यसरी गरिएको थियो एनआरएनए चुनावमा धाँधली: खुल्दैछन् प्रमाणहरु

Posted on: 28 Oct, 2023

कात्तिक ११, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा भएको मतदानका क्रममा ब्यापक धाँधली भएका प्रमाणहरु सार्वजनिक हुन थालेका छन् । डा.बद्री केसी, डा.हेमराज शर्मा र गौरी जोशीको निर्देशन र योजनामा एनआरएनएमा पहिलो पटक गराइएको अनलाइन चुनावमा व्यापक धाँधली गरिएका प्रमाणहरु सार्वजनिक भएका हुन् ।

हुन त धाँधलीको छानबिन गर्न तीन सदस्यीय समिति प्राविधिक विज्ञ  बनाउने सहमति भएको थियो । निर्वाचन समितिले तत्काल निर्वाचन प्रक्रिया स्थगित गरिसकेको  र अध्यक्षका तीन जना उम्मेदवारले तोकेका प्राविधिक विज्ञ सम्मिलित प्रतिनिधिहरुको समिति बनाएर साइबर अडिट गरेर सत्य तथ्य सार्वजनिक गर्ने सहमति गरिएको थियो । तर  सबै सहमतिहरुलाई लत्याएर डा बद्री केसीले हतारहतार सपथ लिनुले ‘दालमें कुछ काला है’ भन्ने भनाइ पुष्टि गरेको छ।

पहिलै सिस्टममा इन्ट्री भइसकेका उम्मेदवारको नाममा स्पेलिङ त्रुटी देखाइएको, नो भोटलाई काउन्ट नगरी स्किप गरिएको, मतदान चलिरहँदा कतारमा भएका डेलिगेट्सको नाममा  काठमाडौंमै उपस्थित भएर मतदान गरिएको, जम्मा मतदाता भन्दा बढी मत खसेको जस्ता प्रशस्त त्रुटीहरु देखिएपछि साइबर अडिट गर्ने सहमति विपरित ड.केसीको समूहले जबरजस्ती शपथ लिएपछि व्यापक धाँधली गरिएको भएको हो  ।

धाँधलीको फेहरिस्त

गत विहीबार (१९ अक्टोबर) का दिन काठमाडौँको सोल्टी होटेलमा भेला भएका ८२३ जना डेलिगेट्सहरुले भोट खसाले।  उनीहरुलाइ युजर नेम र पासकोड सहितको सानो चिट दिइएको थियो। ।  त्यसपछि उनीहरुलाई निर्वाचन समितिले व्यवस्था गरेका ल्यापटपहरुमा गएर ‘लग इन’ गरेर भोट हाल्न भनियो।  अमेरिकाको निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतको रुपमा काम गरिसकेका विश्व बराल भोट खसाल्न जाँदा ‘यु ह्याभ अलरेडी भोटेड ’ भन्ने संदेश आएपछि उनको नाममा अर्कैले भोट हाली सकेको पुष्टि भएको थियो । अर्का उम्मेदवार गोविन्द श्रेष्ठ ‘रोविन्द’ को ल्यापटपमा पनि त्यस्तै मेसेज आएपछि उनले भोट हाल्न  पाएनन्।

मतदाताहरुले  भोट हालेर निस्केपछि त्यहाँ खटाइएका युवाहरुले उनीहरुसंग रहेको चिट मागेर राखेका थिए । एनआरएनए केन्द्रीय कार्यालयमा कार्यरत आइटी टिमलाई परिचालन गरी काठमाडौँमा खसेको मतलाई फेरबदल गरी डा.केसी र उनको टिमको पक्षमा मतदान गरिएको र त्यही डेटा अष्ट्रेलियास्थित कम्पनी भेरोलाई पठाईएको प्रारम्भिक छानबिनबाट थाहा भएको छ।  त्यति गर्दा पनि केसीले एकसय भन्दा पनि कम मतले जितेको घोषणा गरिएको थियो।

धाँधलीका केही उदाहरणहरु  

एनआरएनको उपाध्यक्ष पदका उम्मेदवार अमेरिकाका डा.केशव पौडेलले काठमाडौँमा गरिएको मतदानमा जिरो मत पाएको देखाइयो। पछि उनको नामको स्पेलिंग फरक परेकाले त्यस्तो हुन गएको दावी गरियो।  तर दुइ वर्ष पहिले एनसीसी जापानको चुनावमा पनि मतदाताको नामै परिवर्तन गर्ने, इमेल परिवर्तन गर्ने र देश बाहिरबाट समेत मतदान गराएको फेला परेको थियो।  कतार लगायत कतिपय देशहरुबाट फेस भेरिफीकेशन नमिलेको भन्दै मतदान गर्न नपाएको उजुरी निर्वाचन समितिमा परेको छ, तर समितिले कुनै सुनुवाई नै गरेन।

अन्तिम समयमा अमेरिकाबाट डेलिगेट्स थप गरिएको भन्ने उजुरी पर्यो, तर निर्वाचन समितिले त्यो पनि सुनुवाई नगरेको डेलिगेट्सहरुको भनाइ छ ।  त्यस्तै मतगणना गर्दा भोटर संख्या भन्दा खसेको मत बढी देखियो, तर भेरो भोटिङ कम्पनीले कुनै स्पष्टीकरण दिएन।  नेपालमा रहेका डेलिगेट्सको नाममा साउदी अरबमा अर्कै व्यक्तिले भोट खसाली दिएको जस्ता गुनासाहरु निर्वाचन समितिमा परे पनि त्यसको कुनै सुनुवाइ नै नगरी प्रक्रिया अगाडि बढाइयो  ।

एमआइएस प्रणाली सोझै आफ्नो नियन्त्रणमा राखेका डा.केसी, डा.हेमराज शर्मा, गौरी जोशी लगायतले ४,२०० भन्दा बढी डेलिगेट्सको नाम, इमेल र फोन नम्बरमा पटक, पटक आफुहरुलाई भोट माग्दै मेसेज पठाएका थिए। अध्यक्ष पदका उम्मेदवारद्वय महेश श्रेष्ठ र आर के शर्मा संसार भरि घुमेर भोट माग्दै गर्दा बद्री केसी काठमाडौँमै बसेर एमआइएस प्रणाली माथि टोटल कन्ट्रोल गर्न व्यस्त थिए। बद्री केसी पक्षले  सिस्टम आफ्नो नियन्त्रणमा लिएर सोझै चुनाव आफ्नो पोल्टामा पार्ने रणनीति पहिल्यै तयार पारेको कतिपयको बुझाइ थियो । अर्को पक्षका उम्मेदवारहरुले भने अधिकांश  डेलिगेट्ससंग प्रत्यक्ष सम्पर्क नै गर्न सकेनन्। विभिन्न देशमा पुगेर प्रत्यक्ष भोट माग्ने र सामाजिक संजालमा अभियान चलाएर स्वस्थ्य प्रतिस्पर्धा गरिरहँदा डा.केसीको टिम सिस्टम नियन्त्रणमा लिएर चुनाव जित्नेमा ढुक्क थियो । तर उपाध्यक्षका उम्मेदवार डा.पौडेलको मत सून्य देखिएपछि एनआरएनए कब्जा गर्ने रणनीतिको  पर्दाफास भयो ।

डेलिगेट्स छनोट गर्दा धाँधली गरिएको भन्ने विवादका कारण १० औं महाधिवेशन समयमा सम्पन्न हुन सकेन, पछि तीन जना अध्यक्षसहित जम्बो टिम बनाइयो। तर यस पटक पनि डेलिगेट्स चयन गर्दा पुरानै क्राइटेरिया लागू गरिनु, सन् २०२१ मा जापान लगायतका मुलुकहरुमा गराइएको चुनावमा धाँधली गराउन जिम्मेवार पाइएका आइटी अधिकृत महेश श्रेष्ठले पदबाट राजीनामा दिएको भए पनि कार्यकारी अध्यक्ष डा. केसीले फेरी तिनैलाइ तलब थप गरेर एमआइएसको जिम्मा दिएको र  योजनाबद्ध धाँधलीमा उनी संलग्न रहेको प्रमाण फेला परेपछि साइबर व्युरोले उनीसंग बयान लिइसकेको छ।

यसैगरी अनलाइन चुनावमा धाँधली गरेको भन्दै डा.केसी, गौरी जोशी, प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगाना तथा आइटी कर्मचारीहरु विरुद्ध नेपाल प्रहरीमा किटानी जाहेरी परेको छ।  प्रहरीले छानबिन सुरु गरेपछि केसीले सहमतिको प्रयासहरु अघि सारेका छन् । उनले आरके शर्मालाई छुट्टै भेटेर सहमतिमा अघि बढ्न प्रस्ताव गरेपनि शर्माले पुनःनिर्वाचनको एक सुत्रीय मुद्दा अघि बढाएका छन् । साथै परराष्ट्र मन्त्रालयमा आफ्नो समितिलाई आधिकारिकता दिनका लागि शर्माले निवेदन  दर्ता गराइसकेको बताए ।

अब के हुन्छ ?

एनआरएनएको चुनावमा व्यापक धाँधली गरिएको भन्दै विरोध भएपछि तीन जना अध्यक्ष कुल आचार्य, डा.बद्री केसी र रबिना थापाले महाधिवेशनको बाँकी कार्यक्रम स्थगित गरेका थिए।  तीन सदस्यीय प्राविधिक विज्ञ टोली गठन गरी छानबिन गर्न केसीले पनि सहमति जनाएका थिए।  तर त्यस्तो छानबिनबाट योजनाबद्ध रुपमा धाँधली गरेको सार्वजनिक हुने देखेपछि उनले हतारहतार निर्वाचन समितिलाई प्रभावित गरी सपथ खाएका थिए  ।

नेपाल प्रहरीको साइबर क्राइम ब्युरोले छानबिन सुरु गरेपछि दबाबमा परेका केसीले छलफलबाट सहमति गरौँ भन्ने प्रस्ताव ल्याएका छन्, तर अध्यक्षका उम्मेवारद्वय शर्मा तथा महेश कुमार श्रेष्ठ चाहिं समानान्तर समिति गठन गरेर योजनाबद्ध धाँधलीको पर्दाफास गरेरै छाड्ने अभियानमा अघि बढेका छन् । यता, डा.केसीले भेरो कम्पनी छनोट गर्ने समितिमा अध्यक्षका उम्मेदवार श्रेष्ठ र शर्मालगायतलाई दिएको, भेरो कम्पनीलाई आफूहरुले प्रभावित पार्न नसकिने, त्रुटी भएको खण्डमा तीन महिनाभित्र साइबर अडिट गर्न सकिने साथै आफू गलत भए पद त्याग गर्ने बताउँदै आएका छन् ।  

'एनआरएनए कब्जा गरेर बसेको आपराधिक गुटलाई यस पटक पनि नंग्याउन नसक्ने हो भने हामी एनआरएनए छाडेर हिडेहुन्छ," एकजना उपाध्यक्षले भने।  त्यसैले यस पटक एनआरएनए भित्र वार कि पारको स्थिति बन्दै गएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!