भदौ ७, काठमाडौँ | वैदेशिक रोजगार नेपालीको रहर नभई वाध्यता रहेको छ । आफ्नो देशमा रोजगारीको प्रयाप्त अवसर नहुँदा नेपालीहरु विश्व श्रम बजारमा कार्यरत छन् ।
यसै अवस्थामा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारीबाट भएको मृत्यु, अंगभंग र पिडितहरुलाई प्रदान गरिएको क्षतिपूर्ति बारे हालसालै विभिन्न तथ्यांकहरु प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका र अंगभंग भएकाहरुको तथ्यांकले बैदेशिक रोजगारीबारे विविध सवालहरु जन्माएका छन् । त्यसोत वैदेशिक रोजगारीमा लाखौँ नेपालीहरु गएकाले मृत्यु तथ्यांक धेरै नै आउनु स्वभाविक लाग्न सक्छ तर वैदेशिक रोजगारीको क्रममा युवा अवस्थामा गएकाहरुको मृत्यु अस्वभाविक तरिकाले हुनु सोच्नुपर्ने बिषय हो । धेरैको शंख्यामा मृत्युको विवरण आउनुले नेपालीहरूको गन्तव्य देशहरूमा ठुलो संख्यामा हुने मृत्यु र अंगभंगले वैदेशिक रोजगारीको जोखिमपूर्ण अवस्थालाई दर्शाएको छ ।
तथ्याङ्क अनुसार गत आर्थिक वर्ष बिभिन्न देशमा वैदेशिक रोजगारीमा गएकाहरु मध्ये ८२१ जना नेपालीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा पुरुषको शंख्या ८०० छ भने महिलाको शंख्या २१ छ । वैदेशिक रोजगारीको क्रममा सबैभन्दा धेरै नेपाली मलेसियामा मरेका छन् । जसको शंख्या २८८ छ । त्यसपछि साउदीमा २०३ छ भने कतारमा १२३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै यूएईमा ९४ जनाको मृत्यु भएको तथ्यांक छ । त्यस्तै कुवेतमा मृत्यु हुने नेपालीको शंख्या २६, दक्षिण कोरियामा २२, बहराइनमा ९, ओमानमा ५, जापानमा २ र टर्कीमा २ जनाको मृत्यु भएको तथ्यांक छ । त्यस्तै इजिप्ट, पोल्याण्ड, अफगानिस्तान, जर्मनी, माल्धिभ्स, सिसेल्स, भियतनाम र जोर्डनमा १/१ जनाको मृत्यु भएको छ ।
माथिको तथ्यांकमध्ये विदेशमा मृत्यु भएकाहरु १३५ जनाको अझै लास नेपालमा आएका छैनन् ।
त्यस्तै बैदेशिक रोजगारीको क्रममा बिरामी भई उपचार खर्च लिनेको शंख्या ५२ रहेको छ । उनीहरुले प्रति व्यक्ति औशतमा ४८ हजार ९४२ रुपयाँ लिएका छन् ।
त्यस्तै अंगभंगभई क्षेतिपूर्ति पाउनेहरुको शंख्या ३६१ रहेको छ । त्यसरी क्षेतीपूर्ति पाउनेले प्रति व्यक्ति औशतमा १ लाख ८१ हजार ६०९ रुपयाँ उपचार खर्च पाएका छन् ।