मंसिर ६, गोर्खा | गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएकाले थप सङ्क्रमण हुन नदिन सबै निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

‘नगरपालिकाभित्र थप सावधानी अपनाउनुपर्ने देखिएकाले शिक्षण सिकाइ बन्द गर्नुपरेको हो,’ उनले भने, ‘अन्य क्रियाकलाप गर्दासमेत अनिवार्य सुरक्षा मापदण्ड अपनाएर मात्र गर्नसमेत सबैलाई अनुरोध गरिन्छ ।’

नगरपालिकाभित्र शुक्रबारसम्ममा शिक्षक तथा कर्मचारीसहित ६५ जना सक्रिय सङ्क्रमित रहेको बताइएको छ ।

ती सङ्क्रमितको सम्र्पकमा रहेकाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्थितिलाई सामान्य अवस्थामा ल्याउन नगरपालिकाभित्रका सबै विद्यालयमा सञ्चालित प्रत्यक्ष सिकाइ सहजीकरण पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए ।

उनले सङ्क्रमणको आशङ्का र कन्ट्रयाक्ट ट्रेसिङमा परी कोरोना परीक्षणका लागि स्वाब दिएका व्यक्ति रिपोर्ट प्राप्त नहुँदै समुदायस्तरमा निस्कने र घुलमिल गर्ने गरेको भन्ने गुनासोसमेत आएकाले स्वाब दिएकालाई अनिवार्य आइसोलेशनमा रहन पनि आग्रह गरे ।

रोगको सङ्क्रमण फैलन नदिन तथा सङ्क्रमणबाट अरुलाई जोगाउनका लागि स्वांब दिएका व्यक्ति अनिवार्य आइसोलेशन बसेर सहयोग गरिदिन नगरपालिकाले आग्रह समेत गरेको छ ।

त्यस्तै नगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर नस्किन र निस्कनै परे मास्क लगाउन, व्यापार व्यवसाय, कार्यालयको सेवा, सामाग्री ढुवानीलगायतका कार्य गर्दा अनिवार्य सुरक्षा मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गर्द सङ्क्रमण रोक्ने कार्यलाई सफल बनाउन पनि आह्वान गरेको छ |

Related News