मनोज पराजुली । बैशाख २२, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीले राखेको नगद ५० लाख धरौटी फिर्ता गरिदिन माग गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष बिष्णु गैह्रेको नेतृत्वमा सोमबार मन्त्रालय पुगेर संघले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको भन्दै नगद धरौटी फिर्ता गरिदिन माग गरेको हो ।

संघले वि. स. २०६२ सालमा इराकमा १२ जना नेपालीहरुको निर्मम हत्या भएको घटनाको कारण उत्तेजित हुलहुज्जतले वैदेशिक रोजगार व्यावसायिको कार्यलयमा आगजनी र तोडफोडबाट क्षति भएको बेला व्यवसायीले राखेको धरौटी एक वर्ष चलाउन दिएको स्मरण गराउंदै अहिले पनि नगद धरौटी फिर्ता गरिदिन श्रममन्त्रीलाई आग्रह गरिएको संघका सचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
त्यसैगरि वार्षिक सय जना कामदार विदेश नपठाए म्यानपावर कम्पनी खारेज हुने प्रावधानलाई तत्काल फुकुवा गरि सहजीकरण गर्न समेत माग गरेको छ । यसअघि सरकारले वार्षिक सय जना कामदार अनिवार्य विदेश पठाउनुपर्ने प्रावधान वैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्ने निर्णय गरिसकेको छ । सोहि अनुरुप त्यसको जिम्मेवारी लिंदै आगामी असर भित्र नै प्रक्रिया टुंगो लगाइसक्न संघले श्रममन्त्रीको ध्यानाकर्षण गरेको छ ।
त्यस्तै व्यवसायीले तिर्ने घर बहाल कर, आयकर, व्यवसाय कर लगायतका राजस्वमा छुट दिन संघले माग गरेको छ । व्यवसायीले दिएको ऋणको व्याजमा छुट दिने वा अनुदान दिन सरकार्संग संघले माग गरेको छ । चैत्र मसान्तसम्म तिर्न नसकेको नपाएको व्याजलाई असार मसान्तसम्ममा तिर्दा हर्जना नलिने व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै भाखा नाघेका ऋण तिर्ने अवधि एक वर्ष थप गरि ऋण नवीकरण गर्ने व्यवस्था गर्न माग गरिएको छ ।
संघको नेतृत्वमा मन्त्रालय गएको टोलीमा नेपाल लोकत्रान्त्रिक वैदेशिक रोजगार एसोसिएसन, प्रगतिशील व्यवसायी मंच लगायत विभिन्न व्यवसायी घटकका अध्यक्ष लगायत व्यवसायीको प्रतिनिधित्व रहेको थियो ।