नन्द बहादुर ऐडी । बा, तपाईले मलाई विकटमा जन्माएर पनि निकट भविष्यमा आईपर्ने समस्यासँग मुकाबिला गर्न सकोस् भनी दिनरात दुख गरी शिक्षा दिनु भो । नेपालको शिक्षाको परिभाषा अनुसार मलाई शिक्षित व्यक्तिमा गणना गराउँनु भो । छोरो स्वाभिमान भएर जिविकोपार्जन गरोस् भनी उच्च शिक्षा मात्र होईन विद्यालय शिक्षा पनि शहरमा अध्ययन गराउँनु भो । विडम्बना नेपालको शिक्षा प्रणाली भनौ या मेरो कमजोरी हो म बेरोजगार नै हुन पुगे ।
तपाईले भन्नु हुन्थ्यो मेरो पालामा ८ कक्षा उतिर्ण गरेपछि नै जागिर पाईन्थ्यो छोरा, तैले थोरैमा पनि व्याजलर गर्नुपर्छ । हो बा, मैले तपाईको ईच्छा अनुसार व्याजलर गरेको २ वर्ष भईसक्यो तर स्तर अनुसारको जागिर पाईन् । बा, मलाई व्याजलर सम्मको अध्ययन गर्नको लागि तपाईले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा १५ देखि २० लाख सम्मको रकम लगानी गरिसक्नु भो तर मैले हाल सम्म आम्दानी गरेर बा “मेरो कमाई यति भयो भनी तपाईलाई देखाउँन सकेको छैन् ।”
यो मेरो कमजोरी हो या राज्यको । हो बा, तपाईले ५ कक्षा सम्म मात्र पढनु भएको छ, राज्यको भाषामा तपाई साक्षर नागरिक र म शिक्षित नागरिकको रुपमा गणना हुन पुगेको छु । यहिनेर शिक्षा प्रतिको राज्यको परिभाषामा शंका उत्पन्न हुन्छ मलाई । शिक्षित भनेको ज्ञान हासिल गरेको व्यक्ति, जो हरेक कुरामा निपूर्ण हुन्छ । ज्ञानी हुन्छ ।
आईपर्ने हरेक समस्याँग सहजै रुपमा मुकाबिला गर्न सक्छ । जसले देश/विदेशका बारेमा, ज्ञान/विज्ञानका बारेमा अध्ययन गरेको हुन्छ र सोही अनुसार आफनो व्यवहारिक जीवनमा आईपर्ने समस्याको सहजै रुपमा समाधान गर्न सक्छ । यस्तै गरी साक्षर भनेको लेखेको अक्षर पढन जान्ने व्यक्तिलाई भनिन्छ । शिक्षित र साक्षरको परिभाषालाई नै हेर्दा धेरै अन्तर पाईन्छ ।
बा व्याजलर पास गरेको शिक्षित म र ५ कक्षा पास गरेको साक्षर तपाईमा धेरै अन्तर छ । तपाईले घरपरिवार चलाउँनु भएको छ, तपाईलाई सिङगो गाउँ समाजले सम्मान गर्छ, तपाइले धेरै कुराको अनुभव गर्नुभएको छ तर मैले न त तपाईका ईच्छा आकाङछा पूरा गरेको छु, न समाज चिन्न सकेको छु, न त समाजले मलाई राम्ररी चिन्छ । यसैले त भन्छु बा म “अनुभव नै शिक्षा हो ।” भनिन्छ पढेर भन्दा पनि परेर बढि जानिन्छ ।
यसको तात्पर्य नै अनुभव नै ठूलो कुरा हो भन्ने जनाउँछ । बा तपाई आफनो जीवनको उत्तरार्धको अवस्थामा हुनुहुन्छ । तपाईले लगभग ५ दशक बिताई सक्नु भयो । राजनीतिकै कुरा गर्ने हो भने राणाकालको केहि अवशेष, पञ्चायत पूरै, बहुदल, १० वर्षे सशत्र युद्ध हुर्दै गणतान्त्रिक शासन पद्धती पनि भोग्नु भो । सबै कालखण्डको अनुभव गर्नु भो, मैले त राणा र पञ्चायत, बहुदलको बारेमा किताबमा पढेर जानकारी पाएको हो ।
१० वर्षे शसत्र युद्ध हुदाँ सानो नै थिए र अहिलेको गाणतान्त्रिक शासन पद्धती भोग्दै छु । यसैले बा म अहिले भन्ने गर्छु पढेर भन्दा पनि परेर या अनुभव गरेको मान्छे शिक्षित हो । पछिल्लो समयमा पढाईले अह्मता दिएको छ भन्ने अनुभूती हुन्छ । पढाई डिग्री पास तर जागिरको लागि निवेदन लेख्न आउँदैन् अहिलेको शिक्षा प्रणालीको विडम्वना भनौ या समय नै यस्तै हो बुझि नसक्नु । आफनो अधिकारको कुरा उठाउँछन् तर त्यो अधिकार प्राप्त गर्नको लागि आफूले पालना गर्नुपर्ने कर्तव्यको बारेमा जानकारी छैन् । जो डिग्री पास छ । दिनभरी ग्रैहसरकारी संस्थाको गोष्ठी सेमीनारमा महिला हिंसा विरुद्ध बाल श्रम विरुद्ध आवाज उठाउँछ तर बेलुका घर आउँदा खाना किन ढिलो पकाईस भनी श्रीमतीसँग झगडा गर्छ र भाडा माझने गरीब बालबालिका नोकरको रुपमा राखेको हुन्छ ।
बा यो समाज बुझि नसक्नुको छ । शिक्षाले ज्ञानी बनाउँछ । नराम्रो कामको आलोचना र राम्रो कामको समर्थन गर्नुपर्छ भन्ने हो । कतै अन्याय भयो भने आवाज उठाउँन मन लाग्छ तर साथ सहयोग कसैको पाईदैन् । उच्च तहका कर्मचारी देखि नेता, सांसद, मन्त्री लगायतका सार्वजनिक निकायमा पद धारण गरेका व्यक्तिहरुले मेरो नराम्रो कुराको बारेमा पनि आवाज उठाउनुहोस् भन्छन् तर वास्तवमै उनीहरुको नराम्रो कुरा तीनै व्यक्तिहरुको अगाडी गर्ने हो भने जीवनमा नै उठ्न नसक्ने गरी पछारिदिन्छन् ।
बा मैले तपाईभन्दा धेरै कुरा भोगिसके त भन्दिन् तर यो सानो उमेरमा प्रशस्त कुराको अनुभव गर्ने मौका भने पाएको छु । बा, तपाईले शहरमा अध्ययन गर्न पठाउँनु भो, तपाईबाट छुट्टिदाँ धेरै नयाँ कुराहरुको अनुभव गर्न पाए । त्यो दिन मलाई ताजा नै छ बा, मैले घर छोड्न नमान्दा तपाईले नै मलाई सम्झाउँदै भन्नुभाथ्यो “छोराले घर छोडे पो प्रगति हुन्छ ।” मामा घर जादाँ हजुरबा ले भनेको उखानको पनि याद आउँछ “छोरा हाट(बजार) गए सप्रिन्छ, छोरी पोईल(बिहे) गए सप्रिन्छ”।
बा, तपाई हामी विकटको मान्छे । टाढाको मान्छेलाई पनि निकटको सम्झन्छौ र साथ सहयोग गछौं । आत्मीयता साट्छौ, व्यवहारले मान्छे चिन्छौ र यो नै हाम्रो सामाजिक परम्परा हो भन्ने कुरा ठान्छौ तर म बसेको शहरमा पैसाले मान्छे चिन्छ । स्तर पनि पैसाले नै छुटा¥उँछ र सहयोग पनि पैसा भएकालाई नै मिल्छ ।
बा, हाम्रो ठाउँ विकट हो भन्ने कुरा सबैले बुझेकै छन् । हाम्रो गाउँघरमा सडक(यातायत), सञ्चार, विद्युत लगायतका सुविधाको पहुँच थिएन । सञ्चारको नाममा रेडियो, यातायातको नाममा प्लेनको आवाज, विद्युतको नाममा टर्च लाईट मात्र देखेको म बिचरो जिल्ला सदरमुकाम हुदै राजधानी शहरमा प्रवेश गर्दाको त्यो समयको पनि याद छ ।
बा शहरले मलाई गतिशील हुनुपर्छ भन्ने कुरा सिकायो । मैले यही कुरा गर्दा मलाई कत्तिले क्रान्तिकारी भन्छन् त कतिले त विद्रोही पनि भन्छन् । के विकासको चाहना विद्रोहीलाई मात्र हुन्छ त बा ? के विकास क्रान्तिबाट मात्र सम्भव छ त बा ? मैले बुझन सकिन । समाजमा भएको अन्याय देख्न सकिन ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले समाजमा जनताको पसिनाबाट तिरेको करबाट तलब खाने र सोही जनतामा देखाउँने खोक्रो रवाफ सहन सकिन बा, चुनावको बेला जनताको घरदैलोमा गएर झुट्टा आश्वासन दिने र चुनाव जितेपछि मैले त भाईलाई चिनिन नि भन्ने नेताको स्वभावमा सहमत हुन सकिन बा । कहिले काही दिमागलाई शान्त बनाएर सोच्न बाध्य हुन्छु र मनमनै भन्छु मेरो बा ले नपढाएको भए गाउँमै भेडी गोठालो लगाएको भए मलाई भेडाको मात्र चिन्ता हुन्थ्यो । २ अक्षर जानेर बर्वाद भो । बुझदै जादाँ झन बुझन गाह्रो । खै के खैके भने जस्तो ।
बा, मैले गैह्र सरकारी संस्था प्रति रुची देखाउँदै काम पनि गरे, नागरिकका अधिकारको कुरा उठान गर्न नागरिक समाजमा पनि आवद्ध भए, चुनावमा नेतालाई जिताउँन राम्रै तरीकाले सहयोग पनि गरे, कृषि विकासका साथ आर्थिक अन्नती गर्नको लागि कृषि विकास सहकारी संस्था पनि स्थापना गरे तर सबै तिरबाट धोका खाई असफल हुन पुगे । जसलाई सहयोग ग¥र्यो उसले नै धोका दिने, जसलाई विश्वास ग¥र्यो उसले नै घात गर्ने क्रम दोहोरिन थाल्यो ।