विजया पन्त | बजारको बसाइपछि भेटघाट गर्न गाउँ जाँदै थिएँ । कच्ची सडकहरू खुले पनि पूरा नभएको कारणले हिडेर गइरहेकी थिएँ । स्थानीय नामअनुसार साठी भन्ने ठाउँमा पुग्दा एकजना महिलाले दुध नदिएको निहुमा हो वा के भएर हो ? बाँधेको गाइलाई पिट्दै थिइन् । त्यो देखेपछि मलाई पनि बिचरा ! भन्ने लागेको थियो । त्यसैबेला एक अधबैसे मानिस त्यही घरतिर आउँदै थिए । त्यसरी गाईलाई पिटेको देखेपछि उनले भने “दाम्लोमा बाँधेर पिट्न हुँदैन पाप लाग्छ ।” ती पुरुषको वाक्य मेरो कानमा परेपछि मनले भन्यो “तिमीले मान्छे मार्यौ, उनले त पिटेको मात्र हो ।”
ती पुरुष आफ्नै श्रीमती फकाइ-फकाइ जंगलमा लगेर मारेर बीस वर्ष जेल सजायमा परी माफीमा आठ-दश वर्षमा छुटेका व्यक्ति थिए । यो घटना धेरै वर्ष अगाडिको हुँदा ती महिला बच्चै थिइन् वा जन्मेकै थिइनन् ? त्यसैले उनको त्यो र्कतुत थाहा पाएकी थिइन वा थिइनन् ? तथा बाटो खुलेपछि माथि लेकबाट बेसीमा झरेकी थिइन् ? उनलाई थाहा नहुन पनि सक्छ तर मेरो दृश्टीमा महिला होइनन् शब्द राम्रो र आदर्शको बोले पनि पापी ती पुरुष थिए । आजको नेपालको राष्ट्रियता र राष्ट्रवादी व्यक्तिहरु ती आफूले श्रीमती मारेर अरुलाई धर्मको पाठ सिकाउने धर्मात्मी महापुरुषकोजस्तै लाग्छ ।
नेपालको इतिहासलाई हेरेर कुरा गर्ने हो भने शब्दमा मात्र राष्ट्रवाद पाइए जस्तो । म कसैलाई होच्याउन र अपमान गर्नलाई यो भन्न खाजेकी होइन । मात्र सत्य कुरा गरेकी हुँ । हिजोका सन्धि-सम्झौता कहाँ-कहाँ कस्ताकस्ता भए र नेपालको इतिहासमा सन्धि सम्झौताले कस्ता-कस्ता घात-प्रतिघात गर्न सक्छ, विश्लेषकहरूले इमानजमान नछोडेर गर्नु भयो भने आज र भोलिका पुस्ताले पढ्न पाउनेछन् । यदि कलेज र क्याम्पसमा इतिहास विषय पढाउनै छोडियो भने आउने पुस्ताले ती महिला जस्तै बन्नु पर्नेछ । ठूलो अपराधीले उल्टै पापी भन्दा पनि सहेर बस्नु पर्नेछ । अगाडिका कुरा छोडौँ नेपालमा प्रजातन्त्रको स्थापना भए पछि कस्ता-कस्ता सम्झौता र सन्धि भए ? २०४६ सालमा नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछि २०४८ सालमा टनकपुर सम्झौता भयो । २०५२ सालमा महाकाली सम्झौता भयो । यसले नेपाललाई कति फाइदा र घाटा भो ? यो त सन्धि सम्झौता गर्नेलाई थाहा होला ।
राष्ट्रवादी नेता कि जनता भन्ने हो ? छिमेकी राष्ट्रले अघोषित नाकाबन्दी लगाएपछि नेपाली जनताले भोग्नु परेको सास्ती र दुःखको कुनै सीमा छैन । नाकाबन्दीमा भारतसँग नझुकेको कारण नेतालाई राष्ट्रवादी भन्दै चिच्याउनु कहाँसम्मको जायज होला ? कतै कुनै अवस्थामा सुन्नु भो ? कुनै नेताको घरमा ग्यास सकिएर चुलो बलेन रे । कुनै ग्यास डिलर र पेट्रोल पम्पमा कुनै नेता लाइनमा बस्न गएको देख्नु भो ? कि राजा महेन्द्र मल्लजस्ता नेता पाउनु भो नाकाबन्दीमा जनताको घरमा चुलो नबली खाना खान्न भन्ने ? कि पाउनु भो मरिचमानजस्ता नेता ? जस्ले विदेशबाट हवाइजहाजमा भएपनि पेट्रोल र ग्यास उपलब्ध बनाएर एक सुको मूल्य बृद्धि हुन नदिने ? यदि नाकाबन्दीको आधारमा कुनैपनि नेतालाई राष्ट्रवादी भन्नुहुन्छ भने त्यो अन्धभक्त हो ।
साच्चै भन्ने हो भने राष्ट्रवादी त यो देशका जनता हुन् । राष्ट्रको लागि जतिपनि पीडा सहेर बस्ने जनताको पीडा कसैले बुझेको छ ? नाकाबन्दीको पीडा ती व्यक्तिलाई सोध जसले हप्तौसम्म ग्यास नपाएर छोरा-छोरीको पेटभर्न नसक्दा छट्पटिनु परेको, कुनामा बसेर काचोलाई पकाउन र पाकेकोलाई तताउन नपाएर स्तनपान गराउँदा दुध नआएर मुख प्याकप्याक्ती परेको बच्चाको अनुहार हेरेर बस्नु परेकी सुत्करीलाई आमा र अस्पताल लैजान एम्बुलेसन नभएपछि औषधी उपचारको अभावमा आफ्नै काखमा हेर्दाहेर्दै सन्तान गुमाउन परेकी आमालाई सोध नाकाबन्दीको पीडा । जसले तर पनि भनेनन् झुकेर भएपनि पनि हामीलाई खान, उपचार देऊ ।
पुस-माघको सिरेटो नभनी रातभरी लाइनमा बसेर ग्यास र तेल लिदा र हप्तौँसम्म दालमोठ र चिउरा खाँदा पनि नझुक भन्दै कष्टपूर्ण जीवन जीउन पछि नपर्ने नेपाली जनाता हुन् नेता होइनन् राष्ट्रवादी त ! त्यति बेला रु १०० को पेट्रललाई रु ३०० देखि ५०० सम्म मूल्य तिरेर किन्न परेको पीडा गरीब जनाताले भुलेको छैन । होला नेताका आसेपासेलाई न त लाइनमा बस्नु पर्यो होला न त बढी मूल्य तिर्नु नै ? एउटा ग्यास रु १२००० सम्म मूल्य तिरेका छन् जनताले । छातीमा हात राखेर भन्नु हुन्छ भने त्यतिबेला राष्ट्रवाद होइन कालो बजारी र कमिसन मौलाएको थियो । बजारमा कृतिम अभाव बनाएर गरीब जनताले रु १०० को सामान २००/३०० मा किन्न परेको थियो । चिनले दिएको सहयोग उनै जनतालाई बेचेर फरी उनै जनतालाई लुटेको थियो । आज करोड करोड रकम बाड्न सक्ने सरकारले किन हवाइजहाजबाट सामान उपलब्ध गराउन सकेन ? आएको अनुदान जनतालाई किन दिन सकेन ? सरकारले दिएँ भन्दै मुडा दाउरा दिएर अर्काको घरमा भाडामा बसेका जनतालाई फेरी अर्को पीडा दिएको थियो । नपकाउन खान छैन पकाउन घरभेटीले दिँदैनन, घर कालो हुन्छ भनेर । त्यो दाउरा नखाउँ दिनभरको सिकार खाउँ कान्छो बाबुको अनुहार, फेरी पनि गलेनन् जनता ।
गत फागुन चैततिरनेपाल–भारतको नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमाक्षेत्रकाजीर्ण स्तम्भको मर्मत र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पर्साको पिडारीगुठी गाविसका चोकटसहित १९ जना नेपालीको लालपुर्जा भएकै १० बिघा आठकठ्ठा १५ धुर जग्गा भारततर्फ पारेको थियो । जग्गा विवादमा परेपछि स्थलगत अनुगमका लागि पर्साका प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेको टोली गएर जग्गाको मु-अब्जा दिने आश्वासन दिदा जग्गा धनीले हामीलाई पैसा हैन हाम्रो जग्गा चाहिन्छ । त्यो पिल्लर हाम्रो छातीमा गाडेको महसुस भएको छ भन्दै जनता कराएका थिए । नेता भए पैसा पाएपछि खुसी हुन्थिए होलान् तर जनतामा पैसा भन्दा देशको मायाँ बढी छ । यस्तो अवस्था सीमाका जनताले भोगिरहेका छन् र सरकारसँग देश बचाउन गुहार पनि मागिरहेका छन् तर सरकार सुनेको नसुने झैँ गरी बस्छ । त्यसैले यहाँका नेतामा कुर्सीको मोह छ र जनतामा राष्ट्रवाद । जय राष्ट्रवादी जनता !