२४ पुस, क्वालालम्पुर । मलेसियामा नेपाली कामदार कहिलेदेखि र कुन प्रकृयाबाट ल्याउने भन्ने टुँगिन अझै दुई महिना लाग्ने भएको छ । विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने बताएको हो ।
मलेसियाको अनलाइन द सनका अनुसार कार्यदलले विदेशी कामदार लिने(विशेषगर नेपाली) पूर्ण रिपोर्ट दुई महिनाभित्रमा सरकारलाई बुझाउने भएको छ । मानव संशाधन राज्यमन्त्री महफुज ओमारले हाल पनि रिपोर्ट छलफलकै क्रममा रहेको भन्दै विदेशी कामदार सोही रिपोर्टका आधारमा लिइने बताए ।
विदेशी कामदारका सम्वन्धमा कुनै पनि नीति सोही कार्यदलको सुझाव अनुसार तय हुनेछ उनले भने "यो समस्या(कामदार अभाव) छिट्टै सुल्झिनेमा हामी आशावादी छौं ।" मलेसियाले नयाँ कामदार नीति नबनी नेपालबाट कामदार नलैजाने प्रष्ट पारेको छ ।
गत जेठदेखि नेपालबाट मलेसियमा कामदार आपूर्ति बन्द छ । मलेसियासँग श्रम समझदारी भएपनि त्यसअुसार कामदार लैजाने प्रक्रियाबारे सहमति हुन सकेको छैन । मलेसियाले पुरानै संयन्त्रमार्फत कामदार लैजान अनुरोध गरेपनि नेपाल सरकारले त्यसलाई अस्वीकार गरको थियो ।
कामदारमाथि बिचौलिया संयनन्त्र खडा गरेरेर ठगी गर्ने कम्पनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही भण्डारमार्फत कामदारमा मलेसिया पठाउन नसकिने जवाफ श्रम मन्त्रालयले दिएको थियो ।नेपालको अडान र अन्य श्रमिक पठाउने देशको चासोपछि मलेसियाले कामदार आपूर्ति नीति परिमार्जन गर्ने गरी कार्यदल बनाएर काम गरिरहेको छ । अब यो कार्यदलले प्रतिवेदन दिएपछि मात्रै नेपाली कामदार लैजाने तयारीमा मलेसिया छ ।