६ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लेख

जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकांक्षा

१ फाल्गुन २०७९, सोमबार ११:५९

फागुन १, काठमाडौँ | – ईश्वरचन्द्र ज्ञवाली | नेपाली इतिहासमा दशवर्र्षे वर्ग द्वन्द्व एउटा उल्लेखनीय परिवर्तनको मोड साबित भएको छ । वसन्त गर्जनसहित फागुन १ बाट सुरु भएको महान् जनयुद्ध त्याग बलिदान वीरता र साहसको मानक कीर्तिमान पनि साबित भयो । यसलाई एउटा युगान्तकारी परिघटनाका रुपमा पनि हेनुपर्छ । आज हामी २८ औँ जनयुद्ध दिवसको अवसरमा आइपुगेका छौंँ । त्याग, बलिदान, समर्पणको त्यो महायज्ञमा दशौंं हजार नेपाल आमाका होनहार, प्रातिभा, वीर सन्ततिहरूले आफ्नो अमूल्य जीवनको प्राणाहूति दिएका थिए । हजारौं बेपत्ता योद्धाहरूले आफ्नो त्यो उदात्त उत्सर्गशील चेतनाले मुक्ति र स्वतन्त्रताको सपना बाँडेका थिए । 

शोषणबाट मुक्ति, विभेद र अन्यायबाट मुक्ति, उत्पीडन र तिरष्कारबाट मुक्ति, गरिबी र अभावबाट मुक्ति, विकास र प्रगति विरोधी विसङ्गति र दूर्गतिबाट मुक्ति, दीनता र दासताबाट मुक्ति, औपनिवेशिक हस्तक्षेपबाट मुक्तिको सौन्दर्य नै जनयुद्धको सौन्दर्य पनि थियो । यही सौन्दर्यका लागि हजारौँ सहिदहरूले क्रान्ति यज्ञमा आफ्नो जीवन नै आहूति गरिदिए । त्यो उत्सर्ग अप्रतिम र अपूर्व पनि थियो । ती महान् सहिदहरू परिवर्तनका बिम्ब पनि हुन् । जनयुद्धको पहल भएको आज २८ औँ वसन्त पूरा भएको छ । नेपाली वर्गीय चेतनाको त्यो उच्च उदात्त भावधाराले अकिञ्चन वर्गलाई धेरै ब्युँझाएको छ । जनयुद्ध राजनैतिक चेतना र क्रान्तिकारी भाव विस्तारको उज्यालो आयाम पनि हो । यसले महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारु सबै उत्पिडीत समुदायलाई आआफ्नो पहिचान, मुक्ति, अधिकार प्राप्ति, सम्मान र स्वाभिमानको स्थापनाका निम्ति सङ्कल्पित हुन दिशाबोध गराएको छ ।

नेपाल सरकारले यस वर्षदेखि जनयुद्ध दिवसमा बिदा दिने परम्पराको सुरुआत गरेको छ । परिवर्तन र बलिदानको सम्मान त हो नै, साथै इतिहासको सही मूल्याङ्कनको सुरुआत पनि हो । त्याग र बलिदानलाई राज्यले सम्मानित नगर्ने हो भने देशको निम्ति कोही पनि मर्न तयार हुने छैन । सायद यही दूरगामी प्रभावलाई दृष्टि गरेर नै बिदा दिइएको होला । बलिदानको अपमान गर्ने, होच्याउने, अपभ्रंशित गर्ने, विद्रूपीकरण र भ्रष्टीकरण गर्ने र अझ नपुगेर अपराधीकरणसमेत गर्ने खलनायकीय भूमिकाहरू इतिहासदेखि हुँदै आएका छन् । यसको एउटा र मुख्य उदाहरण हो, देशभक्त र राष्ट्रपे्रमी प्रधानमन्त्री भीमसेन थापाको दुःखान्त र दर्दनाक हत्या वा मृत्यु । अपमान सहन नसकेर नै एउटा महान् देशभक्तले आत्महत्या गर्न विवश भएका थिए । 

नेपाललाई सतीले सरापेको देशको कालो धब्बा पनि यही घटनाले लगाएको हो । त्यही घटनाको पुनरावृत्ति गर्ने प्रयास आज जनयुद्ध विरुद्ध पनि हुन थालेको छ । देशका लागि मर्ने, जीवन त्याग गर्ने, हाँसीहाँसी मृत्युवरण गर्ने, परिवर्तन र क्रान्तिका लागि जीवनको कुर्बानी गर्ने महान् अमर सहिदमाथि हिलो छ्याप्ने कोशिस प्रतिगामी, सामन्ती, कट्टर जडता बोकेका, गतिशीलता विरोधी, मध्ययुगीन दासत्व कायम राख्न चाहने वर्गबाट हुँदै आइरहेको छ । दुई÷चार सपूत हैन, हजारौँ सपूत मरेर नगए देश नबन्ने रहेछ भन्ने जनयुद्धले साबित गरेको छ । विना रक्तपात संसारमा कहीं पनि सत्तामा परिवर्तन नहुने रहेछ भन्ने कुरा त फ्रान्सेली राज्यक्रान्ति, रुसी, चिनियाँ, क्युवाली, भियतनामी, कोरियाली, कम्बोडियाली, इरानी क्रान्तिहरूले पुष्टि गरिसकेका छन् । 

भारतको स्वतन्त्रतामा पनि सुभाषचन्द्र बोस, भगतसिंह, जलियाँवाला वागजस्ता अनेकौँ बलिदान त भएकै छन् । नेपालमा पनि हजारौँको बलिदान भयो तर ती देशहरूमा त करोडौँ जनताले बलिदान दिएका छन् देशका लागि । बलिदान हत्या होइन, नादानहरूले मात्र बलिदानलाई हत्या देख्छन् । फेरि बलिदान कहिल्यै निरर्थक हुन्न । बलिदान न मृत्यु हो, न हत्या नै । त्यो त अप्रतिम उत्सर्ग हो ।

जनयुद्ध समग्र युद्ध थियो । सौर्य, साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक अभियानले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा देशप्रेम एवम् राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको थियो । वर्ग, जाति, लिङ्ग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका हरेक सामन्ती साङ्गलाहरू तोडेर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गरेको थियो । यसको परिणाम आज दूर्गम, सुदूरवर्ती, अनकण्टार गाउँमा पनि उज्यालो राजनैतिक चेतना, विचारको जागरण पैदा भएको छ ।

आज पिछडिएका, उपेक्षित, विकासबाट वञ्चित गाउँहरू पनि अभूतपूर्व रुपमा ब्युँझेका छन् । ग्रामीण र देहाती जनतामा समेत राजनीति पुगेको छ र आफ्नो हक, अधिकारका लागि, शोषणबाट मुक्तिका लागि माओवादी आन्दोलनको मूल्य र त्यसले दिएको ज्ञानको प्रकाश सञ्चार हुन पुगेको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, थारु समुदायहरुमा जुन सचेतना, जागरण र आफ्नो पहिचानप्रतिको जागरुकता आएको छ । त्यो परिवर्तन जनयुद्धकै देन हो भन्नेमा दुईमत नहोला । 

दुई सय पचास वर्षको सामन्तवादी राज्यसत्ताको प्रतिनिधि रुप राजतन्त्रको अवसान र गणतन्त्रको स्थापना, एकात्मक र केन्द्रीकृत राज्यको पुनर्संरचनाद्वारा सङ्घीयताको निर्माण र समानुपातिक, समावेशीताको विधिको स्थापना, आरक्षणका माध्यमबाट महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिमका स्थानीय निकायदेखि राज्यको माथिल्लो तहसम्म अनिवार्य प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता महत्वपूर्ण उपलब्धि हुन् । जकडिएर रहेको जडवत् रुढिवादी अन्धविश्वास, धार्मिक अतिवादी चिन्तन, धर्मशासित राज्य संयन्त्रलाई पनि धर्मनिरपेक्षताको प्रावधानले केही उदार बनाउन बाध्य पारेको छ । 

केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थामा पहुँच हुनेलाई मात्र विनियोजन हुँदै आएको, अभिजात्य वर्ग र सम्भ्रान्तहरूले मात्र एकलौटी विलासितामा उपभोग गर्दै आएको राज्यको ढुकुटी अब सङ्घीयताले गर्दा विकेन्द्रित रुपमा विनियोजन हुन थालेको छ । राज्यको बजेट, राज्यको कोष समानुपातिक रुपमा तल तलसम्म पुग्न, वितरण हुन थालेको छ । स्थानीय निकायमा जनताले नै योजना बुन्न थालेका छन् र गाउँगाउँसम्म जनता आफ्नो अनुकूलतामा बजेट बनाउन थालेका छन् । यसले समानुपातिक रुपमा देशका सबै क्षेत्रलाई समेट्न थालेको छ । गाउँमै प्रशासनिक निकायहरू पुगेका र विकासका आधार र अवसरहरू पनि प्राप्त हुन थालेका छन् । 

स्वास्थ्य, शिक्षा, खाद्य सम्प्रभूताजस्ता संविधानमा उल्लेखित नैसर्गिक अधिकारका नीति र व्यवस्था पूर्णरुपमा लागू गर्न तथा जनतालाई लोकतन्त्र, गणतन्त्र र समाजवादी अर्थव्यवस्थासहितको रुपान्तरणको प्रत्याभूति दिलाउन, परिवर्तनको नयाँ संस्कृतिको उपभोग गराउन अब जनयुद्धको सौन्दर्य प्रयोगको अपेक्षा र आकांक्षा जनताले गरिरहेका छन् । व्यवस्था त बदलियो तर जनताको अवस्था बदल्न आर्थिक दलालीकरणको नीतिमा परिवर्तन जरुरी छ । राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ । 

राष्ट्रिय पुँजीको विकास र दलाल पुँजीको विस्थापन हुनैपर्छ । यो व्यवस्था बदल्ने माओवादीहरूले नै अब जनताको अवस्था बदल्ने जिम्मेवारी पूरा गर्नुछ । जनयुद्धको सौन्दर्य भनेकै सहिद तथा बेपत्ता योद्धाका सपना, घाइते अपाङ्ग योद्धाका आकांक्षा, आम नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने हो, जुन काम अझै पूरा हुन बाँकी नै छ । जुन जनयुद्धका अभियन्ता माओवादीहरूले पूरा गर्ने उद्यत र उद्यम गर्नु आवश्यक छ । हाम्रो नीतिलाई अरुले पूरा गर्दैनन् पनि । आफूले जन्माएको बालक आफैँले हुर्काउनु प्राकृतिक नियम नै हो । त्यसका लागि नै तल्लो वर्गका समस्या, आवश्यकता र आकांक्षालाई हामीले आत्मसात् गर्नै पर्छ । 

गरीब, किसान, ज्यामी, खेताला, मजदूरका आवाज माओवादीले नसुने अरु कसले पो सुन्ला र ? जनयुद्धको मूल उद्देश्य पनि त्यसैमा अन्तर्निहित छ । जनयुद्धको आधारमा टेकेर उठेको जनआन्दोलनको संयुक्त पहलबाट जनताले आफ्नै हातले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ सम्बिधान बनाएका छन् । यो एउटा युगान्तकारी घटना हो । यसको रक्षा र प्रयोग गर्दै सीमित नै सही प्राप्त उपलब्धिलाई मास्न नदिई अगाडिको समाजवादको सङ्कल्प पनि पूरा गर्नु पर्नेछ ।

मुलुकमा समृद्धि र विकास, प्रगति र समुन्नति, खुसी र सुखी समाज स्थापना गर्न अझै पनि शान्तिपूर्ण सङ्घर्षको आवश्यकता भने सँधै रहिरहन्छ र त्यसको लागि सांस्कृतिक रुपान्तरण पनि जरुरत छ भन्ने यथार्थलाई पनि हामीले बिर्सिनु हुँदैन । जनयुद्ध दिवसले यही प्रेरणा हामीलाई दिइरहेको छ । फागुन १ वसन्त ऋतु आगमनको आरम्भ हो । एक दिन मुलुकमा पनि मुक्ति, स्वतन्त्रता र स्वाभिमानको त्यो वसन्त जरुर आउने छ । अनि जनयुद्धका उद्देश्य पूरा हुनेछन् । जनयुद्ध दिवसले सबैमा यही आशावादी सन्देश र जीवनवादी जागृति दिनेछ । (लेखक जनसांस्कृतिक महासङ्घ नेपालका पूर्वअध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्बको विद्युत् निर्यात जनकपुरका लागि मिलन्थाले खेले अर्धशतक पारी सुदूरपश्चिमविरुद्ध जनकपुरले पहिलो विकेट गुमायो बारामा कारभित्र एक जना पुरुष मृत अवस्थामा फेला एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा एनपीएलको फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : प्रधानमन्त्री ओली जनकपुरका निशमले लिए सुदूरपश्चिमको चौथो विकेट सुदूरपश्चिम रोयल्सलाई लगातार दोस्रो झट्का, भण्डारी आउट सुदूरपश्चिम रोयल्सलाई पहिलो झट्का, जेब ६९ रन बनाएर आउट जनकपुरविरुद्ध सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक चन्द्रागिरी–चित्लाङ सडक अवलोकनमा मन्त्री सिंह, छिटो काम सक्न दिए निर्देशन पावलरप्लेको अन्त्यमा सुदूरपश्चिमले जनकपुरविरुद्ध ४८ रन बनायो चालु आर्थिक वर्षको पाँच महिनामा १२ वटा गैँडा मृतावस्थामा भेटिए एनपीएलको फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम बागमती प्रदेश खेलकुद विकास परिषद्ले २६ जना स्वयंसेवक नियुक्त गर्दै