काठमाडौ । मलेसियाले आफ्ना कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाललाई आग्रह गरेको छ ।
नेपालले आफ्ना कामदार पठाउन रोक लगाएपछि मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले कामदारलाई मार परेको समस्या समाधानका लागि मलेसिया सरकारले पहल गर्ने भन्दै निर्णय पुनर्विचार गर्न नेपाललाई आग्रह गरेका हुन् । उनले मलेसियाका धेरै उद्योग विदेशी कामदारमै निर्भर रहेको भन्दै कामदार पठाउने देशको यस्तो निर्णयले मलेसियाको प्रगतिमै असर पर्ने बताए ।
नेपालले मलेसिया जाने नेपाली कामदारको भिसा प्रक्रिया र स्वास्थ्य जाँचमा रहेको सिण्डिकेट तोड्दै मलेसियाले विकल्प नदिएसम्म कामदार पठाउन नसक्ने भन्दै रोक लगाएपछि मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरनले त्यसको पनि विकल्प खोजिरहेको बताएको स्थानीय द स्टार अनलाइनले उल्लेख गरेको छ ।
मन्त्री कुलाशेगरनले तेस्रो पक्षीय कम्पनीले एकतर्फी रुपमा कामदारलाई अनावश्यक रुपमा रकम असुलेको बारेमा मलेसियाको सरकार जानकार रहेको पनि उल्लेख गरेका छन् । यो निर्णय अघिल्लो सरकारकै पालामा भएको भन्दै यसलाई हटाउन पहल गर्ने बताए ।
समस्या समाधानका लागि दुई हप्तादेखि नेपाली पक्षसँग कुराकानी भइरहेको भन्दै उहाँले सोमबार यसमा फेरि नेपाली पक्षसँग छलफल गरिने पनि बताए । उनले मलेसियामा नेपाली कामदारले देखाएको बहादुरी र इमान्दारिताको प्रशंसा गर्दै पछिल्लो समय देखिएको समस्या समाधान गर्न दुई देशका सरकारबीच सम्झाता गरेर अर्थात जी टु जी प्रणालीमार्फत कामदार ल्याउने व्यवस्था गर्ने द स्टार अनलाइनमा खबर छ ।
मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानुनी रुपमा रकम लिएर ठगेको भन्दै सरकारले मलेसिया जान रोक लगाएको छ । तर जेठ २ गतेसम्म प्रक्रिया पूरा गरेका कामदारलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिने निर्णय भइसकेको छ ।