फागुन १३, काठमाडौं । बैदेशिक रोजगारीका लागि चर्को शुल्क लिएको गुनासो गर्ने दुई कामदारले अन्तत न्याय पाएका छन् । सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसले अबैध रुपमा प्रतिव्यक्ति १ लाख ५० हजार लिएको बैदेशिक रोजगार मोबाइल एप मार्फत गुनासो गर्ने सुर्खेतका हिराबहादुर बुढामगर र मनिष बुढामगर शुन्य लागतमा नै दुवई उडेका छन् ।
१ लाख ५० हजार मागेको म्यानपावरले एजेन्ट मार्फत २०/२० हजार रकम लिएको रकम समेत फिर्ता गरि शुन्य लागतमा नै कामदार दुवई उडाएको विभागका निर्देशक हरि ज्ञावालीले साझासबाललाई जानकारी दिए । गुनासो गर्ने कामदारलाई बैदेशिक रोजगार विभागले सरकारले तोकेकै रकममा उडाउन निर्देशन दिएको थियो । सो म्यानपावरको कारोबार बारे थप अनुसन्धान गरि अन्तिम प्रतिवेदन बनाउने कार्य भैरहेको र सो पश्च्यात थप कारवाही गरिने निर्देशक ज्ञावालीले जानकारी दिए । हाल उक्त म्यानपावर कम्पनीको कारोबार रोक्का छ ।
बैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसमा माघ २८ मा छापा मारेको थियो । म्यानपावरले अबैध रुपमा रकम लिन लागेको गुनासो पाएपछि विभाग टोलीले म्यानपावर कम्पनीमा छापा हानेको थियो ।
म्यानपावरले दुवईको चाइना पेट्रोलियम इन्जिनियरिंङ कन्स्ट्रक्सन कम्पनीमा लेवर कोटाको लागि प्रतिव्यक्ति १ लाख ५० हजार लिएको गुनासो बैदेशिक रोजगार मोबाइल एपमा आएपछी सोहि सूचनाको आधारमा उक्त म्यानपावरमा छापा हानेको थियो। सुर्खेतका हिराबहादुर बुढामगर र मनिष बुढामगरले सो गुनासो गरे लगत्तै बैदेशिक रोजगार एप मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको थियो । ध्यानाकर्षण लगत्तै विभाग टोलि माघ २८ गते आइतबार सांझनै उक्त म्यानपावरको अनुगमनमा पुगेको थियो तर आइतबार साँझ ढिला भएका कारण म्यानपावर कम्पनी बन्द भएकोले विभाग टोलिले भोलिपल्ट सोमबार म्यानपावरमा छापा हानेको थियो ।