एजेन्सी | बेलायतमा नेपालीहरूद्वारा सञ्चालित दुई गहना पसल लुटिएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो । स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरूको गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका छन् ।
सोही स्थान निवासी शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष एवम् पत्रकार वाचस्पति रेग्मीका अनुसार घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको र त्यहाँ कसैलाई जान दिइएको छैन । हालसम्म यसको विस्तृत जानकारी आइनसकेको रेग्मीले बताए ।
लुटपाटबाट के कति क्षति भयो भन्ने स्पष्ट भइसकेको छैन । लुटिएका दुवै गहना पसल अहिले प्रहरीले घेराबन्दी गरेको छ।