नेपाली कामदारको गन्तव्य मुलुकमा नेपाल एयरलाइन्सले उडान बढाउँदै, दुबई जाने उडान विस्तार

Posted on: 06 Dec, 2021

मंसिर २०, काठमाडौं | राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । यसले वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा रहेका नेपालीहरूलाई सहज हुने छ । दुबईमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा ठूलो संख्यामा नेपाली रहेका छन् ।

एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आईतवारदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो । दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न आईतवार विहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको पनि सो अवसरमा सहभागिता थियो । सो अवसरमा पर्यटनमन्त्री आलेले निगमका जहाजलाई बढीभन्दा बढी गन्तव्य विस्तार गरी उडान थपेर सेवा दिन निगम नेतृत्वलाई निर्देशन दिए। उनले निगमका जहाज ग्राउण्डेड भन्दा आकासमा उडिरहने वातावरण बनाउन र गन्तव्यमा उडान थप्नेतर्फ जुट्न निगम व्यवस्थापनलाई अनुरोध गरे । 

निगमका कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्रीले निगम सुधारका लागि देखाएको तदारुकताले निगमका कर्मचारीमा हौसला र नयाँ ऊर्जा पैदा भएको र यसलाई परिणाममुखी बनाउन लागिपर्ने बताए।थपिएको उडान साताको आइतबार र बुधधबार गरिनेछ । यो दिन दैनिक दुई उडान हुनेछ । काठमाडौँबाट बिहान ११ बजे उडेको जहाज दुबईमा उडान भरेर साँझ काठमाडौँ नै फर्किने छ । 

व्यापारिक हिसावले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ । एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले सातामा १४ उडान भर्ने तयारी गरेको छ । एयरलाइन्सले हाल दोहामा पाँच उडान गरिरहेको छ । नेपाल एयरलाइन्सले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको बताएको  छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!