जेष्ठ ४ काठमाण्डौ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण प्रक्रिया रोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदार माथि विभिन्न प्रक्रियाका नाममा अतिरिक्त शुल्क लिने संस्था तथा सिण्डिकेट प्रथा खारेज गर्ने घोषणा गरे लगत्तै बायोमेट्रिक स्वास्थ्य परिक्षण गराउदै आएका स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परिक्षण बन्द गरेका छन् । जसका कारण आजदेखि मलेसिया जाने कामदारहरु अन्यौलमा परेका छन् ।
अब नयाँ कामदारले स्वास्थ्य परीक्षण गर्नै नपाउने भएका हुन् । सिन्डिकेट हटाउने मन्त्री विष्टको निर्णय संगै आजबाट बायोमेट्रिक स्वास्थ्य परिक्षण गराउदै आएका व्यवसायीहरुले सरकारको एकतर्फी निर्णयको विरोध गर्दै स्वास्थ्य परिक्षण बन्द गराएको बताएका हुन् ।
यता मलेसिया रोजगारीका क्रममा लागू भएका विभिन्न प्रक्रियाका बारे प्रतिक्रिया लिदा नेपालस्थित मलेसियन दुतावासका कार्यवाहक राजदूत अहमद फादिल स्माइलले यी सबै प्रक्रिया मलेसिया सरकारले नै लागू गराएकाले मलेसियाली सरकारले निर्णय नगरेसम्म कायमै रहने बताए । उनले यसका लागि एकतर्फि निर्णय गर्नुभन्दा पनि दुई देशका सरकारले छलफल गरेर सुल्झाए राम्रो हुने पनि सुझाएका छन् ।