इजरायल रोजगारमा कामदार छनौटको लागि लिखित परीक्षाको मिति तोकियो

Posted on: 31 Aug, 2021

भदौ १५, काठमाडौँ | इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित परीक्षाको मिति तोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार बिभागले साउन १२ गते गोरखापत्रमा प्रकाशित गरेको विज्ञापन बमोजिम फर्म भरी दरखास्त स्वीकृत भएका उमेद्वारहरुको छनौटको लागि अंग्रेजी भाषाको लिखित परीक्षाको मिति तोकिएको जनाएको हो । 

बिभागको सूचना अनुसार इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको अङ्ग्रेजी भाषाको लिखित परीक्षा भौतिक उपस्थतीमै हुनेछ । लिखित परीक्षा काठमाडौँको बिभिन्न परीक्षा केन्द्रमा भदौ २८ गते सोमबार दिनको ठीक १ बजेदेखि संचालन हुनेछ । बिभागका साखा अधिकृत मात्रिका सापकोटाको अनुसार परीक्षाको समयावधि २ घण्टाको हुनेछ । परीक्षार्थीहरु परीक्षाको लागि तोकिएको समयभन्दा तीन घण्टा अगावै परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । बिभागले कोरोना महामारीको मध्यनजर गर्दै जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षामा सहभागी भईदिन सहयोग गरिदिनका लागि समेत अनुरोध गरेको छ ।

परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । दरखास्त स्वीकृत भएको/नभएको जानकारी आवेदनकर्ताले अनलाइनमै लगिन गरेर हेर्न सक्छन् । परीक्षामा सहभागी हुन अनलाइनबाटै प्रवेशपत्र पाउनुको साथै त्यसै प्रवेशपत्रमा परीक्षा केन्द्रको जानकारी पनि उल्लेख हुने बिभागले जनाएको छ । बिभागको अनुसार परीक्षा केन्द्रको विवरण वैदेशिक रोजगार बिभागको वेबसाइट dofe.gov.np मा समेत हेर्न सकिनेछ ।


सरकारले इजरायल रोजगारीको लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको थियो । त्यस क्रममा ९ हजार ६ सय ९९ नेपाली नागरिकहरूले आवेदन दिएका थिए । 

यस अघि बिभागले जारी गरेको बिज्ञप्तिमा इजरायलमा नेपाली नागरिकहरूलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको थियो । बिज्ञप्ति अनुसार मन्त्रालयको तर्फबाट सम्बद्ध कुनै पनि कानून विपरीतका कार्य एवं गतिविधिहरूमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्णरुपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ ।

साथै, गैरकानूनी रुपमा रकम असुल गर्ने वा कानून विपरीतका कार्य गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताको प्रतिकुल हुने कार्य हुने जोसुकै व्यक्ति वा संस्थाका सम्बन्धमा प्रचलित कानून बमोजिम भइजाने व्यहोरा समेत जानकारी दिएको छ ।

मन्त्रालयले यसअघि सम्झौता कार्यान्वयन गर्ने ‘नेपाल सरकारले इजरायमा नेपलाी सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८’ जारी गरिससकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!