३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महामारीमै भारत जानेहरु भन्छन्-‘रोगभन्दा भोकको चिन्ता भयो’

१३ श्रावण २०७८, बुधबार १०:०५

शेरबहादुर सिंह । साउन १३, महेन्द्रनगर । शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिनुभयो ।

कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक अवस्थाले पुनःभारत जाने बाध्यता आइलाग्यो । “घरमा आयआर्जन केही छैन्”, गड्डाचौकीबाट सीमावर्ती भारतीय बजार बनबासा जाँदै गरेका उपाध्यायले भन्नुभयो, “कोरोनाको डर मानी क्यार्नु, परानी कसरी पाल्नु घर बसी ?”


उहाँले परिवारका सदस्यको सहमतिमा कोरोना त्रासका बीच आफू रोजगारीका लागि भारत जान हिँडेको बताउनुभयो । “घरमा जीविका चलाउन गाह्रो भएपछि परिवारका सदस्यले नै यहाँ बसेर कसरी खर्च चल्छ भने”, उहाँले भन्नुभयो, “हामीलाई त कोरोना भन्दा भोकले मर्ने स्थिति आइलाग्यो ।” उपाध्यायसित देहरादुन जान हिँडेका गाउँका अन्य तीन युवा समेतसँगै हुनुहुन्थ्यो ।

त्यसैगरी कक्षा ८ मा अध्ययनरत १५ वर्षीय छोरा उपेन्द्र बटालासहित ३६ वर्षीया गर्वा बटाला पनि भारतको सिमला जाँदै हुनुहुन्थ्यो । “कोरोनाले स्कुल बन्द भएपछि दुई÷चार महीनाको कमाइले घरखर्च त चल्ला भनेर दुई छोरी छाडेर सिमला जाँदैछु”, यहाँको बेदकोट नगरपालिका–३ दैजीका बटालाले रासससित भन्नुभयो, “श्रीमान् नौ वर्षअघि बित्नुभयो, छोराछोरीको छाक टार्न भारत जानु नियती नै हो ।” बटालाले गाउँका मान्छेसितको साथमा सिमला जान लागेको बताउनुभयो ।

“सिमलामा पनि सजिलो काम छ भनेर गाउँलेले बोलाएपछि त्यहाँ जान हिँडेका हौँ ”, उहाँले भन्नुभयो, “कोरोनाको डर मानेर के गर्नु, खान त चाहियो नी ।” उहाँले आफूसित दैजीमा घरबासका लागि आधा कठ्ठा जग्गा मात्रै भएको बताउनुभयो । दैजीको शारदा माविमा अध्ययनरत उपेन्द्रले परिवारको आर्थिक समस्याले आफू पनि भारत जान लागेको बताउनुभयो ।

“हाम्रो गाउँका धेरै विद्यार्थी अहिले स्कुल बन्द हुँदा भारत मजदूरीका लागि गइरहेका छन्”, उहाँले भन्नुभयो, “आमा यहाँ हुँदा अरुको घर, इँटाभट्टामा काम गरेर छाकको जोहो गर्नुहुथ्यो ।” गत चैतमा कोरोनाको दोस्रो लहरले भारत आक्रान्त भएपछि स्वदेश फर्किएका नेपाली पुनः रोजगारीका लागि भारत जान थालेका छन् ।

सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य सदियौंँदेखि भारत हो । चाडपर्व र खेतीबारीका बेला स्वदेश फर्किने तथा अरुबेला भारतमा रोजगारी गर्ने यहाँका स्थानीयवासीको परम्पराको रुपमा विकास हुँदै  गएको थियो । पछिल्लो समय कोरोना कहरमा सुदूरपश्चिमका मात्रै करीब दुई लाख भन्दा बढी नागरिक स्वदेश फर्किएको तथ्याङ्क छ ।

त्यसैगरी दैजीकै १६ वर्षीय हिक्मत धामी कोरोनाको सङ्क्रमणका बीच भारतको सिमला हिँड्नुभएको छ । “बुबा सानैमा भारतको बैङ्लोरमै बित्नुभयो”, धामीले भन्नुभयो, “कोरोनाको अवस्था सामान्य बन्दै स्कुल खुलेपछि फर्किने योजनामा छु ।” धामी पनि कक्षा ८ मा अध्ययनरत विद्यार्थी हो ।

त्यस्तै भारतको पिथौरागढ मजदूरीका लागि जान हिँडेका सुर्खेतका ५५ वर्षीय प्रेमबहादुर खत्रीको व्यथा पनि उस्तै छ । एक दशकदेखि मजदूरीका लागि भारत आउनेजाने गरेका खत्री कोरोनाको दोस्रो लहरबीच गत वैशाखमा आफू घर फर्किए पनि पुनः त्रासकाबीच भारत जानु बाध्यता भएको बताउनुहुन्छ ।

“उत्तराखण्डमा कोरोनाको सङ्क्रमण कम छ भन्छन्, त्यही भएर पिथौरागढमा सडक निर्माणको काममा जान हिँडेको”, उहाँले भन्नु्भयो, “आफू र परिवारको भोक टार्न बाध्यताले जानै पर्यो  ।” खत्रीसँगै भारत जान लागेका सूर्य गुरुङले आफूहरु दुःखले मुग्लान जान लागेको पीडा सुनाउनुभयो ।

“घरपरिवारसित बस्ने रहर त कस्लाई पो हुन्न र ?”, उहाँले भन्नुभयो, “सरकारले कोरोनाबाट प्रभावितलाई रोजगारी दिने आशा थियो, त्यो त गफ मात्रै रहेछ ।” कोरोना कहर पुनः बढिरहेका बेला यहाँका शैक्षिक सङ्घ–संस्था बन्द हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी अभिभावकसित भारत जाने क्रम बढिरहेको छ ।

“हाम्रो त सरकारी स्कुल अनलाइन कक्षा पनि पढाइ हुदैन्”, उपेन्द्रले भन्नुभयो, “दुई महीना पनि भारतमा काम गरे केही समय खानलाई त आउला भनेर जान लागेको हुँ ।” विद्यालयमा अध्ययन निःशुल्क भए पनि घरमा छाक टार्न आमाले गर्ने सङ्घर्ष सम्झिँदै भावुक बनेका उहाँले भन्नुभयो, “आमाले मजजूरी गरेनन् भने घरमा चुल्हो नै बल्दैन् ।” 

गड्डाचौकीस्थित थ्री एन्जल्स नेपालका संयोजक बेलु वादी लकडाउन सामान्य बन्दै गएपछि महिला र बालबालिका पनि भारत जाने क्रम बढेको बताउनुहुन्छ । “असार १५ गतेयता मात्रै हामीले सातजना उमेर नपुगेका बालबालिकालाई नाकामा रोकेर परिवारसँग  पुनःमिलन गरायौँ”, उहाँले भन्नुभयो, “महिला पनि पछिल्लो समय रोजगारीका लागि भारत जाने क्रम ह्वात्तै बढेको छ ।”

उहाँले बन्दाबन्दीमा पनि महिला तथा बालबालिका बेचबिखनको जोखिम बढेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले कोरोनाको चरम अवस्थामा नेपाल–भारतमा आवागमन खुकुलो भएसँगै रोजगारीका लागि भारत जाने क्रम बढेको बताउनुभयो ।

सुदूरपश्चिमका सीमानाकामा सबैभन्दा बढी कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट भारत जानेको चाप बढेको प्रहरीको भनाइ छ । मङ्गलबार गड्डाचौकीबाट ४४३ र गौरीफन्टाबाट एक हजार ४२३ व्यक्ति भारत गएको प्रवक्तासमेत रहनुभएका न्यौपानेले बताउनुभयो । पछिल्लो समय गड्डाचौकी नाकाबाट भारत जानेका लागि भारतीय सुरक्षा निकायले पनि सहज बनाएको छ ।

केही समयअघिसम्म यो नाकाबाट भारत जान कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरेपछि भारतीय पक्षले नागरिकता र आधार कार्डका आधारमा भारत जान दिएको छ । (तस्बीर उपलब्ध छ)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ