भदौ २५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज, सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा पुर्याउनका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगारको क्षेत्रमा रहेको ठगीलाई नियन्त्रण गर्न तथा सरोकारवाला निकायबीच अनलाइनमार्फत नै सूचना आदान–प्रदान गर्ने उद्देश्यका साथ नयाँ प्रणाली विकास गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

यो प्रणालीमा अध्यागमन विभाग¸पासपोर्ट विभाग¸कन्सुलर सेवा विभाग¸कुटनीतिक नियोगहरु¸वैदेशिक रोजगार विभाग¸वैदेशिक रोजगार व्यवसायी¸अभिमुखीकरण तालिम प्रदायक संस्था¸स्वास्थ्य परीक्षण गर्ने संस्था¸बैंक¸वीमा कम्पनी¸सीप तथा तालिम प्रदायक संस्था¸गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुने श्रम मन्त्रालयले जनाएको छ । अनलाइन प्रणालीको सुरुवात भएपछि गलत सूचनाको आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने मन्त्रालयले दावी गरेको छ ।
एकीकृत प्रणालीले अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वय प्रभावकारी बनाउन सहयोग पुर्याउने श्रम मन्त्रालयले अपेक्षा गरेको छ । यस प्रणालीको प्रयोगले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतका अद्यावधिक तथ्यांक उपलब्ध हुने बताइएको छ ।
यसका साथै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका सूचना एवं सेवा मोवाइल एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । हाललाई एन्ड्रोइड प्रणालीमा आधारित यस मोबाइल एपका माध्यमद्वारा श्रम स्वीकृति नवीकरणको फाराम पनि भर्न सकिने व्यवस्था गरिएको छ । यस सूचना प्रणालीलाई २०७५ असोज १ गतेदेखि सम्वद्ध निकायबाट पूर्ण रुपमा लागू गर्ने गरि मन्त्रालयले तयारी गरेको छ ।