पुष १७, काठमाडौं | नेपालले श्रमिक पठाएबापत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई सेवा शुल्क नदिने कतारका रोजगारदातालाई श्रमिक लान नदिने भएको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारमा चार लाख नेपाली कार्यरत छन् ।
आजको कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार कतारका लागि नेपाली राजदूत डा. रमेश कोइरालाले कतारका नवनियुक्त प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल बथमान फक्को सँगको भेटमा सेवा शुल्क नदिने रोजगारदातालाई श्रमिक ल्याउन नदिने जानकारी दिएका हुन् ।
राजदूत कोइरालाले रोजगारदाताले सेवा शुल्क नदिदा म्यानपावर कम्पनीले श्रमिकसंग शुल्क उठाइरहेको उल्लेख गर्दै सेवा शुल्क दिने कम्पनीलाई मात्रै श्रमिक भर्ना गर्ने नीति नेपालले लिएको जानकारी गराएका थिए ।
कतारका श्रममन्त्री फक्कोले श्रमिक भर्ना गर्दा लाग्ने सबै जिम्मेवारी रोजगारदाताकै हुने बताएको कोइरालाले जानकारी दिए । दोहास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्दा सेवा शुल्क दिने र नदिने गरी वर्गीकरण गरेको छ ।
श्रमसम्झौताको पुनरावलोकनका लागि कतार र नेपालबीच संयुक्त प्राविधिक समूहको बैठक जनवरी ५ र ६ मा कतारमा हुँदै छ । श्रममन्त्री गोकर्ण विष्टले कतारसंग श्रमिकको हित हुने गरी संवाद
जारी रहेको बताए ।