आविष्कार धरला | देशमा स्थानीय चुनाव सम्पन्न पछि केहि समय नबित्दै प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि चुनावको मिति झन्डै मुखमै आइसकेको छ । देशमा चुनावको ठुलै चहलपहल चलिरहदा कर्णालीका ५ ओटै जिल्लाहरुमा पनि माहोल यति बेला निकै तात्तिएको छ । विशेष गरि जिल्लामा चुनाव भन्दा पनि बाम गठबन्धनले निकै चर्चा पाएको छ । विगतलाई हेर्ने हो भने बाम गठबन्धनका दुई पार्टी एक अर्काका निकै प्रतिस्पर्धी रहेको पाहिन्छ । कति ठाउँमा तालमेल नमिल्दा कार्यकर्ता बीच झडप भए पनि अब दुई ओटै पार्टी एक भइसकेका छन् ।
जुम्ला जिल्लामा वाम गठबन्धनको तुलनामा अन्य पार्टीको चहलपहल निकै कम देखिन्छ । जब चुनाव आउछ तब नेताहरु गाउँ छिर्ने अरुबेला सहर छिर्ने । यो सबै नेताको एक विशेषतानै हो । नेताहरु गाउँगाउँ छिरेर सोजा जनतालाई फकाउन थालेका छन् । त्यति मात्र कहाँ हो र खसी बोका काटेर जनतालाई देवि देवताको अगाडी धजा छुवाएर पार्टी प्रवेश गराएको पनि एताकता सुनिन्छ । यति भनिरहदा पैसा, पावर, डर, धम्की नचल्ने त कुरै भएन । यस्तो परिपाटी कतिको विवेक पूर्ण कार्य हो सबैलाई सोच्न बाध्य बनाएको छ । नेपालीमा एउटा उखानै छ “…लाई भन्दा देख्नेलाई लाज”। मलाई यो त अति नै भएको हो कि जस्तो लाग्छ । तर पनि सबै तै चुप मै चुप छन् । यस्तै हो भने जनताले हाम्रो नेता भनेर गर्वका साथ् नाक फुलाएर हिड्ने दिन कल्पनामा मात्र सिमित हुने देखिन्छ ।
कर्णालीको माटोमै जन्मेका हुर्केका छोरा छोरी सांसद देखि मन्त्रीसम्म नभएका भने होइनन् । तर त्यहाँको अवस्था हेर्ने हो भने जस्ताको त्यस्तै छ । समय परिवर्तन भयो तर नेताहरुको दिमागमा त खै के पो भरिएछ पूर्व हिड्ने मान्छे पश्चिम हिडे जस्तो देखिन्छ । बरु जिल्लाको विकास गर्छु भनेर देवि देवताको अगाडी नेता आफै कसम खाएको भए जनताले पत्याउथे पनि होला । आखिर चाहिएको नै त्यस्तै हो । नेपालमा संकटकालको अन्त्य भएपछिका चुनावहरुमा कर्णालीले धेरै नेतालाई जितायो । सांसद र मन्त्री पनि बनायो । तर समय अनुसारको उपलब्धी भने खासै केहि देखिदैन । अहिलेसम्म कर्णालीमा अझै ५२ प्रतिशत भन्दा बढी मान्छेहरु गरिबीको रेखामुनि छन् । स्वास्थ्य, शिक्षाको सेवा सुविधाको त कुरै गरेर साध्य छैन । कुनै समयमा हाम्रा छिमेकी जिल्लाहरु मनाङ र मुस्ताङ कर्णालीका जिल्ला डोल्पा र हुम्ला सरह नै थिए । अब अहिले हेरौ कहाँ डोल्पा कहाँ मुस्ताङ छ । मुस्ताङ घुम्न नेपाल नगई भाको छैन भन्नेहरुको भिड चलिरहदा कर्णालीको अवस्था हेर्दा मन खिन्न भएर आउछ ।
भौगोलिक सुन्दरताको हिसाबले हेर्ने हो भने जति मुस्ताङ छ उत्तिकै कर्णालीका पाच ओटै जिल्लाहरु सुन्दर छन् । अब सोच्नै पर्छ, विकल्प खोज्नै पर्छ । विकल्प नै खोज्ने हो भने जिल्लामा नयाँ जोस, नयाँ पार्टी र नया अनुहार खासै देखिदैनन् । त्यहि भित्र पनि केहि अनुहार आशलाग्दा र सबैले राम्रो भनेका पनि देखिन्छन् । अब आश लाग्दालाई जिताउने हुन् की उही उहिलेकालाई जिताउने हुन् सबैलाई चासोकै बिषय बनेको छ । तर स्थानीय चुनावको परिणाम हेर्ने हो भने खासै गतिलो र आश लाग्दो देखिदैन । त्यसकारण यसपटक पनि फेरी त्यही नतिजा दोहोरिने पो हो कि भन्ने आशंका छ । सबैले भन्ने गरेको एउटा भनाई छ, “हाम्रालाई होइन राम्रालाई जिताउ” । आखिर सबैको चाहना पनि त्यहि नै हो । तर यहाँ कसैलाई पैसा प्यारो त कसैलाई आफ्नो प्यारो भइदिन्छ । फलस्वरुप सधै उही पैसा र पावर वालाहरुले जित्ने र सहर पस्ने चलन बसेको छ । कर्णालीका हरेक जिल्लाहरुमा बर्सौ देखि यस्तै भैरहेको छ । यहि प्रबृत्तिले कर्णाली अरुको तुलनामा निकै पछाडी छ । अब सधै यस्तै गल्ति गरिरहने हो भने अब समयले कुन रुप लिन्छ होला हामी सबैले सजिलै अट्कल गर्न सक्छौं । सबैको चाहना भनेकै राम्राले जितोस् भन्ने नै हो ।
हरेक जिल्लाले एउटा असल नेता पाए कर्णालीका लागि केहि राहत पक्कै मिल्ने थियो । त्यसमा कुनै दुई मत नै छैन । पैसा आज आउछ भोलि जान्छ, तर समयमा सहि नेतृत्व छाने देश बन्छ । देश बने सबैको भविश्य सुनिश्चित हुन्छ । सधै जिल्लामा बसेर ठूला ठूला गफ मार्ने, जनतालाई फसाउने, जिल्लाको विकासका लागि केहि गर्न नसक्ने, भएका स्रोत साधनको सहि उपयोग गर्न नसक्ने नेता त हामी कसैले चाहेको त छैनौं होला । अब आम जनताले बुज्नुपर्ने कुरा के हो भने पितललाई जति लेप्पन गरे पनि त्यो सुन कहिल्यै बन्न सक्दैन । पितल पितल नै हुन्छ । पुराना शैली र पुरानै बिचारले परिवर्तन असम्भव देखिन्छ । अब अल्कोहलिक होइन ओर्कहलिक नेताको खाचो छ । त्यसैले सबैले सोच्नै पर्ने हुन्छ । पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठि जिम्मेवार नागरिकको भूमिका खेल्न आवश्यक छ । केही गर्छु भन्ने नयाँ अनुहार र सबैले राम्रा भनेकाहरुलाई सबैले साथ दिनैपर्ने हुन्छ । हेर्दा सुन जस्तै देखिने सबै सुन हुदैनन् । कुनै समान हेर्दा निकै आकर्षक देखिन्छन् तर ति नक्कली हुन्छन् । त्यसैले विकासको नाममा पैसा, पावर, जागिर मिलाई दिन्छु भनेर प्रलोभनमा पार्ने, सोजा साजालाई ठग्ने ति सबै नक्कली हुन् । त्यसैले अब सबै जनता हुनै पर्ने भयो “नक्कली देखि साबधान”।
लेखकः जुम्लाका, आविष्कार धरला, एमविविएस विद्यार्थी: हाल फिलिपिन्स्मा अध्ययनरत छन् ।