अनिल अधिकारी । काठमाडौँ । मलेसिया स्थित प्रतिष्ठित प्लान्टेसन कम्पनी फेल्डा प्लान्टेसन एसडिएन बिएचडीले नेपालबाट कामदार लैजान स्थगित गरेर भारतबाट कामदार लैजाने प्रक्रियामा अनैतिक अभ्यास गरेको पाइएको छ ।

भारतमा अनिल नाम गरेका एजेन्टले मलेशियाली भर्ती लाइसेन्स “C” का साथ फेल्डा कम्पनीका ६ वटा सहायक कम्पनीहरूको लागि भर्ती टेन्डर पारेर भारतबाट कामदार भर्ति प्रक्रिया सुरु गरेको पाइएको छ । अनिल नाम गरेका ति एजेन्ट मलेशियाली भारतीय नागरिक हुन् । फेल्डाकै अरु दुई सहायक कम्पनीमा कामदार पूर्ति गर्न अर्का एक व्यक्तिले जिम्मेवारी पाएका छन् । अनिलले फेल्डाको भर्तीको लागि खुला टेन्डरमा आवेदन दिएको बताइएको छ । अनिलले माग ल्याए बापत केहि मलेशियन रिंगिट (RM) कमिसन पाउँछन् ।
एजेन्ट अनिल फेल्डा कम्पनीको व्यवस्थापन कर्मचारीसँग जोडिएका छन्ज, सले उनलाई टेन्डर जित्न र यी ६ वटा मलेशियाली एजेन्सीहरूको माध्यमबाट फेल्डाको भर्ती प्रक्रिया नियन्त्रण गर्न अनुमति दिएकोआरोप छ । यो पनि आरोप गरिएको छ कि फेल्डाका अधिकारलाई अनिलले टेन्डर पाउनको लागि कमिसन बुझाएका छन् । कमिसन तिरेर डिमाण्ड ल्याएपछि भारतीय कामदारहरुसँग रोजगारमा जोडिन चर्को लागत अशुल्न लागिएको छ । अनिल र फेल्डाको भ्रष्ट अधिकारीहरुबीच भएको अनैतिक क्रियाकलापले कामदारहरुको भर्ति शुल्क बढ्ने निश्चित रहेको बताइएको छ ।
फेल्डाले नेपालमा पारदर्शी भर्ना प्रक्रियाबाट कामदार लैजान नसक्ने, भर्ती योजनानै असफल हुने र पारदर्शी प्रक्रियाबाट कामदार लैजाँदा कमिसन नपाउने बुझेपछि नेपालको डिमाण्ड भारत डाइभर्ट गरेको पाइएको छ । नेपालबाट भर्ती प्रक्रिया पारदर्शी बनाउने कोसिस रोजगारदाताले गर्ने हो भने भारतको भन्दा बढी पारदर्शिता हुन्छ । तर फेल्डाका भ्रष्ट अधिकारीहरु त्यो चाहँदैनन् । फेल्डाले चाहँदा नेपालबाट पूर्णत: पारदर्शी भर्ति प्रक्रियाबाट कामदार मलेसिया लैजान सम्भव छ । कतिपय मलेसियाका कम्पनीले नेपालबाट नैतिक भर्ना प्रक्रियाबाट पारदर्शी प्रक्रियाबाट पूर्ण रुपमा निशुल्क कामदार लगिरहेका धेरै उदाहरण छन् ।
नेपालबाट कामदार भर्ना गर्दा अन्तर्वार्ता हुनुभन्दा ७ दिन अघिनै राष्ट्रिय दैनिकहरुमा सबै जानकारी खुलाएर बिज्ञापन जारी गर्नुपर्ने नियम छ । यसरी बिज्ञापन गरेपछि कामदारहरुले स्वतन्त्र रुपमा भर्ना प्रक्रियामा सहभागी हुन पाउने अवस्था छ । तर भारतमा यस्तो नियम छैन । त्यसैको फाइदा उठाउने उदेश्यले फेल्डाले नेपालमा गएको डिमाण्ड भारत सारेको बुझिएको छ ।
फेल्डा र यसको सम्बन्धित मलेशियाली एजेन्सीहरूले कामदार भर्नाको स्रोत देश परिवर्तन गरे पनि अनैतिक अभ्यासमा भने केही परिवर्तन गरेका छैनन् । अहिलेकै अवस्थाबाट भारतीय नागरिक फेल्डामा भर्ति गरिए भारतीय श्रमिकहरूले फेल्डा मलेशियामा जागिर सुरक्षित गर्नका लागि ६०,००० देखि ९५,००० भारतीय रूपियाँ (INR) तिर्नुपर्ने भएको छ ।
यता नेपालबाट डिमाण्ड डाइभर्ट भएसंगै नेपालका एजेन्टहरूले डिमाण्ड किन्न प्रयोग गरेको कमिसनसँगै प्रक्रियागत केहि खर्च रकम गुमाएको अनुमान छ । यसरी हुने लेनदेनमा हुण्डीको प्रयोग हुने गरेको छ । नेपालमा दिएको डिमाण्ड डाइभर्ट हुनुमा नेपालका केहि एजेन्टहरुको पनि संलग्नता हुनसक्ने बुझिएको छ । नेपालमा अन्तर्वार्तासम्मको तयारी गरिसकेका केहि म्यानपावरहरुबाट फेल्डा एकाएक व्याक भएको थियो । कतिपय म्यानपावरहरुले अन्तर्वार्ताको मिति समेत निश्चित गरेका थिए । तर मिडिया र सरोकारवाला पक्षहरुको ध्यान खिचिएपछि पारदर्शी अन्तर्वार्ता नहुने अवस्था देखेपछि फेल्डाले नेपालमा कामदार लिने प्रक्रिया स्थगित गरेको थियो । नेपालमा भर्ति अभ्यास पारदर्शी गरेको भए फेल्डामा नेपाली कामदार निशुल्क आउने सम्भावना हुँदाहुँदै पनि फेल्डा प्लान्टेसन भारत डाइभर्ट भएको हो ।
एक स्रोतका अनुसार फेल्डाले निम्न भारतीय भर्ती मध्यस्थहरूलाई आफ्नो अनलाइन आप्रवासी व्यवस्थापन प्रणालीमार्फत आधिकारिक भर्ती माग जारी गरेको छ । जसमा Samint Employment, Mughal House Manpower, Ayyan Consultancy, R S International र Taifiq Manpower रहेका छन् । फेल्डाकै मागलाई लिएर भारतमा बिज्ञापनहरु समेत भईरहेका छन् ।

फेल्डाले जुन देशबाट कामदार भर्ति गरेपनि पारदर्शिता माथि प्रश्न उठ्नुले फेल्डाको भ्रष्ट अधिकारीहरुको इमान्दारिता माथि प्रश्न उठेको छ । रोजगारमा जोड्ने क्रममा कामदारमाथि थोपरिने आर्थिक भारलाई फेल्डाले वेवास्था गरेपछि यसले अन्तराष्ट्रिय सप्लाई चेनमा ठूलो असर पार्ने सम्भावना छ ।