– दीपिका भुसाल
प्रत्येक वर्ष ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा विश्वभर सिर्जनात्मक र रचनात्मक कार्यक्रमसहित मनाइन्छ । आठ मार्च शोषणका विरुद्ध महिलाहरूले विजय हासिल गरेको दिन हो । नारी उत्पीडन, शोषण विश्वमा निकै युगसम्म चल्यो । नारी जागरणले जगतमा चेतना ल्यायो । शोषण, उत्पीडनका विरुद्ध विश्वका नारीहरू आ–आफ्ना घरपरिवार र स्थानबाट संघर्षका पाइलाहरू चाल्न थाले । नारी बन्धनबाट मुक्त हुन खोजे । लिंगिय विभेद निर्मूल भएको छैन तर न्यूनीकरण चाहिं अवश्य भएको छ । पुरुषसरह महिलाहरु हरेक क्षेत्रमा अग्रसर हुन सक्छन्, चाहन्छन् । यसकालागि महिला अधिकार र अवसरको सुनिश्चितता आवश्यकता पर्दछ ।
मानवजातीको आधा हिस्साका रुपमा रहेका नारीहरूको कल्याण, समानता र प्रगतिका निम्ति विश्वमा तीन थरिका चिन्तन देखा परेका छन् । पहिलो पुरुष प्रधान सोचाईं, दोश्रो नारी प्रधान सोचाईं, तेश्रो नारी–पुरुष समानताको सोचाई । विश्वका नारीहरू राजनीतिक अधिकार र शिक्षाबाट बञ्चित थिए । पुरुष र नारीबीच ठूलो असमानता थियो । अहिले विज्ञान र प्रविधिको विकाससँगै विश्वका कुना काप्चाका नारीहरूमा चेतनाको स्तर उठेको छ । परम्परागत सोचाईंबाट नारीहरूलाई माथि उठाउन अझ निकै प्रयास गुर्नपर्ने देखिन्छ ।
नेपालको दुई विशाल छिमेकी चीन र भारतको नारीहरूको अवस्था निकै अन्तर छ । भारतीय बहुसंख्यक नारीहरू अझै विकासको सूचकाङ्कको हिसाबले निकै पछि छन् । सानो देश नेपालको कूल जनसंख्याको आधा हिस्सा झण्डै डेढ करोड नेपाली महिलाहरूको आर्थिक स्थिति, राजनीतिक अधिकारको स्थिति अझै सन्तोषजनक छैन ।
नेपालमा कम्युनिष्ट राजनीतिक पार्टीहरूले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेका छन् । हरेक क्षेत्रमा पुरुष सरह महिला धेरथोर देखिएका छन् । नेपालमा प्रथमपटक महिला राष्ट्रपति, महिला सांसदको सभामुख भएकी छिन् । यसलाई निकै ठूलो ऐतिहासिक उपलब्धीका रुपमा लिन सकिन्छ । महिलाको नेतृत्व विकास हुनु भनेको राष्ट्रको सर्वा·िन विकासमा ठूलो टेवा पुग्न जानु हो । महिला परिवारको पहिलो गुरु हुन् । महिला नै मानव सृष्टिकर्ता हुन् । महिला र पुरुषबीचको अन्योन्याश्रित सम्बन्धबाट नै यो विश्व ब्रम्हाण्ड सुचारित छ । महिला–पुरुष समान सहभागिता वर्तमान युगको आवश्यकता हो । पुरुषभन्दा महिलाहरुले तोकिएको काम पूरा गर्न बढि सक्रिय र जिम्मेवार देखिन थालेका छन् ।
विकास र परिवर्तनको गतिसँगै नयाँ नयाँ किसिमका समस्या पनि देखा पर्दछन् । महिलाको कमाई खाने बेला देखा परेको छ । समाजको विकाससँगै युगका विशेषता र चुनौतीहरु थपिंदै आएका हुन्छन् । महिला हिंसा यतिखेर बढ्दै गएको छ । महिलाहरू मुक्त भएको लगत्तै प्रताडित हुन थालेका छन् । कतिपय महिलाले स्वतन्त्रताको नाममा स्वच्छन्द गतिविधि गर्न थालेका छन् । घर, परिवार समाज र राष्ट्रको निर्माणमा महिलाहरुको अग्रसरताले नयाँ अध्याय थपिदिएको छ । आधुनिक महिलाहरूको हरेक स्थानमा उपस्थितिले गर्दा महिला र पुरुषको समान सहभागिता बिना काम नै अपुरो हुने अवस्था आएको छ ।
महिलाहरूको साँचो अर्थमा अझै मुक्ति भएको छैन । नारीले पतनको बाटो होइन उत्थानको बाटो रोज्नु पर्दछ । नारीहरूले भोग विलासको वस्तुमा मात्र आफूलाई सीमित राख्नु हुँदैन । नेपालमा आमूल सामाजिक परिवर्तन हुन नसकेकोले नेपाली नारीहरू अर्ध मुक्तिका अवस्थामा छन् । पूर्ण अधिकारबाट नारीहरू सम्पन्न हुन सकेका छैनन् । मुठ्ठीभरका नारीहरूको उन्नति नै सम्पूर्ण नारीहरूको उन्नति र प्रगति देख्नु, महिलाले अधिकार पाइसकेका छन् भन्नु वुद्धिमानी होइन ।
नेपाली समाजमा जातपात, छुवाछुत, अध्यात्मवाद, श्रमजीवी नारीहरूलाई दबाउने चलन, दाइजो प्रथा, बाल विवाह, बहु विवाह, अनमेल विवाह आदि समस्याले महिलाहरूलाई मुक्त हुन दिएको छैन । महिलाहरूमा शिक्षा र साक्षरताको लहर सन्तोषजनक छ । महिला रोजगारीको स्थिति नाजुक छ । नेपालको क्रान्ति र परिवर्तनमा नेपाली महिलाहरुले दिएको योगदान स्मरणीय छ ।
नेपाली नारीहरूले इतिहास रचेका छन् । नेपाली नारीहरूको वीरता र उनीहरूले पाएको वीरगतिले अहिले नेपालमा गणतन्त्र स्थापना भएको छ । नेपाली महिलाहरुको त्याग, तपस्या र बलिदान नेपालका पुरुषहरुको भन्दा कम छैन । महिला र पुरुष सँगसँगै विकास पथमा लम्के भने नेपाल विश्वकै उदाहरणीय देश बन्न सक्दछ । नेपालको आर्थिक क्रान्तिमा नेपाली महिलाहरूले अवसर पाएको खण्डमा ठूलो उथल पुथल ल्याउन सक्दछन् । नेपाली महिलाहरूले विश्वका विभिन्न भूभागमा पुगेर आफ्नो पहिचान राख्न सफल भएका छन् ।
अब नेपाली नारीहरू अन्याय र भेदभावले भरिएका परम्पराहरूलाई जस्ताको तस्तै धान्ने अवस्थामा छैन । जंगली अवस्था, कविला समाज, दास युग, सामन्ती समाज, पूँजीवादी समाज हुँदै समाजवादी व्यवस्थामा विश्वका महिलाहरूले पाइला चालेका छन् । नारीहरूलाई विज्ञापनको साधन अझै बनाइएको छ । महिलहरू राम्रा, नराम्रा सबै पेशा, व्यवसायमा संलग्न छन् । विश्वमा वेश्या (यौन व्यवसाय) बजार फस्टाएको छ । विवेकहीन मान्छेको मनपरी महिलामाथि अझै जारी छ । बलात्कार, सामुहिक बलात्कारको घटनामा कुनै कमि आएको छैन । एकल महिला (विधुवा महिला) माथि हेरिने दृष्टिकोण अझै संकिर्ण छ ।
महिलाविरुद्ध कुनै दुव्र्यवहार र कुनै भेदभाव हुन नदिन कानुन बनेका छन् । महिला तथा बालबालिकको उत्थान र संरक्षणका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु क्रियाशील छन् । महिला दबाव समूह गठन भएका छन् । दिनपरदिन महिलाहरूले मुक्ति र सुखको दिन फेर्न पाइरहेका छन् । बुढी आमालाई बुढेसकालमा आवश्यक स्याहार सुसार नगर्ने, बुढी आमाको कारण परिवारमा कलह, बढ्दै जाने क्रम छ । बुढाबुढीको आवश्यक लालन पालनमा कमिले गर्दा थप सामाजिक समस्या देखा परेको छ ।
बुढाबुढीले निकै कष्टकर जीवन बिताउन बाध्य छन् । बुढेसकालमा महिलाहरूले पाउँदै आएको ताडना नेपाल र भारतजस्तो राष्ट्रमा वर्णन गरेर साध्य छैन । नारीहरूलाई सम्पत्तिको अधिकार अझै समानतापूर्वक दिइएको छैन । महिला नै महिलाको बैरी हुने गरेको पाइन्छ । महिलाको समस्या साझा समस्या हो । साझा रुपमा नै हल हुनु पर्दछ । आठ मार्च अर्थात अन्तर्राष्ट्रिय नारी मुक्ति दिवसले सबैखाले शोषण, दमन, उत्पीडन, प्रताडना विरुद्ध आँखा खोल्न, विवेक राख्न सबै महिलाहरूलाई सन्देश दिन्छ ।