विभिन्न देशमा नयाँ राजदूत सिफारिस

Posted on: 18 Aug, 2020

भदौ २, काठमाडौँ | सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वेल्जियम र  युरोपियन युनियन तथा पाकिस्तान र जर्मनीका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीलाई वेल्जियम र युरोपियन युनियन, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई नियुक्ति गर्ने सिफारिस गर्ने निर्णय गरेको छ । 

बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत समाज कल्याण परिषद् कोषाध्यक्षमा लोकनाथ सुवेदीलाई नियुक्त गरिएको मन्त्री डा खतिवडाले जानकारी दिनुभयो । 

यसैगरी युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा आर्थिक वर्ष २०७७र७८ का लागि १६ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ । बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्षमा खोटाङका डा देवराज रोकालाई नियुक्त गरेको सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!