असार १४,काठमाडौं। बैदेशिक रोजगारीका लागि मलेसिया बन्द भएपछि कतार नेपाली कामदारको लागि पहिलो श्रम गन्तव्य मुलुक बनेको छ। यसअघि नेपाली कामदारको पहिलो गन्तव्यमा रहेको मलेसियामा जाने कामदारहरुका लागि लिइने पुर्व र अन्तिम श्रम स्वीकृति बन्द भएपछि कतार पहिलो गन्तव्य बनेको हो ।
कतारमा जेठ महिनामा १५ हजार ७ सय ३७ जनाले श्रम स्वीकृति लिएका छन् भने मलेसियाको लागि ८ हजार १ सय ९६ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेटिक, ओएससी लगायतका संस्थाहरु खारेज गरेपछि पुर्व श्रम स्वीकृति बन्द गरेको थियो ।
बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठ महिनामा रोजगारीको लागि ४९ हजार २ सय ९९ जना नेपाली कामदार विदेसिएका छन् । संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपालीहरु कामको लागि विदेशिएका हुन्।

विभागका अनुसार जेठ महिनामा संस्थागत श्रम स्वीकृति मार्फत २४ हजार ६ सय १२ जना विदेसिएका छन् जसमध्ये २३ हजार ८१ पुरुष र १५ सय ३१ महिला छन् ।
घर विदामा आएर श्रम स्वीकृति नविकरण गरि विदेसिनेको संख्या २१ हजार ८ सय ८६ जना रहेको छ जसमध्ये २१ हजार १ सय ३७ पुरुष र ७ सय ४९ महिला छन् ।
त्यस्तै गरि नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएर १ हजार ३२ जना, वैधानीकरण गरेर १ हजार ७ सय ६९ जना विदेशिएका छन् ।
जेठ महिनामा इपिएस मार्फत दक्षिण कोरिया जानेको संख्या भने शुन्य छ।
वैदेशिक रोजगारीमा संस्थागत रुपमा जानेको संख्या बैशाख महिनाको तुलनामा फागुनमा ६ हजार ७ सय ८८ ले कमि आएको छ । बैशाख महिनामा ५६ हजार ८७ जना वैदेशिक रोजगारीमा गएका थिए ।