जगाऔँ आत्मविश्वास के का लागि ?

Posted on: 04 Jan, 2017

प्रभात सुवेदी | मानिस स्वभावैले समाजमा आफूलाई स्थापित गर्न चाहन्छ । यसका लगि कुनै न कुनै माध्यमहरु आफ्नो जीवनमा अपनाइरहेको हुन्छ नै । कोही मानिसले समाज सेवाका माध्यमबाट, कोहीले आफ्नो सिपका माध्यमबाट भने कोहीले आफ्नो ज्ञानको माध्यमबाट आफूलाई समाजमा स्थापित गरेर अगाडि बढिरहेका हुन्छन् । यी विभिन्न क्षेत्रहरुका माध्यमबाट आफूलाई समाजमा स्थापित गरेर मानिस सफल हुने प्रयास गर्दछ किनकी सफलता नै मानिसको अन्तिम लक्ष्य पनि हो । 

सफलताका अनेकन परिभाषाहरु हुन सक्दछन् । मैले जुन कुरालाई सफलता मान्दछु अरु कोहीको विश्लेषणमा त्यो कुरा सफलता नुहुन सक्छ । त्यसैले यसको सर्वमानक परिभाषा पाउन सकिँदैन । तर पनि सफलता भन्ने कुरा मानिसको धैर्यता, सहास र आत्मविश्वासले नै प्राप्त हुने कुरामा कुनै पनि शःन्देह भने छैन । हरेक कामको लागि चाहिने महत्वपूर्ण कुरा भनेको नै आत्मविश्वास नै हो । आत्म विश्वास अर्थात आफूले आफैलाई विश्वास गर्ने प्रकृया । आफूले आफैलाई नै विश्वास गर्न नसकिरहेको अवस्था मानिसले गरेका कार्यहरु र जीवनमा नै विश्वास गर्न नसकिने अवस्था आउन सक्दछ । त्यसैले यसका लागि पनि सफलतालाई आत्मविश्वाससँगै जोडेर हेर्ने गरिएको छ । जति सुकै ज्ञानी र विद्वान मानिस भएपनि उसमा यदि आत्मविश्वास छैन र आफ्ना कुराहरु अभिव्यक्त गर्नका लगि उसँग कला वा सामथ्र्य छैन भने त्यो उसले लिएको ज्ञानको न त कुनै अर्थ हुन्छ न त कुनै महत्व नै । ज्ञान भनेको आफले सिक्न वा जन्नका लागि मात्रै हैन ज्ञान त यस्तो हुनुपर्दछ जसले संसारलाई हल्लाउन सकोस् वा समाजमा केही परिवर्तन ल्याउन सकोस् । 

यही प्रसङ्गमा भर्खरै मात्रै सार्वजनिक गरिएको पुस्तक “जगाऔँ आत्मविश्वास” को कुरा गर्न उचित सम्झेर आलेखको यो स्तम्भमा आफैलाई केन्द्रित गरेको हुँ । पाठकवर्गहरुले अन्यथा लिनुहुने छैन भन्ने कुरामा पूरापूर विश्वास राख्दछु । पछिल्लो समयमा अध्ययन र अध्यापन कार्यमा निकै पृथकता भैसकेको अवस्था छ किनकी हिजोको दिनमा हामीले जे जसरी सिक्यौँ, जान्यौँ ती तौर तरीकाहरु आज पुराना भैसकेका छन् । प्रविधिले आजका बालबालिकाहरुलाई निकै परिवर्तन गरेको अवस्था छ । ती परिवर्तनहरुलाई एउटा निश्चित आकारमा रुपान्तरित गरेर मात्रै आज शिक्षण सिकाइ क्रियाकलाप गर्नु पर्ने अवस्था आएको छ । त्यसैले आफ्नो शिक्षण यात्राको दुई दशकको समयमा जे जस्तो भोगाइ वा सिकाइ भयो त्यसकै आधारमा यो पुस्तकको तयार गरिएको हो । यसमा मूलतः अध्ययनमा लागेका र परीक्षामा सामेल हुने जो कोही विद्यार्थीहरुका लागि अत्यन्तै महत्वपूर्ण र व्यवहारिक विषयवस्तुहरु समेटिएका छन् । जस्तो कि परीक्षा केही पनि हैन यो विद्यार्थी जीवनमा आइरहने एउटा नियमित र सामान्य प्रक्रिया मात्र हो भन्ने धारणा दिँदै यसका लगि आम बालबालिकाहरु र सम्बद्ध सबैलाई जानकारी दिन खोजिएको छ भने अपेक्षित व्यवहार परिवर्तनका लागि पनि उत्प्रेरित गर्न खोजिएको छ । 

आत्मविश्वास हरेक कार्यमा आवश्यक पर्दछ । चाहे पढ्नका लागि होस् वा कुनै पनि काम गर्न वा बाँच्नकै लागि पनि किन नहोस् हामीलाई आत्मविश्वासको आवश्यता पर्दछ । एउटा अस्पतालको शैयामा छट्पटिइरहेको विरामीलाई पनि बाँच्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सकियो भने साँच्चिकै उसमा बाँच्नका लागि प्रेरणा अन्तरआत्माबाट नै जागृत हन्छ । त्यसैले यहाँ हरेक कामका लागि आत्मविश्वासको आवश्यकता परेको हो । परीक्षामा पनि विद्यार्थीहरुमा लेखनका लागि आत्मविश्वासको आवश्यकता पर्दछ । यदि यसो भएन भने विद्यार्थीहरुले जति पढेको प्रश्न आएतापनि त्यसको सही समाधान लेख्न सक्षम हुँदैनन् ।  

श्री विद्याज्योति माध्यमिक विद्यालय कालिका –७, कण्ठपुरको ४२औँ वार्षिकोत्सव समारोहको अवसरमा आयोजित विशेष कार्यक्रममा लोकार्पण गरिएको यो पुस्तकको अवधारणा एउटा सामान्य घटनाबाट आएको हो । घटना सामान्य हुन सक्छ तर यसले कसैको जीवनमा निकै ठूलो प्रभाव राख्न सक्दछ । कुरा के भने एसएलसी परीक्षा दिइरहेको अवस्थामा एक विद्यार्थीले थप उत्तरपुस्तिका सकिएपछि माग्दा भएको समयको वर्वादीले मलाई यो पुस्तक जन्माउन मद्दत गरेको हो । कोही विद्यार्थीहरु उत्तरपुस्तिका लेखेर पुरा सकिएपछि मात्रै कपी माग्ने गर्दछन् । यसरी माग्ने क्रममा निरीक्षककले कपी दिने, हस्ताक्षर गर्ने समयसम्म कुरेर बसिरहँदा समय खेर गएको हुन्छ । अझ निरीक्षकले खै तिम्रो कपी ल्याउ त ! ल ल यहाँ त खाली रहेछ नि त पहिले लेखेर सक्नु अनि मात्रै । भन्दा भन्दै केही समय खेर गैहरको हन्छ । त्यसैले अधिकांश विद्याथीहरु परीक्षामा थप कपी माग्ने समयको बारेमा जानकारी नै नपाएका कारणले गर्दा नै कति जानेको प्रश्नहरु हल गर्ने समय वर्वाद गरेर फेल भएका उदाहरणहरु छन् । त्यसैले समयको व्यवस्थापन देखि लिएर परीक्षामा के–के कुरामा कसरी सावधानी हुन सकिन्छ, यसका लागि के कस्ता कुराहरुमा ध्यान दिनु पर्दछ भन्ने कुराहरु समेटेर यो पुस्तक तयार गरिएको छ । 

उपरोक्त कुराहरुका आलावा यस पुस्तकमा थोरै अध्ययन गरेर धेरै बुझ्नु पर्ने कुरालाई जोड दिँदै प्रत्येक दिन विद्यार्थीहरुका लागि महत्वपूर्ण दिन हुन् र महत्वपूर्ण बनाउन सक्नु पर्दछ भनी प्रेरित गर्न खोजिएको छ । प्रत्येक विद्यार्थीहरुमा नियमित रुपमा अध्ययनको बानी होस् भनेर यो पुस्तकमा दैनिक रुपमा विद्यार्थीहरुलाई केही न केही सिकाइ गरिरहनु पर्ने कुरामा जोड दिइएको छ । यसैगरी विद्यार्थीको मुख्य काम भनेको सिक्नु हो । मानिसले कुनै पनि कुरा जन्मतात सिकेर आएको हुँदैन । उसले पछि अभ्यास वा स्वअध्ययनबाट मात्रै आफ्नो ज्ञानलाई उजागर गर्दछ । त्यसैले यसमा बालबालिकाहरुलाई आफूले नजानेको कुराहरु निर्धक्कपूर्वक तरीकाले आफूभन्दा अग्रज वा गुरुहरुलाई सोध्ने बानी गर्नु पर्ने कुरामा पनि जोड दिइएको छ । 

लेखन सिपको विकास भनेको विद्यार्थी जीवनमा नै हुनु पर्दछ । पछि अक्षर सुधार गर्न गाह्रो हुन्छ । बाल्यावस्थामा जे जसरी जस्ता प्रकारले हामी अक्षरहरु लेख्दछौँ ठिक त्यस्तै अक्षरका संरचना जीवनभरी नै हुने गर्दछन् । त्यसैले यो पुस्तकमा राम्रा र सुन्दर अक्षर कसरी लेख्ने भनेर बालबालिकाहरुलाई र सम्बन्धित सबैलाई जानकारी दिन खोजिएको छ । यसैगरी यो पुस्तकमा पढेको कुरा सम्झिने तरीकाका बारेमा पनि आकार, गीत, चित्र वा कुनै पनि दृश्यात्मक तरीका अपनाउनका लागि प्रेरित गरिएको छ । यो मात्रै सिकाइको एउटा चिरस्थायी विधि हो । परीक्षामा लेखन सिप नभएका कारणले गर्दा कति विद्यार्थीहरु अन्यौलमा परिरहेको अवस्था छ । त्यसैले परीक्षामा लेख्ने तरीका र ध्यान दिनपर्ने कुराहरुलाई समेटेर यस पुस्तकमा जानकारी दिन खोजिएको छ । यसैगरी परीक्षामा समयको व्यवस्थापनका साथै आफ्ना बालबालिबाहरुलाई कसरी अभिभावकहरुले अध्ययन कार्यमा लाग्न सक्दछन् र सकारात्मक सोचको विकास कसरी गर्न वा गराउन सकिन्छ भन्ने सवाललाई अभिभावकहरुको भूमिकामा समेटिएको छ । 

परीक्षा दिन जाँदाको तयारीदेखि परीक्षापछिको समयलाई कसरी सहि रुपमा सदुपयोग गर्ने भन्ने कुरालाई पनि यो पुस्तकमा समेटिएको हुँदा खासगरी यो पुस्तक विद्यार्थीवर्ग, अभिभावक तथा सरोकारवाला जो कोहीलाई पनि निकै उपयोगी हुन सक्दछ भन्ने विश्वास लिएको छु । साथै पुस्तकको अन्तमा दिइएको आलेख सफल कसरी बन्न सकिन्छबाट जो कोहिले पनि प्रसस्त लाभ लिन सक्ने अवस्था रहेको छ । पुस्तकको दुई ओटा मुख्य विशेषता भनेको यो पुस्तकमा दिइएका प्रत्येक विषयहरुलाई गम्भिरतापूर्वक अध्ययनपश्चात प्रत्येक पाठकलाई प्रतिवद्ध गराइने छ जसका लागि विषयको अन्तमा दिइएको हस्ताक्षर बाकसमा हस्ताक्षर गरेर मात्रै अगाडि बढ्न प्रेरित गरिएको छ । अर्को कुरा बर्दिया जिल्लाभर रहेका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुका प्रधानाध्यापकज्यूहरुको नामावली र सम्पर्क नम्बर समेत राखिएको छ । साथै जिल्लाका १० ओटा स्रोत केन्द्रका स्रोत व्यक्तिज्यूहरुको नामावली तथा सम्पर्क पनि राखिएकोले यो शैक्षिक कृति एउटा शैक्षिक सम्पर्क सूत्रका रुपमा स्थापित हुनेछ भन्ने अपेक्षा छ । 

मेरो आफ्नो शैक्षिक क्षेत्रका जीवन्त भोगाइहरु समेटेर ल्याएको यो पुस्तक “जगाऔँ आत्मविश्वास” पढदिनुहुन र यहाँहरुले आफ्ना बालबालिकाहरुलाई पनि पढ्नका लागि प्रेरित गरिदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु । यो मेरो पहिलो प्रयास भएकोले यसमा भएका कमी कमजोरीहरु आगामी संस्करणमा सुधार गरिने छ । यसका लागि यहाँहरुबाट नै महत्वपूर्ण सल्लाह सुझाबको अपेक्षा समेत गर्दछु । 

धन्यवाद 


यस बिषयमा तपाइको प्रतिक्रिया...!