मनोज पराजुली | असार २१, काठमाडौं । मलेसिया जानको लागि मेडिकल गरि भिषा आएर अन्तिम श्रम स्वीकृति लिन नपाएका कामदारको बारे केहि दिनमा निर्णय हुन सक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मलेसिया जानको लागि मेडिकल गरि भिषा लागिसकेका कामदारको हकमा एक दुई दिनमा थप निर्णय आउन सक्ने मन्त्रालयका सचिव महेश प्रसाद दाहालले जानकारी दिए ।
हाल १३ सय ६६ जना कामदार मेडिकल गरि भिषा लगाएर अन्तिम श्रम स्वीकृतिको प्रतिक्षामा रहेका छन् ।

मेडिकल पश्चात भिषा लागिसकेका कामदारको हकमा केहि निर्णय आउन सक्ने भएपनि अन्यको हकमा अझै केहि समय लाग्ने उनले बताए । सरकारले भिएलएन, जिएसजी, ओएसजी, माइग्राम जस्ता संस्था खारेज गरि श्रम स्वीकृति रोकेको बारे मलेसिया सरकारलाई पठाएको पत्रको हालसम्म औपचारिक रुपमा कुनै प्रतिक्रिया प्राप्त नभएको सचिव दाहालले बताए ।
यसै विच नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारी समस्या समाधानको लागि पहल शुरु गरेको छ ।
संघको प्रतिनिधिको रुपमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंचका महासचिव डिकबहादुर खत्रीलाई मलेसियामा पठाएर पहल शुरु गरेको हो ।
हाल केहि म्यानपावर व्यवसायीले नै मलेसिया समस्या समाधानको लागि संघले पहल नगरेको आरोप लगाउंदै आएका छन् ।
नेपाली कामदार आउन छाडेको भन्ने गुनासो मलेसियाका रोजगारदाता कम्पनीबाट म्यानपावर कम्पनीमा आउन थालेपछि बास्तविक अवस्थाबारे जानकारी गराउन संघले आफ्नो प्रतिनिधि मलेसिया पठाएको नेपाल बैदेशिक रोजगार व्यवसायीका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।
भिषा प्रशोधन र स्टाम्पिङ्गको काम भिएलएन, जिएसजी, ओएसजी, माइग्राम बेगर नै सुरु गर्न मलेसिया सेक्युरिटी संघ र एफ. एम .एम लाई संघका प्रतिनिधि मार्फत अनुरोध गरिएको संघका अध्यक्ष गुरुङले बताए ।
मलेसिया सरकारले कामदार आपूर्तिका लागि नयाँ प्रणाली लागू नगरेसम्म मलेसियामा कामदार पठाउने पक्षमा बैदेशिक रोजगार व्यवसायी संघ नरहेको उनले बताए ।