गाजाको अस्पतालभित्र 'नेपाली बन्धक' पनि देखिएको विवरण, के भन्छ नेपाल सरकार?

Posted on: 20 Nov, 2023

मङ्सिर ४, काठमाडौँ | इजरेली सेनाले गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ।

इजरेली सेनाको एक्स (पहिलाको ट्विटर) खातामा भनिएको छः “…इजरेली भूमिबाट अपहरण गरिएका एक नेपाली र एक थाई नागरिक सशस्त्र हमास आतङ्कवादीहरूबाट घेरिएका [फुटेजमा] देखिन्छ।”


अक्टोबर ७ तारिखको हमास हमलापछि बन्धक बनाइएका व्यक्तिहरूलाई अल-शिफा अस्पताल पुर्‍याउँदै गरिएको देखिएको आईडीएफले उल्लेख गरेको छ।

समाचार ब्रीफिङका क्रममा इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले आइतवार सार्वजनिक गरेको सीसीटीभी फुटेजको बीबीसीले स्वतन्त्र रूपमा आधिकारिता पुष्टि गर्न सकेको छैन।

परराष्ट्रमन्त्री के भन्छन्?

आईडीएफले सार्वजनिक गरेको पछिल्लो भिडिओ फुटेजबारे बीबीसी न्यूज नेपालीले परराष्ट्रमन्त्री एनपी साउदसमक्ष जिज्ञासा राखेको थियो।

सो क्रममा उनले ताजा भिडिओबारे थाहा नभए पनि हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी “सकुशल” रहेको जानकारी पाएको बताए।

इजरेलस्थित नेपाली दूतावासले पनि आइतवार एउटा विज्ञप्ति जारी गर्दै “जोशी हालसम्म सम्पर्कविहीन रहेको र उनको खोजी जारी रहेको” जनाएको छ।

“त्यो भिडिओ फुटेजबारे नै त हामीलाई केही जानकारी आएको छैन। तर हिजो राति अबेर इजरेली अधिकारीबाट हामीले पाएको जानकारीअनुसार विपिन जोशी सकुशल र बन्धक अवस्थामा हुनुहुन्छ, ” साउदले भने।

जोशीको रिहाइका लागि आवश्यक पहल गरिरहेको अधिकारीहरूले बताउँदै आएका छन्।

“हामीले कतार सरकार र अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीसँग कुराकानी गरिरहेका छौँ,” साउदले सोमवार बिहान भने।

हमाससँग पनि केही कुराकानी भएको छ कि भन्ने प्रश्नमा उनले भने, “हमास समूहसँग नै हाम्रो कुरा भएको छैन।”

अधिकारीहरूका अनुसार जोशीको रिहाइमा सघाइदिन भन्दै कतारलाई औपचारिक पत्र नै पठाइसकिएको छ।

भिडिओमा के छ?

बीबीसीका निक बीकका अनुसार आइतवार समाचार ब्रीफिङका क्रममा आईडीएफका प्रमुख प्रवक्ता ड्यानिअल हगारीले सीसीटीभी फुटेज देखाएका थिए।

त्यो फुटेज अक्टोबर ७ तारिखको बिहानको हो जुन दिन हमासले दक्षिणी इजरेलमा अचानक हमला गरेको थियो।

त्यो हमलामा १,२०० इजरेली मारिए भने २४० जनाभन्दा बढीलाई हमासले बन्धक बनाएर लगेको थियो।

दुई बन्धकलाई गाजाको सबैभन्दा ठूलो र आधुनिक अस्पताल पुर्‍याउँदै गरिएको भिडिओ फुटेजमा देखिन्छ। अक्टोबर ७ तारिख उल्लिखित सीसीटीभी भिडिओमा सशस्त्र व्यक्तिहरू पनि देखिन्छन्।


एक बन्धकले प्रतिरोध गरिरहेको र अर्का स्ट्रेचरमा पल्टिरहेको पनि भिडिओमा देखिन्छ।

इजरेलले सार्वजनिक गरेको भिडिओबारे प्रतिक्रिया जनाउँदै गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले फुटेजको आधिकारिकता पुष्टि गर्न नसकेको जनाएको छ।

गाजामा स्वास्थ्यसेवाहरू काम नै नलाग्ने अवस्थामा पुर्‍याएको इजरेलले सबै जिम्मेवारी लिनुपर्ने मन्त्रालयले बताएको छ। -बिबिसिबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!