प्रभात सुवेदी | भर्खर माईक्रोबायोलोजी विषयमा विएस्सी पढ्दै गरेका उनले आफ्नो भविष्य खातिर निर्णय भने लिइसकेका छन् । यसरी भविष्यको योजना बनाउने नेपाली विद्यार्थीहरुको प्रवृत्ती छैन । जहाँनिर जे काम गर्नु छ, उनीहरुको उद्देश्य नै त्यही हुन्छ । त्यो भन्दा परको दूरदर्शिता उनीहरुमा छैन र भएको पनि पाईँदैन ।
यो हामी सबै विद्यार्थी र सिङ्गो शैक्षिक पद्दतिको कमजोरी हो । हामी जीवनभर अरुले प्रतिपादन गरिदिएका सिद्धान्तहरुमा अलमलियौँ, खुब घोक्यौँ कतै बिर्सिएला कि भनेर ? कतै परीक्षामा अल्मलिएका कि भनेर तर त्यही घोकाइको शिक्षाले हामीलाई के दियो त आखिर ? साच्चै अब समुन्नत चाहने हो भने शिक्षालाई पुस्तकसँग जोडेर सिद्धान्त घोक्ने र रट्ने प्रवृत्तीको अन्त्य हुनु पर्दछ । नेपालमा सक्षम व्यक्तिहरु बस्ने अवसर नै छैन, वातावरण नै छैन । हालसालै पनि अमेरिकी राष्ट्रिपति बाराक ओवामाको सल्लाहकार सदस्यमा एक नेपाली महिला पर्नु भनेको नेपालीहरुमा पनि निकै खुबी रहेको छ । तर नेपालमा नै उनीहरुको स्थान छैन । भएपनि खुट्टा तान्ने प्रवृत्तीले त्यस्ता प्रकारका मेधावी विद्वतवर्गहरु दिनानुदिन विदेशिनु परेको अवस्था छ । यदि नेपालीहरुमा खुबी नै नहुँदो हो त, नासामा गएर लुजेन्द्र ओझाले मङ्गल ग्रहमा पानी रहको प्रमाणित मात्रै होइन कि उनले मङ्गल ग्रहको कुन कुन स्थानमा पानी छ भनेर समेत प्रमाणित गरेर देखाउन सक्ने सामथ्र्य उनमा हुने थिएन ।
केही दिन अघि काठमाडौंमा गतसता आयोजना गरिएको अनलाईन मिडिया सम्बन्धी तालीममा सहभागी भएर फर्किने क्रममा मुग्लिङ नारायणगढ खण्डको सडकको अस्तव्यस्तताको कारणले गर्दा र नेपालगञ्जसम्म आउने हवाई टिकट नपाएका कारणले भरतपुर सम्म हवाई यात्रामा र त्यसपछि बर्दियाका लागि रात्री बसमा यात्रा गर्ने क्रममा मेरो सिटमा एक जना २० वर्षिय युवक सन्देश ढकाल भेट भए । उनले पहिला त आफ्नो सिट बस्नका लागि माग्दै थिए । तर, म बसेको स्थानबाट झट्ट सिट छाड्न अप्ठेरो थियो त्यसकारण मैले अनुरोध गरेँ, ‘भाइ अहिले अलिक भिड कम भएपछि मेरो सिटमा आउनुहोला र म त्यहाँ जाउँला’ । कारण के रहेछ भने उनलाई झ्यालतिर बस्न मन लागेको रहेछ । यात्रा शुरु भयो र मैले त्यत्तिकै के बसिरहुँ भनेर कुराकानीलाई अगाडि बढाएँ । उनी माइक्रोबायोलोजी विषय लिएर विएस्सी अध्ययन गर्ने विद्यार्थी रहेछन् । कुराकानी मिल्यो म पनि विज्ञान विषयमा रुची राख्ने भएकोले मैले पनि आफ्नो परिचयका साथ आफ्ना जिज्ञासाहरु राख्दै गएँ । यसरी मेरा जिज्ञासाहरुको जवाफ सुन्दै जाने क्रममा मालाई यस्तो लागिरह्यो कि म एउटा युवकको साथमा हैन कि कुनै युवा वैज्ञानिकसँग बसिरहेको छु ।
यहाँ मैले यो विषय उप्काउन किन पनि खोजिरहेको छु भने उनी आम वर्तमान युवा विद्यार्थीहरुको प्रतिनिधित्व गर्दछन् । आमा गृहिणी बाबा बेल्जियममा वैदेशिक रोजगारीका लगि जानुभएको थाहा पाएँ । तर, उनको स्वभाव र आचरण अनि म प्रतिका व्यवहार, बोलीवचन सुन्दा यस्तो लाग्थ्यो कि उनी कुनै अत्यन्तै संस्कारित परिवारका सदस्य हुन् । भाइसँग विभिन्न समयसान्दर्भिक विषय, दर्शन, साहित्य, विज्ञान, धर्म, सामाजिक विकृति विसङ्ति, युवाहरुमा छाएको विकृति लगायतका विषयवस्तुहरुमा निकै गहिराईमा छलफल भयो । यतिमात्रै हैन कि उनीमा त साङ्गीतिक दक्षता पनि रहेछ । मलाई अझ खुशी लाग्यो । अनि हामी केहीबेर साङ्गितीक दुनियामा पनि रम्यौँ । आजभोलीका एक होनाहार ठिटो युवाहरुमध्ये धेरैले त नारायण गोपालका गीतको के कुरा नाम सम्म पनि सुनेका छैनन् । तर, उनले मलाई सरलाई मन पर्ने गीत सुनाउँछु भन्दै आफ्नो मोबाइलमा भएका नारायाणगापालका गीतहरु ‘आजभोली हरेक साँझ ..’, ‘केही मिठो बात गर ….’ जस्ता गीतहरु सुनाउँदा मलाई कताकता भावुक बनायो । अझै पनि सुगम सङ्गीतलाई माया गर्ने युवा मनहरु रहेछन् भनेर ।
छिनछिनमा हामी प्रसङ्ग बदल्दै कुरा गर्दै यात्रालाई अगाडि बढाइरह्यौँ । मलाई पनि उनीसँगै कुराकानी गर्दै अगाडि बढ्दै गर्दा निकै आनन्दका अनुभूति भैरहेको थियो । म भित्र खुशी र उमङ्गका छालहरु बगिरहका थिए ।
उनी विशिष्ट श्रेणीमा एसएलसी सकेर आइएस्सीमा राम्रो नतिजा पाइ चितवन जिल्लाबाट नै सम्मानित भैसकेका रहेछन् । वाक क्षमता अत्यन्तै राम्रो रहेका सन्देशले आइएस्सी पछि उनी न्युरो डाक्टर बन्ने सपना बोकेर एमविविएस पढ्न दिनुपर्ने प्रवेश परीक्षामा सहभागी हुन आवश्यक तयारी कक्षामा सहभागीताका लागि राजधानीतर्फ गए । उनी त्यतिवेला एक्लै गएनन्, उनीसँगै अध्ययन गर्ने साथीहरु पनि सँगसगै गए । तीन महिने लामो तयारी गरेर परीक्षा आउनु भन्दा डेढ महिना अगाडि मात्रै उनी बिरामी परे । जसका कारण उनको तयारी पूरा हुन नसकेका कारण प्रवेश परीक्षामा राम्रो अङ्क प्राप्त गर्न सकेनन् । तर, आरक्षणका कारणले गर्दा भने आफूले भन्दा कम नम्बर ल्याउने आफूसँगै अध्ययन गरेका साथीहरुको भने नाम निस्कियो । उनी भने नाम निकाल्न नसकेर चितवन फर्केर अब के गरौँ र कसो गरौँ भन्ने अवस्थामा पुगे । त्यतिबेला मलाई निकै तनाब भयो, मैले मेरो जिन्दगी बर्बाद भयो भन्ने सोचेँ । अब मेरो प्रगतिका बाटाहरु बन्द भए भन्ने लाग्यो । म मानसिक रुपमा बिछिप्त भएँ । केही काम गर्ने जाँगर पनि लागेन । किनकी सँगै पढेका साथीहरु अब केही वर्षपछि आफ्नै गाउँघरमा डाक्टर फलानो बनेर आउँदा आफ्नो अवस्था के हुने हो भन्ने सोच्न पनि सकेनन् उनले । मानसिक तनावमा परेर आत्तिएको बेलामा उनका बाबाआमाले निजी खर्चमा पढाउन पनि तयार हुनुभएको थियो रे ! तर, उनले त्यसरी पढ्न नचाहेकोले माइक्रोबायोलोजी विषय लिएर अध्ययन गर्ने रुची जागेकोले हाल यही विषय अध्ययन गरिरहेको यात्राका क्रममा बताए ।
तर आजभोली निजी खर्चमा पढेर डाक्टर भएकाहरुलाई राम्ररी चिनेकोले कुनै कलेजमा टप गरेर अगाडि आएको बाहुनको विद्यार्थी र जम्मा पचास प्रतिशत ल्याएर पास भएको आरक्षणको कोटाबाट पढेका विद्यार्थीहरुले आरक्षण तथा अन्य डोनेसनबाट अवसर पाउँदा आफूलाई निकैे निराश बनाएको सन्दर्भ जोड्दै यस्तो अवस्थामा त कि मारम् कि त मोरम् को अवस्था हुने रहेछ भन्दै आफ्नो दुखेसो पोख्दै थिए उनले । यसले गर्दा आँफै पनि मानसिक तनाबमा फँसेको र कहिलेकाहीँ विगतका कुराहरुलाई कोट्याईरहँदा पनि मन फाटेर आउने अनुभुति पस्के । त्यसैले अब कताकता मिहिनेत गरेर पढ्नेहरुका दिन नेपालमा गएकाले उनले भने मास्टर्सको अध्ययनका लागि जेनेटिक ईन्जिनियर विषय रोजिसकेका छन् । यो पंक्तीकारले अझै पनि मनमा एमविविएस पढ्न नपाएकोमा अझै पनि पढुँ पढुँ भएको भए फेरि कोशिष गर्दा हुन्छ नि भन्दा भने उनले समयले मानिसलाई नपर्खिने र त्यसरी जाँदा समय धेरै अगाडि पुगिसकेको हुनाले आफू समयको पछाडि परिने हुँदा अब त्यसरी नपढ्ने बताए । त्यसैले यो आरक्षणलाई जातजाति विशेष गर्नु भन्दा पनि वार्षिक आम्दानीका आधारमा तय गरिनु पर्दछ । यसका लागि विश्वसनीय निकाय बनाउनुपर्ने आवश्यकता छ । नभए भूकम्पको समयमा पीडितलाई आएको पाल गैर पीडितले वा नेताहरुले लगेजस्तो हुन्छ । या त यसलाई सक्षमहरुको स्थलका रुपमा मात्रै विकास गरिनु पर्दछ र गरीब समुदायका मेधावी विद्यार्थीहरुका लगि भने अध्ययनका लगि राज्यले आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनु पर्ने हुन्छ । आरक्षणले त गुणस्तरमाथि नै आशङ्का उब्जाएको छ ।
शिक्षित परिवारमा हुर्केर बाबाआमाले दिएको संस्कारका कारणले गर्दा आफ्नै मिहिनेतमा आजका दिनसम्म यसरी निरन्तर अगाडि बढदै रहेका सन्देशले एमविविएसमा सफलता प्राप्त गर्न नसकेपनि हिम्मत हारेका छैनन् । उनले यसपछिको अध्ययन नितान्त नौलो र नेपालमा नै पठनपाठन शुरु नभएको विषय जेनेटिक ईन्जिनियर लिएर अध्ययन गर्ने सपना बोकेका छन् । उनको सपना पूरा होस् हाम्रो कामना ।
अधिकांश विद्यार्थीहरुको पीडा नै यही हो । कति विद्यार्थीहरुले भविष्यको रेखा जे कोरेका हुन्छन् पूरा नभएका कारण हतोत्साही हुन्छन् । तर, जसको क्षमताले भ्याउँदछ उनीहरु भने विदेशमा गएर आफूले रोजेको र वर्तमान युग सुहाउँदो विषय छानेर अध्ययन गर्दछन् । यसरी उनीहरुले अध्ययन गरेको विषय र क्षमता नेपालमा बिकाउ हुने अवस्था रहँदैन र उनीहरुले आफ्नो रगत र पसिना विदेशमा नै समर्पण गर्नु पर्ने अवस्था आउँछ । यसरी विदेशमा पनि नेपाली विद्यार्थीहरुले विभिन्न क्षेत्रहरुमा तहल्का नै मच्चाएको अवस्था नभएको हैन । नेपाली विद्यार्थीहरुमा काम गर्ने जाँगर र क्षमता नै नभएको पनि हैन । यसका लागि उनीहरुको सीप, जाँगर र क्षमतालाई उपयोग गर्ने वातावरण मात्रै नेपालमा नभएको हो । राजनैतिक अस्थिरता, कमजोर नीति, रोजगारीको व्यवस्थापनका लागि सही नीति राज्यले लिन नसक्दा वर्षेनी पाँच लाख भन्दा बढी युवाहरु विदेशमा पलायन भैरहेको डरलाग्दो अवस्था रहेको छ । यसले भविष्यमा युवा समाज नै नरहने अवस्था आएको छ । केही गाउँहरु त खाली नै भैसकेको अवस्था रहेको छ । यसरी एक मेधावी विद्यार्थीको न्यूरो डाक्टर बन्ने सपना तुहिएपछि उनी अब जेनेटिक ईन्जिनियर बन्ने सपना बोकेर केही वर्षमा विदेशिने सोचमा रहेका छन् । उनले अध्ययन गर्ने सोच बनाएको विषय नेपालमा नै छैन । नेपालमा यो विषय आउनका लगि अझै केही वर्ष लाग्ने निश्चित छ । जिनहरुसँग खेल्ने र यसका बारेमा अध्ययन गर्ने रुचीले केही भएपनि उनीभित्रको हतोत्साहलाई कम गरेको छ ।
यस प्रकारले तमाम विद्यार्थीहरुको सपना तुहिएको हुन सक्दछ । तर, आफूलाई विस्तारै मोडेर आफ्नो भविष्यलाई निश्चित मार्गमा डोर्याउने क्षमता आम नेपाली विद्यार्थीहरुमा जागृत होस् । शुभकामना ।