Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘एकका लागि एक अभियान’बाट एक करोड २० लाख उठ्यो

२०७७, ३० असार मंगलवार ०५:२६

सुरेन्द्र भण्डारी । असार ३०, झापा। ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उक्ति झापाका मनकारी दाताहरुले प्रमाणित गरेका छन् । पुर्खाहरुले व्यवहारले सिद्ध गरेका कुरा आज हाम्रो समाजमा भनाइ र उखानका रूपमा प्रचलित छन् । त्यसैमध्येको ‘एकतामा बल हुन्छ’ भन्ने भनाइ पनि यसैसँग मिल्दोजुल्दो छ ।

सामूहिक सहयोगमा उदाहरणीय कर्म गर्न अग्रसर झापा विर्तामोड–२ चारपानेका युवा महेन्द्रकुमार गिरीको कल्पनामा ‘एकका लागि एक अभियान’ प्रारम्भ भयो । यसअघि पनि सामूहिक कर्ममा रमाउने गिरीले आफूजस्तै उत्साही युवा तथा अग्रजहरुको साथ र सहयोगमा महामारीको रूप लिएको कोरोना भाइरसका कारण उत्पन्न पीडामा मलम लगाउने योजना बन्नुभयो । महामारीको रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले विपन्न वर्गको चुलो बल्न छाडेपछि अभियानअन्तर्गत एक जनाले एक जनाको चुलो बाल्ने योजनाअनुसार सहयोग सङ्कलन गर्न थालियो । अभियानको यो यात्रामा गिरीजस्तै ऊर्जाशील युवा विनोद बस्नेत, एकराज गिरी, सजेश शिवाकोटी, मिजास पोखरेल, कुमारमणि पोखरेल, कुमार भट्टराई, निर्मल भट्टराई, केदार गिरी, मदनगोपाल सुब्बा, अर्जुन चुडाल, सञ्जिव घिमिरेलगायतको अग्रसरतामा विभिन्न सङ्घसंस्था र तिनका प्रतिनिधि समाहित भए ।

अभियानअन्तर्गत पहिलो चरणमा सडकमा अलपत्र परेकाहरुलाई खाना खुवाउँदै चुलो नबलेकाहरुको पहिचान गरी खाद्य सामग्री वितरण गरियो । झण्डै दुई हजार परिवारलाई रु दुई हजार बराबरको खाद्य सामग्री पुर्याएर सामाजिक कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरेको अभियानले दोस्रो चरणमा क्वारेन्टिनमा बसेकाहरुलाई समेत खाना खुवाएको थियो । 

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अभियानले कोरोना परीक्षणका लागि पिसीआर मेसिन खरिद गर्ने निर्णय गर्दै देश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई जोड्दै रकम सङ्कलन शुरु गर्यो । अहिले यो अभियानबाट रु एक करोड २० लाख सङ्कलन भएको अभियानका संयोजक गिरीले बताउनुभयो । सङ्कलित रकमले कोरोना परीक्षणका लागि पिसीआर मेसिन खरिद गरिने भएको छ । प्रदेश नं १ सरकारको मातहतमा रहने गरी कनकाई नगरपालिकास्थित कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिन लागेको हो । यसअघि जनसहभागिताबाट निर्माण भएको समर्पण कर्मयोग भवनमा ल्याब राख्न आवश्यक तयारी पूरा भएको अभियानका सहसंयोजक विनोद बस्नेतले बताउनुभयो । 

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण मुलुक नै आक्रान्त बनिरहेका बेला गत वैशाख १९ गतेदेखि झापामा ‘एकका लागि एक अभियान’ शुरु भएको थियो । अभियान शुरु भएसँगै एक हुनेखाने व्यक्तिले नहुने (विपन्न) एक परिवारलाई कम्तीमा रु दुई हजार बराबरको खाद्यान्य सहयोग गर्न शुरु गरिएको अभियानमा अहिले एक हजार २०० जना जोडिएका छन् । उनीहरुबाट झापामा पिसीआर मेसिन स्थापनाका लागि रु एक करोड २० लाख जुटेको छ ।

 शुरुका दिनमा झण्डै रु २५ लाख बराबरको खाद्य सामग्री विपन्न परिवारलाई सहयोग गरेको अभियानले अहिले ल्याब स्थापनाका लागि रकम जुटाइरहेको छ । अभियानका लागि अहिले देश तथा विदेशबाट सहयोग सङ्कलन भइरहेको अभियानकर्मी गिरीको भनाइ छ । अभियानका लागि झापाका सहकारी संस्थादेखि अन्तर्राष्ट्रिय झापाली समाजसम्मले सहयोग गरेका छन् । झापाली अन्तर्राष्ट्रिय समाजले रु २५ लाख सहयोग गरेको समाजका उपाध्यक्ष नवीन पोखरेलले जानकारी दिनुभयो ।

झापामा रहेका सहकारी संस्थाहरुले मात्रै अभियानका लागि रु १५ लाखभन्दा बढी सहयोग गरेका छन् । अति सामान्य परिवारले समेत रु दुई हजार  सहयोग गर्दै अभियानमा साथ दिएपछि झापाका १५वटै स्थानीय तहले समेत अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । झापामा कोरोना परीक्षणका लागि ल्याब राखेर झापामै सहजरूपमा अतिविपन्न वर्गले स्वास्थ्य जाँच गर्न सकुन् भन्ने उद्देश्यले सञ्चालन गरेको अभियान अत्यन्त राम्रो भएको बताउनुहुन्छ बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी । “अभियान अत्यन्त राम्रो छ, यो अभियानमा हामी सबैको साथ रहन्छ”, उहाँले भन्नुभयो । 

प्रदेश सरकार मातहतमा अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल विराटनगर र सुनसरीको धरानमा रहेको बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको ल्याबमा मात्रै कोरोना सङ्क्रमणको परीक्षण हुने गरेको छ । झापामा नै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्न पहल थालिएपछि प्रदेश सरकारले समेत ल्याब स्थापना गर्ने ठाउँको अवलोकन गरेको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित चिकित्सकको टोलीले अनुगमन गरेको हो । मेची अञ्चल अस्पतालकै मातहतमा रहने गरी ल्याब सञ्चालनको तयारी भइरहेको अभियानका संयोजक गिरीले बताउनुभयो । ल्याब साउनको पहिलो साताबाट सञ्चालनमा ल्याइने तयारी थालिएको छ । ल्याब स्थापनाका लागि झण्डै रु एक करोड ३० लाख लाग्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा विर्तामोडका सभापति सजेश शिवाकोटीले बताउनुभयो ।

अभियानलाई दिनहुँ सहयोग जुट्दै

‘कोभिड–१९ को सङ्क्रमणबाट बचौँ, विपन्न, गरीब तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने मूल नारासहित थालिएको अभियानले झापामा नै कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने भएपछि दिनहुँ सहयोग जुट्ने क्रम जारी छ । सोमबार मात्रै विर्तामोडका मनकारी दाताहरुले झण्डै रु एक लाख २० हजार  सहयोग गरेका छन् । आइतबार दमकमा रहेका सहकारी संस्थाहरुले रु छ लाख ५० हजार अभियानलाई प्रदान गरेका थिए । सोमबार विर्तामोडस्थित अतिथि सदनमा एसपी प्रसाईँ, भक्ति गौतम, कमल बाँस्कोटा, कमल चुडाल र नीरज चुडाललगायतका दाताहरुले अभियानका लागि रकम अभियानका संयोजक गिरीलाई प्रदान गरेका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू