथ योजना र रणनीति तय गर्नु पर्दछ । र, सोही योजना अनुरुप जिम्मेवारी बाँडफाँड गरेर भ्रमणका लगि जानु पर्दछ । भ्रमण यस्तो होस् कि हरेक पल र समयमा बालबालिकाहरुले केही कुराहरु सिक्दै जाउन् र सिकेका कुराहरुलाई आफ्नो डायरी वा कपीमा नोट गर्दै जाउन् । अलि लामो भ्रमण छ भने भ्रमणको समय सकिएपछि साँझ बास बस्ने स्थलमा बसेर समीक्षात्मक छलफल गरेर भोलिको योजना तय गर्नु पर्दछ । कहिँ कतै कुनै पनि समस्या आएको छ भने समयमा नै त्यो समस्याको उचित समाधान खोजिनु पर्दछ ।
भ्रमणका समयमा खानपानमा पनि ध्यान दिनु जरुरी छ । संभव भएसम्म घरबाट नै तयार गरिएका सुख्खा खानेकुराहरु लैजानका लागि बालबालिकाहरुलाई प्रेरित गरिनु पर्दछ । यसो हुन सकेन भने भ्रमण अवधि नै निरस हुन पुग्दछ । यसका साथै बालबालिकाहरुलाई मौसम अनुकूकलका लुगाहरु लैजान र समुचित प्रयोगका लागि सरसल्लाह दिनु पर्दछ । रात्री बसमा यात्रा गर्नु छ भने बालबालिकाहरुका लागि सोही अनुसार बाटोघाटोको संरचना तथा अपनाउनु पर्ने सावधानीका बारेमा पनि विशेष ख्याल राख्नका लागि सचेत गराउनु पर्दछ ।
कुनै पनि स्थलहरुको अवलोकनका क्रममा पालना गर्नु पर्ने अनुशासनका नियमहरुका बारेमा पनि बालबालिकाहरुलाई पहिले नै जानकारी गराउनु पर्दछ । कुनै वगैंचा, चिडियाखाना तथा सङ्ग्रहालयहरुको अवलोकनका निमित्त लैजाँदा पंक्तिबद्ध हुने, पालो पर्खिने, त्यहाँ राखिएका बस्तुहरुलाई जथाभावी नचलाउने र बार तथा पर्खालहरुमा नचढ्ने, तस्वीर खिच्नका लागि निषेधित गरिएका स्थलहरु भएमा सो को बारेमा पनि जानकारी गराउनु पर्दछ । कुनै पनि स्थलमा रहेका शिलालेख तथा स्मारकहरुका बारेमा तस्वीर खिच्ने र त्यसको बारेमा आवश्यक जानकारी लिनका लागि पनि स्थानीय सरोकारवालाहरुलाई अन्तर्वार्ता लिने र भरपूर जानकारी लिने अवसर पनि उनीहरुलाई दिनु पर्दछ । यसले गर्दा आत्मविश्वास र कौतुहलता जगाउने बानीको विकास हुन्छ । यसरी विकास गरिएको कौतुहलताले बालबालिकाहरुलाई सदा जिज्ञासु बनाइरहन प्रेरित गर्दछ । अर्को कुरा के भने बालबालिकाहरु स्वभावैले जिज्ञासु र हरेक कुरामा सजिलै आकर्षित भैहाल्छन् । बाटोघाटोमा बेच्न राखिएका बस्तुहरुका बारेमा पनि सजग बनाइरहनु पनि जरुरी छ । त्यसैगरी कुनै पनि धार्मिक स्थालहरुमा ढग्ने नियतले मानिसहरु बस्न सक्ने हुनाले सुरक्षाको लागि पनि विशेष सजगता अपनाउनका लागि सचेत गराइरहनु जरुरी छ ।
भ्रमण सम्पन्न गरेर फर्किएपछि पनि भ्रमणका सन्दर्भमा आफूले प्राप्त गरेका अनुभव तथा अनुभूतिहरुलाई संकलन गरेर त्यसको बारेमा प्रतिवेदन, आलेख, चिनारी तथा नियात्रा वा निवन्ध लेख्नका लगि प्रेरित गर्नु पर्दछ । कुनै दिन विद्यालयका सहकार्यकलापहरुमा यस्तो कार्यक्रमको आयोजना गरिदिने ताकि त्यो दिनमा बालबालिकाहरुले शैक्षिक भ्रमणबाट सिकेका कुराहरुलाई लिपीवद्ध गरेर प्रस्तुत गर्नेछन् । यसरी प्रस्तुत गरिएका प्रस्तुतीहरुकाबीचमा प्रतिस्पर्धा समेत गराएर उत्कृष्ट लेखनका लागि उचित पुरस्कार प्रदान गर्न सकिन्छ । यति मात्रै नभएर विद्यालयले त्यस प्रकारका पुरस्कृत लेखनहरुलाई हौषला दिनका लागि उनीहरुको तस्वीरसहित स्थानीय पत्रपत्रिकाहरु वा राष्ट्रिय स्तरबाट प्रकाशन गरिने पत्रपत्रिकाहरुमा प्रकाशन गर्नका लागि सहजीकरण गरिदिनु पर्दछ । यसका साथै यसरी लेखिएका विद्यार्थीहरुका अनुभूतीहरु संकलन गरेर वार्षिक रुपमा विद्यालयले एउटा मुखपत्र वा स्मारिका निकाल्न पनि सक्दछ । जुन विद्यालयको लागि एउटा ऐतिहासिक दस्तावेज हुनुका साथै भविष्यका लागि मार्गदर्शन पनि बन्न सक्दछ । यो शिक्षकहरुका लागि पनि सिकाइको अवसर बन्न सक्दछ ।
अतः शैक्षिक भ्रणम मनोरञ्जनमा मात्रै केन्द्रित नहोस् । वास्तविक रुपमा नाम जस्तै शैक्षिक हुन सकोस् । भ्रमण सिकाइमय र स्मरणात्मक बनाउनका लागि हरतरहले शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको सत्प्रयास हुनु जरुरी छ । तर, आजभोलि भ्रमणका नाममा विभिन्न विकृतिहरु पनि भएगरेका छन् । त्यस्ता विकृतिहरुप्रति सचेत हुँदै प्रत्येक बालबालिबाहरुका लागि आफ्नो भविष्यको सफल बाटो पहिल्याउनका सफल बन्नु नै भ्रमणको उद्देश्य हो भन्ने शन्देश छर्न सक्नु पर्दछ । मनोरञ्जनका लागि मात्रै फजुल खर्च गरेर अभिभावकहरुको मिहिनेत र पसिना खेर फाल्नु पक्कै पनि राम्रो हैन । यस कुरामा सबैको ध्यान जानु जरुरी छ ।
त्यसैले भ्रमण साँच्चिकै सुरक्षित होस्, सफल होस्, सिकाइमय होस्, फलदायी होस्, उर्जाशील होस्, शैक्षिक होस् मनोरञ्जनका लागि मात्रै नहोस् ।