माल्दिभ्समा रोजगार, लागत साढे दुई लाख, न पुर्व-स्वीकृति चाहिने, न म्यानपावर !

Posted on: 10 Oct, 2020

अनिल अधिकारी | असोज २४, काठमाडौँ | कोरोना महामारीको बीच युवाहरुलाई रोजगारीको समस्या थपिएको छ । लामो समयदेखि बैदेशिक रोजगार थलिएको अवस्थामा आन्तरिक रोजगारीकै क्रममा लाखौँ नेपाली युवाहरु बेरोजगार बनेका छन् । 

बेरोजगारीकै पिडाले सताईरहेको बेला एक युवाले सामाजिक संजालको भित्तामा देख्छन् 'माल्दिभ्सको रिसोर्टमा रोजगारीको अवसर ! पुरा जानकारीको लागि 981835XXXX, 986400xxxx, अनि त्यसैको मुनि कुनै आधिकारिकता बिनाको बिज्ञापन । 

अहिले हजारौं युवाहरु सचेत छन्, यस्ता डिमाण्डमा केहि युवाहरु मात्र बत्तिमा पुतली होमिए झैं होमिने गरेका छन् । सरकारले बैदेशिक रोजगारमा जानको लागि छुट्टै नीति तय गरेको छ । बैदेशिक रोजगारीको लागि कि त आफ्नै तरिकाले विदेशको सम्बन्धित कम्पनीसँग सम्झौता गरेर जान सुरक्षित हुन्छ, अन्यथा कुनै संस्थागत माध्यमबाट जान सुरक्षित हुन्छ । माथिको बिज्ञापन देखेर त्यसैमा होमिदा त्यसले भविष्यमा हुने जोखिमलाई नजर अन्दाज गर्न सकिन्न । यसरी आधिकारिकतानै पुष्टि नहुने गरि बैदेशिक रोजगारीको बिज्ञापन फेसबुकमा देख्दा बैदेशिक रोजगार बिभागको अनुगमन टोली के गरिरहेको छ भन्ने प्रश्न खडा हुन्छ ।

नेपालमा थुप्रै जब सेन्टर छन्, एजेन्ट त कत्ति-कत्ति ! जसलाई सरकारले बैदेशिक रोजगारीमा पठाउन कुनै अनुमति दिएको छैन । साथै बैदेशिक रोजगारको नीति अनुसार कसैले कुनै आधिकारिकता पाएको म्यानपावरको नाम बिना बैदेशिक रोजगारको सूचना दिने समेत अधिकार हुँदैन । तर नेपालमा यसरी विज्ञापन दिने र एजेन्ट हावी हुन भने छाडेको छैन । सरकारी निकायको अनदेखाकै फाइदा लुट्दै पछिल्लो पटक कुनै लट नम्बरको जानकारी वा आधिकारिक म्यानपावरको नाम बिनानै फेसबुक/भाईबर/ह्वाट्सएप मार्फत बैदेशिक रोजगारीको खुलम्-खूल्ला बार्गेनिङ भईरहेको छ । जसले युवाहरुलाई यसअघिनै अरवौंको मागदावी भएको अवस्थामा हालको महामारीको विषम परिस्थितिमा समेत  रोजगारीको नाममा ठगिको जोखिम बढ्दै गएको छ । 

एक युवाले साझा सबाल मिडियालाई फोन गरेर सोधे- 'माल्दिभ्सको रोजगारी भन्छ, साढे २ लाख मागेको छ, के माल्दिभ्स जान यत्रो पैसा लाग्छ ?' बुझ्दै जाँदा माल्दिभ्स पठाउने भन्दै साढे दुई लाखको बार्गेनिङ गर्ने व्यक्ति/संस्थासँग बैदेशिक रोजगारीमा पठाउने आधिकारिकता छैन । आधिकारिकतानै नभएको व्यक्तिले बैदेशिक रोजगारीमा पठाउँदा उक्त युवाको लगानी बालुवामा पानी सरह पोखिन पनि सक्छ । त्यसो त आधिकारिकता नै नभएको स्रोतलाई विश्वास गर्दा त्यसको परिणाम जे पनि भोग्न तयार रहनुपर्ने हुन्छ । हामीले सम्बन्धित युवासँग उक्त बिज्ञापन र रोजगारीमा पठाउँछु भन्ने संस्थाको पुरा विवरण माग्यौं । 

बिज्ञापनमा सरकारले बैदेशिक रोजगारीमा पठाउन अनुमति दिएको लाइसेन्स नम्बर छैन । त्यति मात्र होइन कम्पनी रजिस्टार कार्यालयको दर्ता नम्बर समेत छैन । कम्पनीनै हो भने पनि सबै कम्पनीलाई बैदेशिक रोजगारमा पठाउने अनुमति नहुन सक्छ । किन कि वैदेशिक रोजगार बिभागले अनुमति नदिएका सबै कम्पनीलाई बैदेशिक रोजगारीमा पठाउने अनुमति हुँदैन । 

साथै, कसैले दिएको सूचनामा आधिकारिकता आफैले खोज्नुपर्छ । उक्त बिज्ञापन सहि छ छैन ? म्यानपावरको नाम, बैदेशिक रोजगार बिभाग अन्तर्गत श्रम कार्यालयले पुर्व स्वीकृति दिएको छ/छैन ? ल्याण्डलाइन नम्बर छ छैन ? सबै हेर्नुपर्छ । बैदेशिक रोजगारीको सहि बिज्ञापन त्यस्तो हुन्छ जसमा बैदेशिक रोजगार बिभागले दिएको पुर्वस्वीकृति अनुसारको लट नम्बर उल्लेख हुनुपर्छ । साथै आधिकारिक लाइसेन्स प्राप्त म्यानपावरको नाम उल्लेख हुनुपर्छ ।

सरकारले हाल एजेन्ट व्यवस्था समेत खारेज गरेको अवस्थामा बिना आधिकारिकता युवाहरुलाई आकर्षित गरि आफूतिर तान्नेहरुले भविष्यमा बैदेशिक रोजगार बिभागमा ठगि र पिडितहरुको उजुरीको चाङ देखिने निश्चित छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!