साउन २८, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीको धरौटी २ करोड उपयुक्त हुने सुझाव दिएको छ ।

सरकारले म्यानपावरको धरौटी रकम २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी हुने गरि बैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्न लागेपछि संघले नगद १ करोड र बैंक ग्यारेन्टी १ करोड गरि २ करोड धरौटीको पस्ताव गरेको हो ।

बैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा श्रम मन्त्री गोकर्ण विष्टलाई ज्ञापन पत्र मार्फत सुझाव दिइएको हो ।
संघले धरौटी रकम इजाजतपत्र वाला व्यवसायीको आफ्नो अनुकुलको बैंक खातामा जम्मा गर्ने र विभागको अनुमति विना इजाजत प्राप्त वाला व्यवसायीले झिक्न नपाउने व्यवस्था गर्न माग गरेको छ । बैंकमा राखिएको धरौटी रकमको ब्याज इजाजत पत्र वाला व्यवसायी संस्थाको खातामा पाउने व्यवस्था गर्न संघले माग गरेको छ । म्यानपावर कम्पनी मर्जमा जान चाहेमा सो व्यवस्था गर्न संघले सुझाव दिएको छ भने नपुग हुने धरौटी रकम १ वर्सम्म थप गर्न पाउनुपर्ने माग गरेको छ ।
त्यसैगरी संघले रोजगार दाताले इजाजतपत्र संस्थालाई कामदार आपूर्ति गरेबापत प्रवर्द्धन खर्च तथा सेवा शुल्क उपलब्ध नगराएको वा नगराउने शर्त रहेको सम्बन्धित रोजगार दाताको आधिकारिक पत्र पेश गरेमा इजाजत पत्रवाला संस्थाले कामदारले पाउने १ महिना बराबरको तलब रकम लिन पाउनुपर्ने माग गरेको छ । कामदारले तिर्ने सो रकम म्यानपावर कम्पनीको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था गर्न समेत संघले माग गरेको छ ।





