साउन ८,काठमाडौं। श्रममन्त्री गोकर्ण विष्टले युएई जान चाहने नेपाली श्रमिकको छनौट प्रणालीलाई पारदर्शी बनाई अनावश्यक मध्यस्थकर्ताको उपस्थितिको कारण अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यताबाट मुक्त गर्नको लागि युएईका राजदुतसंग आग्रह गरेका छन् ।
श्रम मन्त्री विष्ट र नेपालका लागि युएईका राजदुत सइद हमदाम अल-नक्बी विच भएको भेटमा उनले निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकले स्वास्थ्य परिक्षण गर्दा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।
उनले श्रमिक सम्बन्धी समस्यालाई सहज समाधान गर्न दुवै देशका प्रतिनिधि रहेको संयुक्त समिति गठन गरी कार्य संचालन हुनुपर्नेमा जोड दिए।
भेटका अवसरमा राजदुत सइद हमदाम अल-नक्बीले भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिसँगै युएई मध्य पूर्वको आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएकोले नेपालबाट इन्जिनियर, नर्स, मेडिकल डाक्टर जस्ता दक्ष जनशक्ति लैजान सकिने बताएका छन्। दक्ष जनशक्त्तिको माग बढ्दै गएकोले त्यस्ता जनशक्तिका लागि युएईमा उच्च पारिश्रमिक सहितको अवसर रहेको उनले बताए।
नेपाल र युएई बीच विगतमा भएको श्रम सम्बन्धी समझदारी (एमओयु)पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्न श्रम मन्त्री विष्टले जोड दिए । एमओयुका लागि दुवै पक्षबाट आवश्यक तयारी गरि र निकट भविष्यमा नै उक्त समझदारी पत्रको परिमार्जन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल भएको छ।