वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Posted on: 08 Aug, 2021

साउन २४, काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को प्रभावका कारण नेपालीका लागि वैदेशिक रोजगार असुरक्षित भएको र सरकारले आवश्यक सहयोग गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त प्रस्तावक र प्रमिला राई तथा रामबहादुर बिष्ट समर्थक रहेको प्रस्तावमा कोभिड–१९बाट सृजित समस्याले वैदेशिक रोजगारमा ज्यान गुमाएका, रोजगारी गुमाएका र स्वदेश फर्किएकाका बारेको विस्तृत तथ्याङ्क सरकारसँग माग गर्न छलफल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरिएको छ ।

कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई सरकारको तर्फबाट भएको सहयोगको माग गर्न, वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमै पनि बेरोजगार भएका व्यक्तिलाई सरकारले के कस्तो राहत र रोजगारीको व्यवस्था गरेको सो बारे पनि छलफल गर्न माग गरिएको छ ।

त्यस्तै रोजगारीका लागि सम्झौता तथा समझदारी भएका मुलुकमा अनुगमन किन नभएको, अब कुनकुन देशसँग अनुगमन र श्रम सम्झौता हुँदैछ, त्यस बारे पनि सरकारसँग आवश्यक सूचना माग गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा रोजगार सेवा केन्द्रको अवस्था कस्तो छ र यसले कसरी काम गरिरहेको छ भन्ने कुराको जानकारीसमेत माग गर्नका लागि छलफल गर्नुपर्ने कारण उल्लेख गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!