२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडकले जोडियो नेपाल र भारतको सिक्किम

२०७७, ५ फाल्गुन बुधबार ०९:५२

फागुन ५, पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । 

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवतजावत सम्भव भएको छ । सिक्किम राज्य सरकारले नेपालको सीमासम्म सडक विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको थियो । 

सोहीअनुसार सिक्किम पहिलोपटक सडक मार्गले नेपालसँग जोडिएको हो । सिक्किम (भारत)ले करीब दुई हप्ताअघि सडकको ट्र्याक चिवाभञ्ज्याङमा दशगजासम्म विस्तार गरेको हो । सडकको ट्र्याक खोलिएपछि सिक्किमका स्थानीय सरकारी अधिकारी, जनप्रतिनिधिहरू तथा निर्माण व्यवसायीहरूले चिवाञ्ज्याङ क्षेत्रको अवलोकनसमेत गरेका थिए । 

नेपालले २०७० सालमा चिवाभञ्ज्याङसम्म सडकको ट्र्याक विस्तार गरेको थियो । भारततर्फ पश्चिम सिक्किमको उत्तरे बजारसम्म वर्षौंअघि सडक आइपुगेको थियो । सिक्किमले सन् २०१९ मै चिवाभञ्ज्याङसम्म सडक विस्तार गर्ने चर्चा चले पनि निर्माणले गति लिन सकेको थिएन । भौगोलिक कठिनाइका कारण उत्तरेबाट सीमा क्षेत्रसम्म सडक विस्तार कार्यमा ढिलाइ हुँदै आएको थियो । 

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेको सरकारले सीमासम्म सडक विस्तार गर्ने तथा उत्तरे बजारलाई व्यापारिकरूपमा विकास कार्यलाई प्राथमिकता राखेअनुसार पछिल्लो पटक निकै द्रूत गतिमा सडक निर्माण भएको सीमा क्षेत्रका नेपालीको भनाइ छ । 

विगतमा चिवाभञ्ज्याङबाट करीब चार घण्टा पैदल यात्रापछि उत्तरे पुग्न सकिन्थ्यो । सडक विस्तारपछि करीब डेढ घण्टामा चिवाभञ्ज्याङ–उत्तरे यात्रा हुनसक्ने सिक्किमको ‘सिक्किम न्यूज’ ले जनाएको छ । उत्तरे बजारबाट सोकपाखा, जरिबुटे, भालुवाले हुँदै सडकको ट्र्याक सीमासम्म विस्तार गरिएको हो । पछिल्ला केही वर्षमा निकै दुर्गम भूगोलमा करीब २५ किलोमिटर नयाँ ट्र्याक खोलिएको हो । 

नेपालले चिवाभञ्ज्याङसम्म सडक पु¥याएपछि पनि भारततर्फ सडक विस्तार नहुँदा सीमा क्षेत्रका नेपाली चिन्तित थिए । तर सीमासम्म भारतले सडक ल्याएपछि उनीहरु खुशी देखिन्छन् । अब चिवाभञ्ज्याङमा व्यापारिक नाका खोलिनुपर्ने तथा व्यापारिक सम्बन्ध स्थापित हुनुपर्ने उनीहरूको माग छ । “उत्तरेको विकास गर्ने भनेर सिक्किम सरकार लागिपरेको सुनेका छौँ”, याङवरक–२ का स्थानीयवासी सन्त बेघाले भन्नुभयो, “एकापट्टि मात्रै काम गरेर पुग्दैन । दुवैतर्फ व्यवस्थित सडक निर्माण र व्यापारिक नाका स्थापना हुनुपर्छ ।” 

पदयात्रा सहयोगी एवं गोठ सञ्चालक डिकबहादुर राई पनि नाका खोलिनुपर्ने, आवत–जावत र व्यापार सहज हुर्नेमा जोड दिनुहुन्छ । “सीमित भए पनि सीमा क्षेत्रका हामी अधिकांश सामग्री सिक्किमबाट खरीद गर्छौं”, राईले भन्नुभयो, “नाका खोलियो भने नागरिकलाई सुविधा त हुन्छ नै सरकारलाई समेत फाइदा मिल्छ ।” अहिले भारतबाट खरीद गरिने सामग्री यहाँसम्म ल्याइपु¥याउन ढुवानीमा धेरै खर्च हुने गरेको छ । सिक्किमबाट खरीद गर्न सके छोटो दूरी हुने हुँदा सामग्री कम मूल्यमा नेपाली उपभोक्ताले प्राप्त गर्न सक्दछन् । 

यस्तै सीमा क्षेत्रका पर्यटकीयस्थलहरू भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको छ । सडकको सुविधा नहुँदा पर्यटकको सङ्ख्या कम हुने गरेको पदयात्रा सहयोगी राईको भनाइ छ । अहिले पनि भारततर्फ सडकको ट्र्याक मात्रै खोलिएको छ । सवारी सञ्चालनका लागि सडक कठिन भएकाले घुम्न आउनेको सङ्ख्या वृद्धि हुन सकेको छैन । व्यापारिक नाका स्थापित हुनसके भारततर्फ समेत पूर्वाधार निर्माणले गति लिने भएकाले यसका लागि कूटनीतिक पहल गरिनुपर्ने स्थानीयवासीको माग छ । नेपालतर्फ भने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड ५१ किलोमिटरको कालोपत्रको ठेक्का लागिसकेको छ । 

दुवै देशका सीमा क्षेत्रका स्थानीयवासीबीच बिहेवारी हुने गरेको छ । विगतमा गोठबाट गाँसिएको साइनो पारिवारिक सम्बन्ध हुँदै दुई देशबीचको मैत्री सम्बन्धमा परिणत हुने गरेको छ । यसकारण चिवाभञ्ज्याङ नाका हुँदै आवतजावत गर्नेको सङ्ख्यासमेत उल्लेख्य हुन्छ । पारिवारिक सम्बन्ध भए पनि यातायातको सुविधा नहुँदा कैयौँ सर्वसाधारणले आफन्त भेट्न पाएका थिएनन् । दुवै देशतर्फ सडकको स्तरोन्नति हुनसके दैनिक आवागमन अझै बढ्ने स्थानीयवासी बताउँछन् । सिक्किमको नेपालको पाँचथर र ताप्लेजुङ जिल्लासँग सीमा जोडिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो